सेतो सोल्टी होटलको इतिहास Soltee Hotel
स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
ताहाचलको घर मेरा बाले म जन्मिएपछि किन्नुभएको हो।
मेरा बा पाटनबाट ताहाचल आउँदा सुरूमा डेरा बस्नुभएको थियो। मेरो जन्म त्यही डेरामा भयो। दाइ र दिदी दुवै वीर अस्पतालमा जन्मेका हुन्। सायद त्यस बेलाका नामुद स्त्री तथा प्रसूति विशेषज्ञ डा. सावित्री गुरुङको निगरानीमा। म भने घरमै जन्मेँ।
बिहान गर्भवती श्रीमती छाडेर गएका मेरा बाले दिउँसो खाना खान आउँदा सुत्केरी श्रीमती भेट्नुभयो। खबर गर्ने उपाय थिएन। मोबाइल त जेम्स बोन्डको फिल्ममा समेत देखिएको थिएन। फोन पनि दुर्लभ।
म जन्मेको घरको नाम थियो – मेरो महल।
टंकेश्वरको विष्णुमती पुलबाट पश्चिम लागेपछि छाउनी–ताहाचल छुट्टिने मोड आउँछ। त्यो मोडबाट पाँच सय मिटर ताहाचलतर्फ बढेपछि 'टुरिस्ट क्याम्प' भन्ने लज थियो। त्यसको अगाडि बल्ने ग्यास मिसिएको पानीको फोहोरा थियो। त्यहाँबाट पश्चिम लागेपछि सडकको दक्षिणतिर वासुदेव लुइँटेलको ‘मेरो महल’ आउँथ्यो।
त्यही घर बाले भाडामा लिनुभयो। त्यहीँ आफ्नो व्यवसाय पनि गर्नुभयो।
हाम्रो आफ्नो घर भने सन् १९७३ मा बन्यो। लुगा धुने व्यवसाय भएकाले होला, बाले घर बनाउन दक्षिण मोहडाको पारिलो पाखो रोज्नुभयो। सुरूमा रोपनीको ५ हजार रूपैयाँमा किनेको सुनेको हुँ। पछि जग्गा थप्दै जाँदा डेढ लाखसम्म परेको थियो रे।
त्यही पाखाको टुप्पोमा हाम्रो दुईतले घर थियो, 'अस्बेसटस' सिटले छाएको। बेसीमा लुगा धुने कारखाना, पाखाभरि लुगा सुकाउने डोरी।
‘फोहोरा’ अघिको लुगा सुकाउने पाखो भनेपछि पूरै ताहाचल र ताहाचल हुँदै सहर छिर्ने बाफल, स्यूचाटारका सबैले हाम्रो घर चिन्थे।
घरको भित्तामा सानो चारपाटे टिन ठोकिएको थियो, जहाँ कालो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको थियो – टंकेश्वर ८/२०, ताहाचल गा.प.। अर्थात्, काठमाडौं जिल्ला, टंकेश्वर ताहाचल गाउँ पञ्चायत, वडा नम्बर ८, ब्लक नम्बर ८/२०।
वडामा दर्ता भएको बीसौं घर भएकाले हाम्रो घरको ब्लक नम्बर ८/२० भएको होला भन्ने म अनुमान गर्छु।
नगर पञ्चायतअन्तर्गत आएपछि हामी वडा नम्बर १३ का बासिन्दा भयौं। घर नम्बर भयो – का.न.प. वडा १३, ख २-२७२, काठमाडौं- ४।
यो नम्बरको पूरा अर्थ मैले बुझेको छैन, सायद त्यस बेला काठमाडौंलाई क्षेत्रगत विभाजन गर्दा ताहाचल ४ नम्बर क्षेत्रमा परेको हुनुपर्छ।
२०४६ को राजनीतिक परिवर्तनपछि नगर पञ्चायत नगरपालिका बन्यो, वडा नम्बर भने त्यही कायम रह्यो।
त्यसपछि मेट्रिक प्रणाली भनेर हाम्रो घरको नम्बर फेरि परिवर्तन भयो – ६६८ ताहाचल मार्ग।
यो नम्बर दुरीमा आधारित छ। विष्णुमती पुलबाट सोल्टी होटल पछाडिको गेट हुँदै बाफल पुग्ने बाटोलाई 'ताहाचल मार्ग' भनिन्छ। यसको सुरुआती विन्दुबाट हाम्रो घर ६६८ मिटर दुरीमा पर्ने भएकाले उक्त नम्बर राखिएको हो। दुरी र मार्गको दायाँ-बायाँ हेरेर घर नम्बर जोर-बिजोर हुन्छ।
ताहाचल त्यो बेला गाउँ नै थियो। टंकेश्वर विष्णुमती पुलदेखि सोल्टी होटल पछाडिको गेटसम्म हामीलाई आफ्नै टोलजस्तो लाग्थ्यो। त्यो बाटोमा पर्ने सबै घर परिचित। त्यहाँ बस्ने सबै मान्छे परिचित।
विष्णुमती पुलको पश्चिम मोडमा एउटा सानो पसल थियो- ध्रुव दाइको पसल। ताहाचलभरि ‘कोक’ पाउने पसल त्यही एउटा थियो। त्यस बेलाको आधुनिक कोल्ड स्टोर। 'टुरिस्ट क्याम्प' लज र स्वयम्भुतिर बस्ने हिप्पीहरूलाई लक्ष्य गरेर होला, ध्रुव दाइले विदेशी बिस्कुट, टिन फिस लगायत सबै बेच्थे। प्याकेटका ती सबै चिज झिलिमिली देखिन्थे।
सडकबाट दुई खुड्किला मुनि झर्नुपर्ने त्यो पसल सामानले खचाखच भरिएको हुन्थ्यो। हामी त्यसलाई ‘मोडको पसल’ भन्थ्यौं।
गर्मी यामको सुरूआतसँगै त्यो पसलअगाडि बाले गाडी रोक्दा हामी केटाकेटी दंग पर्थ्यौं। भारतबाट आयातीत एक क्रेट कोकाकोला गाडीमा लोड हुन्थ्यो। काठको अर्को क्रेटमा सुन्तला रङको 'स्टार अरेन्ज', कागतीको झोल रङको 'स्टार लेमु' र पानी रङको 'स्टार अक्वा' (सोडा) भरिएका हुन्थे।
तीमध्ये कोक, सुन्तला र कागती रङका पेय हामी केटाकेटी र पाहुनाका लागि हुन्थ्यो भने पानी रङको सोडा बाले राति ‘इगर्यान्ड’ ह्विस्कीसँग मिसाएर खानुहुन्थ्यो।
No comments