Listen Nepali Songs

Know New

गगन कुमार थापा - नेपाली कांग्रेस र राजनीति


२०३३ साउनमा काठमाडौंमा जन्मिएका गगनकुमार थापा मैतीदेवी, रातोपुलका स्थायी बासिन्दा हुन् । नेविसंघमा संगठित भएर २०४६ सालको जनआन्दोलनबाट राजनीतिमा आएका उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

२०५१ सालमा नेविसंघबाट त्रिचन्द्र कलेजको स्ववियु सदस्य भएका थापा २०५३ मा सचिव र २०५५ मा सभापति निर्वाचित भए । त्यसपछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष, २०५९ महामन्त्री र २०६८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए ।

पार्टीको १३औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका उनी केन्द्रीय सदस्यमा मनोनीत भए । १४औं महाधिवेशनबाट भने उनी महामन्त्रीमा विजयी भए ।

थापाको संसदीय यात्रा चाहिं २०६४ सालमा संविधानसभामा समानुपातिक सभासदबाट सुरु भयो । २०७० को संविधानसभामा उनी काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आम निर्वाचनमा थापा सोही क्षेत्रबाट निर्वाचित भए, प्रतिनिधिसभामा ।

समसामयिक विषयका साथै शिक्षा र स्वास्थ्य समिति सदस्यका रूपमा सरकारलाई गरेका प्रखर प्रश्नहरूले संसदमा उनको उपस्थितिलाई अर्थपूर्ण बनायो । 

२०७१ ताका संसदको कृषि तथा जलस्रोत समितिका सभापतिको रूपमा थापाले खेलेको भूमिकाले प्रशंसा पाएको थियो । २०७३ मा स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य क्षेत्रमा सुधारका रणनीतिक योजनाहरू लागू गरे ।

२०५१ सालमा नेकपा (एमाले)को अल्पमतको सरकार थियो । गृहमन्त्री थिए, केपी शर्मा ओली । त्यतिबेला नेविसंघले आह्वान गरेको नेपाल बन्दको क्रममा थापा पहिलो पटक हिरासतमा परे ।

२०५९–२०६३ को अवधिमा त सरकारको हिरासत उनका लागि अस्थायी घर जस्तै भयो । उनीमाथि दुईपटक राजद्रोहको मुद्दा चल्यो ।

२०५९ देखि २०६३ सम्मको आन्दोलनमा नेपालमा गणतन्त्र स्थापनाको वातावरण बनाउनमा थापाले महत्वपूर्ण भूमिका खेले । त्यो सक्रियता र भूमिकाबाट उनी प्रखर युवा नेताको रूपमा स्थापित भए । त्यसयता लगातार राजनीतिक चर्चाको केन्द्रमा रहेका उनै गगन थापा यसपटक काठमाडौं–४ बाटै प्रतिनिधिसभामा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।

सबै पुस्तालाई आकर्षित गर्न सफल उनले यसपटक आफूलाई भावी प्रधानमन्त्रीको रूपमा पनि प्रस्तुत गरेका छन् ।

काठमाडौं–४ मा यसपटक नेकपा (एमाले)का डा. राजन भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. ठाकुरमोहन श्रेष्ठ प्रतिस्पर्धामा छन् । २०७४ मा वाम गठबन्धनको शक्तिका साथ चुनावी मैदानमा आएका भट्टराईलाई थापाले ३ हजार ४११ मतको फरकले हराएका थिए । त्यो बेला थापाले २१ हजार ५५१ र डा. भट्टराईले १८ हजार १४० मत पाएका थिए । 

गत स्थानीय चुनावमा काठमाडौं–४ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा कांग्रेसभन्दा एमाले थोरै अगाडि छ । उक्त चुनावमा एमाले १६ हजार ९८१, कांग्रेसले १६ हजार ८४, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ६८८, राप्रपाले २ हजार ३७६ र नेकपा (माओवादी केन्द्र)ले ८७३ पाएका छन् ।

उक्त चुनावमा अहिले विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा)ले पनि ३१७ मत पाएको थियो । त्यस्तै, १ हजार ५६४ भोट स्वतन्त्र उम्मेदवारहरूको पक्षमा खसेको थियो ।

लोकप्रिय मानिएका कांग्रेस महामन्त्री थापा यसपटक सत्ता गठबन्धनको शक्तिसहित चुनावी मैदानमा छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यासीको उम्मेदवारी पनि आफूलाई समर्थन गराउँदै फिर्ता गराएका छन् ।

पुनर्जागरण पार्टीका अध्यक्ष श्याम गौतम भने प्रचार–प्रचारमा डटिरहेका छन् । मैनबत्ती चुनाव चिह्न पाएका उनी यसअघि नयाँ शक्ति पार्टी र जसपामा थिए ।

काठमाडौं–४ को समग्र अवस्था हेर्दा गठबन्धनको मत जोगाउन र सम्भावित अन्तर्घात रोक्न सक्दा थापाले ‘ह्याट्रिक’ गर्न पनि सक्छन् ।    

No comments