Listen Nepali Songs

Know New

वाल्ट डिज्नीको सपना र राजा महेन्द्रको डिज्नीलैण्ड भ्रमण

 वाल्ट डिज्नीको सपना र राजा महेन्द्रको डिज्नीलैण्ड भ्रमण

📷️📷️
विश्व भर बच्चाहरुको प्यारो हुदै आएको कतिपय कार्टुन फिल्मका निर्माता कम्पनी वाल्ट डिज्नी प्रोडक्सनले सन २०१४ मा एउटा फिल्म बनाएको थियो - As dreamers do - स्वप्नदर्शीको रुपमा । यस फिल्ममा वाल्ट डिज्नी प्रोडक्शनका स्वप्नदर्शी वाल्टर डिज्नीको जीवनी देखाइएको थियो । सपना देख्नेहरु सबैका पुरा हुदैनन् तर वाल्टरको सपना भने पुरा भएको थियो । उनको यो सपना साकार गर्न एक महिलाको ठूलो भूमिका थियो । सन १९०१ मा जन्मेका वाल्टर डिज्नीको जीवनको महत्वपूर्ण महिला नै आण्टी मार्गरेथ वाल्टर थिइन् । वाल्टरको बुबाको नजिकको भाइ रवर्ट डिज्नीको श्रीमती थिइन मार्गरेथ । सधै घरका भित्तामा चित्र कोरिरहने वाल्टरलाई पहिलो पटक आण्टी मार्गरेथले कापी र रङ्गीचङ्गी कलमहरु उपहारमा ल्याइदिए । यहि कागजमा बिभिन्न चित्रहरु कोर्थे र म्यागी आण्टीलाई दिने गर्दथे । आण्टी सधै उनलाई चित्र कोरिरहन प्रेरित गरिरहन्थे । सबैलाई सधै हँसाइरहने आण्टी मार्गरेथले वाल्टरको जीवनलाई पनि अति खुशी बनाइदिएको थियो । यसरी बिभिन्न चित्र कागजमा कोरिरहने वाल्टरले एक दिन आफ्नो छिमेकी डाक्टर शेरवुडको घोडा रुपर्टको तस्विर कोर्दा अंकल शेरवुड अति नै खुशी भएर चित्रलाई आफ्नो घरको भित्तामा सजाउने भन्दै सो चित्रको मुल्य तिरे । उनको कलाको पनि मुल्य पाउँदा उनि अति नै खुशी भए । उनको जीवनको त्यो पहिलो कमाइ थियो । उनले थाहा पाए - उसले कोर्ने चित्र पनि बिक्दो रहेछ । यहि नै उनको जीवनको पहिलो सफलता थियो । यसरी उनलाई आफ्नो सपना साकार हुने आशा जागेको थियो ।
धेरै वर्ष पछि फ्रान्सको यात्राबाट फर्केपछि वाल्टरले कलाकारिताको जागीर पाए । एउटा बिज्ञापन कम्पनीमा चित्र कोरे बापत उनलाई मासिक ५० डलर दिइने भयो । यति खुशी भए कि उनले यो खुशीको समाचार सबैभन्दा पहिले उनको आण्टी मार्गरेथलाई सुनाउन आतुर भए । हतार हतार आण्टीलाई भेट्न पुगे, उनि चिच्याउदै आण्टीको कोठा तर्फ दौडिए, "आण्टी तिनीहरुले मलाई चित्र कोरे बापत पैसा दिने भनेको छ, आण्टी तिनीहरुले मलाई चित्र कोरे बापत पैसा दिने भनेको छ " । तर कोठामा सन्नाता छाएको थियो । कोठाको खातमा आण्टी सुतिरहेकी थिइन् । निकै कमजोर र विरामी आण्टीले उसको कुनै पनि आवाज सुन्न सक्दिनथिन । बन्द आँखा बिच पनि शायद आण्टीले आफ्नो भतिजाको आवाज थाहा पाए । बिस्तारै हातले इसारा गरेर नजिक बोलाए जस्तो लाग्यो वाल्टरलाई । नजिक गएर एकैछिन बसे । उनको सपनाको एक प्रेरणा जसलाई खुशीको समाचार सुनाउन आतुर हुँदा सुनिदिने कान र खुशीले अट्टहास गर्ने आण्टी असक्त थिइन । यसको केही दिन पछि आण्टीको न्यूमोनियाको कारणले मृत्यु भयो ।
सपनाको यात्रामा लागिरहेका वाल्टरले २८ वर्षको उमेरमा मिकी माउसको सिर्जना गरेका थिए । मिकी माउस पनि नोभेम्बर १२, १९२८ मा १०० वर्ष पुग्दैछ । यसरी आफ्नो सपनाको यात्रा लाग्दै अन्तत उनको ठूलो सपना डिज्नीलैण्ड बनाए । बि.सं. २०१२ को साउन २ (१९५५ जुलाई १७) मा डिज्नीलैण्डको उद्घाटन भब्य रुपमा गरेका थिए । उनको एउटा सपना पुरा भए पछि अमेरिका भ्रमणमा आउने हरेक राजा राष्ट्रपति वा उच्च पदस्थ अधिकारीहरुलाई वाल्ट डिज्नी आफै सहभागी भएर आफ्नो डिज्नीलैण्ड घुमाउँथे । सबै बिशिष्टहरुलाई घुमाउने वाल्टरले भने कुनै बिशिष्ट पाहुनालाई घुमाउन अस्विकार पनि गरेका थिए । सोवियत संघका राष्ट्रपति निकिता ख्रुश्चेभको १९ सेप्टेम्बर १९५९ मा भएको अमेरिका भ्रमणको समय ख्रुश्चेभ आफैले डिज्नीलैण्ड घुम्ने चाहना राखेका थिए तर उनले चाहना राख्दा राख्दै पनि वाल्ट डिज्नीले घुम्ने अनुमति नै दिएनन् । यसबाट ख्रुश्चेभ निकै क्रद्ध भएका थिए ।
यस घटनाको ९ महिना पछि नेपालका राजा महेन्द्र लामो छुट्टी मनाउन अमेरिका पुगेका थिए । मेक्सिको र क्यानाडा सहित उत्तर अमेरिकाको २०१७ बैशाख १३ गते देखि जेठ १९ सम्म करिव ३८ दिनको भ्रमणमा थिए । यस बिच जेठ ३ देखी ५ सम्म मेक्सिको तथा जेठ १२ देखि १५ सम्म क्यानाडा भ्रमणमा रहेका थिए । बाकी समय अमेरिकाकै बिभिन्न राज्यको भ्रमणमा रहेका थिए । नेपालमा प्रजातान्त्रिक सरकारको गठन भएको हुँदा बिश्व राजनितीको अध्ययनको लागि राजा महेन्द्र निकै फुर्सदिला थिए ।
अमेरिका भ्रमणको अवसरमा राजा महेन्द्रलाई पनि वाल्ट डिज्नीले आफ्नो डिज्नीलैण्ड घुम्न निम्तो दिएका थिए । राजा महेन्द्र, रानी रत्नको साथ डिज्नीलैण्ड पुग्दा वाल्टर तथा लिलियन डिज्नीले राजा महेन्द्रलाई सम्पूर्ण डिज्नीलैण्डको अवलोकन गराएका थिए । त्यसै अवसरमा खिचिएको यो तस्विरमा राजा महेन्द्र, रानी रत्न, वाल्टर तथा लिलियन देख्न सकिन्छ ।
वाल्टरको सपना त्यहि रोकिएन । सपनाले बिशाल स्वरुप लिदै गयो । आज विश्वका प्रमुख ६ शहरमा डिज्नीलैण्डले बच्चा बुढा सबैलाई मनोरञ्जन दिइरहेको छ । साथै वाल्ट डिज्नी कम्पनीले सयौ फिल्महरु पनि बनाइसकेको छ ।
केवल २२ वर्षको उमेरमा वाल्टरले आफ्ना दाजु रोय संग मिलेर स्थापना गरेको डिज्नी ब्रडर्स कार्टुन स्टुडियो आज बिशाल वाल्ट डिज्नी कम्पनी भइसकेको छ । अन्तत केवल ६५ वर्षको उमेरमा सन १९६६ मा वाल्टरको देहावसान भएको थियो ।



No comments