Listen Nepali Songs

Know New

Story कथाा विलय - प्रकाश सायमी

 कथा : विलय 

प्रकाश सायमी


कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो ।


  नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै  भने— “यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौँ ।”


  त्यसपछि हामी उकालो लाग्यौँ । यो उकालो म धेरैपटक एक्लै, धेरैपटक रविदादासित हिँडेको छुु— कहिले गीत गाएर, कहिले कविता पढेर । यो उकालोमा एउटा पुरानो स्कुल थियो— प्राथमिक स्कुल । अब त्यो छैन रहेछ । नहुनुका धेरै कारण अखबारमा आइसके । हामी यहीँनेर बसेर एकअर्काको भाषण सुन्थ्यौँ । यो ठाउँलाई रविदादाले छापा नाम राख्नुभएको थियो, थाहा छैन उहाँले यो नाम के सोचेर राख्नुभयो र यो पछि साँच्चै छापामारहरूको एक विशेष ठाउँ बन्न पुग्यो । तेह्र वर्षपछि आज यो ठाउँ अत्यन्त अपरिचित लाग्यो ।


  ”छापा ! के हो छापा ?” मेरो मुखबाट अचानक प्रस्फुरण भएको शब्द सुनेर मसँगै यात्रारत मानव अधिकार र नागरिक अधिकार सङ्गठनका मित्रहरूले सोधे ।

   “यो मेरो अतीत हो” मैले जवाफमा यति मात्र के भनेको थिएँ मेरा साथमा रहेका भैषज् कानुन जान्ने मेरा एक अफगानी मित्रले मलाई व्यङ्ग्य गर्दै भने— “तपाईं चैँ यतैको हो जस्तो सबै चिन्ने तर तपाईंलाई चैँ यहाँ कसैले नचिन्ने पो रहेछ, शकुनजी !” उनको यति परिहास मेरालागि पर्याप्त र पूर्ण थियो, त्यो मेरो कालो विगतलाई कोट्याउन जुन म बारम्बार बिर्सन खोज्दै थिएँ र म विवाद गर्ने वा मतभेद गर्ने पक्षमा पनि थिइनँ । हामीले एक सम्झौतामा अमेरिकादेखि संयुक्तरूपमा यात्रा थालेका थियौँ— त्यो यात्राको टुङ्गो हो मिसिङ्ग फाइल । यस मिसिङ्ग फाइलमा मेरा एक प्रिय गुरु वा मित्र रविदादाको पनि नाम थियो, जसको मोहले वा सम्झनाले आज म यहाँसम्म तानेर ल्याइएँ जहाँबाट कुनै एक बिहान म इतिहास बिर्सेर भागेकी थिएँ, आफ्ना सपरिवारका साथ । यो समय ती सबै तस्बिर मेरा आँखा अगाडि तैरिरहेका छन् ।


   रविदादा हामी सबैका प्रिय वा निकटको साथी । सबैलाई बुझ्नसक्ने एउटा सहृदयी । मायोकोभस्कीको कविता पहिलोपटक मैले उनकै मुखबाट छापामा सुनेको थिएँ र उनले निक्कै जोश र बलले हामीलाई सुनाएका थिए । हामीले कविता सुनेर हाँस्दै भनेका थियौँ— “दाज्यू, तपाईँ त कलाकार हुनुपर्ने मान्छे पो !” उनले त्यसको जवाफमा के भने मैले सम्झिन सकेको छैन तर उनी हरेक पटक भन्थे— “शकुन, हरेक राम्रा कलाकारले सफलतासित आफ्नो भूमिका निर्वाह गर्दा त्यो चरित्रको दर्दलाई आत्मसात् गर्नुपर्छ, अनुभूत गर्नुपर्छ, नभए त्यो नक्कली लाग्छ ।” उनी यसरी बोल्दा जहिले पनि एक ऋषि हुन् जस्तो लाग्थ्यो तर उनी आफ्नो भनाइलाई सत्य साबित गर्न कुनै न कुनै किताबको सहारा लिइहाल्थे । हामी भन्थ्यौँ— “तपाईं आफैँ किताब हो दाज्यू, किन किताबको सहारा लिनुहुन्छ ?” यसपछिको उनको अट्टहास हामी कसैले पनि बिर्सन सकेका छैनौँ । आज यो उकालोमा पनि म यो हाँसो सुनिरहेछु ।


  “म्याम तपाईंलाई कसैले बोलाइरहेछ” मेरो फ्ल्यासब्याकलाई बिथोल्न खोजे मसँगै हिँडिरहेका फोटोग्राफरले । हामीमध्ये कसैलाई इशाराले त्यहाँ बोलाएको रहेछ । भाषाको अज्ञानताको कारण त्यो मै हो भन्ने सबैको निक्र्याैल भयो । “कता हिँड्नुभयो ? यहाँभन्दा माथि त केही छैन ।” प्रश्नमा कठोरता भए पनि पुरानो जर्सी लगाएका ती मान्छेको हेराइमा शालीनता थियो, उनी भन्दैथिए— “तपाईंहरू टुरिष्ट हो भने यतातिर नजानुहोस्, माथि त एउटा कैन्टोमैन्ट मात्र छ । त्यहाँ के रमाइलो हेर्नुहुन्छ ।” म अघि बढ्न सकिनँ तर उनको मर्यादालाई ध्यानमा राखेर अरू थप पनि केही सोध्न सकिनँ । उमेरले पचास वा साठीमा टेकेका उनले निक्कै मुस्किलले एउटा मात्र खुट्टाले टेकेर आफैँले टेकेको लौरोलाई उचाल्दै भने— “यो डेडप्वाइन्ट हो । नाऊ यू  लेट्स गो ब्याक् ।” पछिल्लोपटक अङ्ग्रेजी शब्दको मात्रात्मक प्रयोग गर्दा मेरा सहयात्रीहरू झस्के र सबै आत्मीय भएर उनकै नजिक बसे ।


   यसपछि मेरा सहधर्मीहरूले उनलाई उनले बुझ्ने जत्ति भाषामा हामी त्यही कन्टोमैन्टसम्म जान आएको भने । यो अन्तिम कन्टोमैन्ट थियो हामी पुग्नुपर्ने । खगराज नाम भएका तिनले हामीलाई त्यहाँ भएका सबै कुराको सविस्तार जानकारी दिँदै लगे, हामी त्यहाँ पुग्दा अधवैँशे घाम छानामा खेल्दै थियो । रङ्गहीन घाममा आफ्ना अतीतका रमाइला–विरमाइला घटनाहरू मैले खगराजजीलाई खोलेँ । उनले रविदादाको बारेमा जाने जत्ति बताए तर उनी कहाँ छन्, कता छन् अझै निक्र्यौल नभएको बताए ।


  “शालिनीजी, यहाँलाई ज्ञात होस्— साँखुरीको हमलासम्म हामी कमरेड रविसितै थियौँ । त्यहाँ भएको दोहोरो भिडन्तमा हाम्रा दसजना सहयोद्धाहरूले शहादत प्राप्त गरे तर कमरेड रवि त्यहाँबाट गिरफ्तार परे वा भागे यसबारे अझैसम्म थाहा भएको छैन । सरकारसित सम्झौता भइसकेयता नेपालगञ्जको रङ्गशालामा एकपटक बेपत्ता पारिएकाहरूको लाश प्रदर्शन गरिएको त थियो तर कमरेड रविको लाश पहिचान हुन सकेन । त्यहाँ लाश हेर्न संयुक्त राष्ट्रसङ्घका टोलीका साथ तपाईंहरूजस्तै मित्रका साथमा कमरेड रविकी पत्नी पनि आएकी त थिइन् । तर...”

   “रविकी पत्नी ?”

 अनायास मेरो मुखबाट यो प्रश्न निस्किँदा खगराजजीले सजिलो पाराले उत्तर दिनुभयो— “हामीसित पार्टी ज्वाइन गर्दा उहाँको विवाह भइसकेको थियो । तपाईंलाई थाहा हुनुपर्ने ।”

     “थाहा थियो तर भाउज्यू कहाँ हुनुहुन्छ मलाई थाहा थिएन । कहाँ हुनुहुन्छ उहाँ, केही थाहा छ ?”

     मेरो प्रश्नको त्यति जानकारी खगराजजीलाई नभएजस्तो लाग्यो । मानव अधिकारवादी साथीले बीचैमा अरू कसैलाई थाहा होला कि भनेर सोध्दा खगराजजीले “कमरेड ब्रिगेडलाई यसबारेमा केही थाहा होला । उहाँ नेपालगञ्जमा जनसम्पर्क कार्यालय हेर्नुहुन्छ भन्नुभयो ।”

   रविदादा र परीको सम्बन्धका बारेमा मलाई थोरै थाहा थियो तर जनयुद्धको दौरानमा रविदादा जुन व्यस्तता र आक्रोशी शैलीमा हिँड्नुहुन्थ्यो, त्यो हेर्दा उहाँले विवाह गर्नुहोलाजस्तो लाग्दैनथ्यो । विवाह गर्नुभएछ— त्यो पनि आफैँलाई मनपर्ने परीसित । परी मेरै उमेरकी थिइन्— उमेरको मागअनुसार चञ्चल र अपेक्षाकृत सुन्दर पनि ।

  जनयुद्धको समय हाम्रो घर विद्रोही पक्षको निशाना र शासक पक्षको तारो बनेको थियो । रविदादाको हाम्रो घरमा आवत–जावत र पिताजीको पुरानो सत्तासितको सम्बन्धले हामी राम्रैसित पिल्सिएका थियौँ । समयले हामीलाई निष्ठुर र निर्दयी बनाइदियो । मृत्युका अनेक चेहरा हुन्छन्, हाम्रो घरमा मृत्युले आफन्तको चेहरा लिएर आयो । टाढाको मामाको छोराको साइनो लिएर कुनै पाहुना हाम्रा घरमा त्यो एघार वर्षको सुरुवातमा सङ्घारमा आइपुग्यो र उसको गतिविधि सबै थाहा पाएर पनि हामीले उसलाई त्यो परिस्थितिमा सहजै स्वीकार्नुप¥यो । ऊ गएको केहीदिनदेखि हामीले आफ्नो नाम सफाया हुनेको सूचीमा पर्खिरह्यौँ । आमाको जोर जबरजस्तीका बाबजुद पनि बुबाले घर छोड्न मान्नु भएन । यही सङ्घर्षमा हाम्रो द्वन्द्व चलिरह्यो र हामीले बुबाको आत्मसम्मानलाई मर्न दिएनौँ । बुबा एकदिन एक असहज परिस्थितिमा गाउँको पुरानो मन्दिरको बाटोमा मारिनुभयो । त्यो हाम्रो प्रस्थानको समय थियो किनकि बुबा बारम्बार भन्नुहुन्थ्यो— “म घर छोडेर जान्न । तिमेरू जान्छौ  भने जाओ, म मर्नै परे पनि यहीँ बस्छु ।” यो उहाँको ठोकुवा मात्र थिएन, उहाँको एउटा राजनीतिक मित्रले दिएको आश्वासनको जालो पनि थियो ।

  मैले बाबाको हत्या भएको दिन अन्तिमपटक रविदादालाई भेटेको थिएँ, सायद त्यो नै मेरो उहाँसितको अन्तिम वा अनिश्चित भेट थियो । रोएर अर्धचेत भएकी मेरी आमा र मलाई उहाँले बाबाको लाश देखाउँदै भन्नुभा’थ्यो— “देहको आत्मा त्यही हो, जुन आत्माको देह हो– एक झोँका हावामा घोलिने, भुँवरीको एक घुमाइमा पीडाको गाँठो खोल्दै, जसभित्र एउटा पोको छ, एउटा स्वप्न, एउटा आलोकवृत्त– जन्मको चमत्कारदेखि मृत्युको रहस्यसम्म फैलिएको बस् बिर्सिदेऊ तिमी एउटा मनुष्य हौ— तिमी त एउटा पात हौ, तिमी त एक टुसा हौ, घाँसको एउटा सिन्को— जब तिमी मनुष्य होइनौ सबथोक हौ । सोच, ईश्वरका सामु तिमी ईश्वर छौ, तिमी ईश्वर हौ.....।”

 त्यो आवाज मेरो पछिपछि गुञ्जिरह्यो, जब म गाउँ छोडेर काठमाडौँ, नेपाल छोडेर म अमेरिकासम्म गएँ र त्यो आवाजले मलाई पछ्याइरह्यो । अझै म त्यही आवाजको खोजीमा यहाँसम्म आइरहेँ तर मलाई चिन्ने त्यो आवाज गुम छ ।

      यही आवाजको पुनस्र्मरण मलाई त्यतिबेला भयो जब म बैँककबाट काठमाडौँ एयरपोर्टमा ओर्लेँ र मलाई अचानक धेरै लामो यात्रापछि हामी खगराजजीले दिएको दिशामा अगि बढ्दै नेपालगञ्जको बाटो झ¥यौँ, यहाँ हामीले भेट्नु छ— कमरेड ब्रिगेड । उनी मेरो खोजीका सारथि हुनसक्छन् । मसित आएका विदेशी मित्रहरू यहाँका हरेक कुरासित परिचित हुनुहुन्छ । लामो समयदेखि द्वन्द्वले पीडित मुलुकमा यस्तै र यही विषयमा अध्ययन गर्दै आएका यी मित्रहरू जान्दछन्— पीडा के हो ? तर मैले यस पीडाको घनघोर भुँवरीमा परेर पनि जान्न सकेकी छैन यसको गर्भ के हो ?

   आज तेह्र वर्षपछि यो मुलुकमा फकिँदा यहाँका प्रत्येक ढुङ्गा, माटोले मसित बिरानोको व्यवहार गरिरहेछ । म हरेक चीजसित आफ्नो नाता खोजिरहेछु तर हरेक चीज मसित भागिरहेछन् । यस्तो लाग्छ कुनै भूमिकाविहीन पात्रत्व निभाइरहेकी छु । यहाँ सबैले मलाई एउटा नयाँ पात्रको अभिनयमा स्वीकारिरहेका छन् ।

  म त्यतिबेला झसङ्ग भएकी थिएँ, जब म बैँककबाट काठमाडौँ एयरपोर्टमा आर्लेँ र मलाई अचानक छेकियो । जब मेरो युएनको हलुका नीलो रङ्को बार भएको पासपोर्ट परीक्षणबाट पास भयो म यस मुलुकका निम्ति परिचित भएँ र मेरा सहयात्रीहरू त्यतिबेला जोडले हाँसे । त्यो हाँसो आनन्दको थिएन, परिवर्तनको थियो । हाम्रो टोलीमा एकजना पुरातनशास्त्री पनि थिए जो बारम्बार भन्थे— “हेर, पश्चिमी मुलुकमा घाम, हुरी, हुण्डरीजस्तो आउँछ । यो सत्य हो, आज यहाँको परिवर्तन देखेर म मूक छु, अवाक् छु । यहाँ कसैको कोहीसित कुनै परिचय छैन ।

  एफएममा एउटा हिन्दी फिल्मी गजल बजिरहेछ—

    यो सहरमा हरेक मान्छे नौलो छ,

     सबैको अनुहारमा धुवाँ नै देख्छु ।

    हामी सहरको ठीक बीचमा छौँ, यो कुनै पुरानो बजार हो । यति म जान्दछु । कमरेड ब्रिगेडले हामीलाई दिएको यथेष्ट जानकारीअनुसार एउटा वस्त्रालयको अगाडि हामी उभिएका छौँ, त्यहीँ भेट हुन्छ ब्रिगेडजीले भनेअनुसारका एक व्यापारी जसको काखमा खेलिरहेको एउटा बच्चा जो रविदादाको निशानी हुनुहुन्छ भन्ने बुझियो । पसलेले बताएअनुसार हामी स्कुल गएकी परीलाई पर्खिन्छौँ र एकाध घण्टापछि परी आइपुग्छिन्— “परी !” मेरो स्वर सुन्ने बित्तिकै तिनमा परिचयका भाषाहरू स्वतः सञ्चारित हुन्छन् । म बुझ्दिन उनले मेरो उपस्थिितिलाई कसरी लिइन् तर म उनलाई देखेर निराश भएँ । उनको त्यो पहिलेको रूप हराएछ, गरगहनाले मात्र छोपिएको तिनको त्यो भयावह स्वरूप ! आज कुनै हवेलीको भूतजस्तै लाग्यो । “माथि नै आउनुहोस् न ।” तिनले औपचारिकतावश माथि बोलाइन्, म उनकै पछि लागेर माथि गएँ ।

  “मलाई चिन्यौ ?” कोठामा पुग्ने बित्तिक्कै  मैले भनेँ । उनले हाँस्दै भनिन्— “किन नचिन्नु, तिमी रविकी एकमात्र शिष्या शालिनी होइन ? तिमी मलाई रविसँग देख्नेबित्तिकै भाउज्यू भनी जिस्क्याउँथ्यौ, होइन ? किन, जिस्क्याउँथ्यौ ? रविसित बिहा नहोस् भनेर । आज त्यही भयो होइन त ?”

  “भाउज्यू रविदादा......कहाँ ?” “शालिनी यो प्रश्न मलाई सोध्नुभन्दा पहिल्यै लाखौँपटक यस ठूलाठूला नामधारी संस्थाहरूलाई सोधिसकेँ । कसैले मेरो सही जवाफ दिएनन् ।” परी विस्तारै रून थालिन् तर उनको रुवाइको मात्रा बढ्न नदिन अघि नै उनको छोरो उनको छेउमा आएर बस्यो र रुवाई यन्त्रवत् रोकियो । र, उनी भन्न थालिन्— “त्यो यस्तो समय थिएन, शालिनी ! मैले चिनेदेखि नै रवि एक उत्साही र आवेशी व्यक्तित्व थियो । उसको हत्या, मृत्यु वा पतन केही थाहा नहुनेगरी  ऊ बिलायो । मैले बाध्य भएर आज यो जीवन अपनाउनुप¥यो । यो मेरो सजायँ होइन, परिवर्तनको माग हो । रवि मारियो भनेपछि मैले कतैबाट केही सान्त्वना पाइनँ । आत्महत्या म गर्न सक्तिन थिएँ, बाबु गर्भमा थियो र उहाँले त्यस्तो समयमा स्वीकारिदिनुभयो ।” तस्बिरतिर इङ्गित गर्दै उनले भनिन्— “तस्बिरमा त्यही साहू थिए जसलाई  हामी पस्ने बित्तिकै भेटेका थियौँ । ती दम्पतीको फोटो भित्तामा शोभायमान थियो । मेरा आँखाबाट आँसु झरे— हर्षका, आश्चर्यका वा विस्मात्का थाहा छैन, मैले सम्झेँ यो मेरो श्रद्धाञ्जली हो, रविदादाप्रति । यसपछि मेरो धैर्य रहेन, म त्यहाँ बस्न सकिनँ र उठेर हिँडे ।

 बाहिर मेरा सहयात्रीहरू सोध्दै थिए— “अब हामी अझै दुईवटा कन्टोन्मैन्ट जान भ्याउँछौँ, शालिनी जी ?”

   म निरुत्तर अगि बढिरहेँ । बाटोभरि मैले रविदादाको आवाजलाई सम्झेँ, उनी भन्थे— “तिम्रो अन्त्य छ, मेरो अन्त्य छ शालिनी ! तर यो जिन्दगीको अन्त्य छैन । यो अन्तहीन छ ।”

  मेरो रविदादाको सङ्घर्ष, गन्तव्य र उपलब्धि यही हो त ? उनको भविष्यको विश्राम यही  हो त ?




No comments