Listen Nepali Songs

Know New

मन्जु कुमारी चौधरी - नेकपा एमाले र राजनीति

 नेकपा एमालेले यो पटक पनि मञ्जु कुमारी चौधरीलाई उदयपुर-१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । अघिल्लो चुनावमा नेपाली कांग्रेसका डा. नारायण खड्कासँग ५४८ मतले हारेकी चौधरीको प्रतिस्पर्धा यसपटक पनि उनै खड्कासँग छ । अघिल्लो हार फर्काउन चाहेकी चौधरीको चुनावी अंकगणित भने अनुकूल छैन ।

उदयपुरको ज्यामिरेमा जन्मिएकी ४९ वर्षीय चौधरी एमालेको पोलिटब्यूरो सदस्य र उदयपुर जिल्ला इन्चार्ज हुन् । उनले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी छन् । संघर्ष गर्दै चौधरी समुदायबाट राजनीतिमा अघि बढेकी उनी महिला आन्दोलनमा पनि सक्रिय छिन् ।

२०४५ सालबाट राजनीतिमा आएकी उनी पार्टीको अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय सचिवालय सदस्य र प्रदेश कमिटी सचिव पनि हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मञ्जुकुमारी चौधरी उदयपुर-२ बाट निर्वाचित भएकी थिइन् । त्यो बेलासम्म उदयपुरमा ३ निर्वाचन क्षेत्र थिए । २०७२ सालमा उनले शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी पाइन् ।

आफू संविधानसभामा रहेको बेला संविधान निर्माणको कार्यभार पूरा भएकोमा गर्व गर्ने चौधरी विकास निर्माणमा पनि उल्लेख्य काम गरेको बताउँछिन् । ‘मेरो कार्यकालमा गाउँगाउँसम्म सडक ट्रयाकहरू खुलेका छन्’, मतदाता भेटघाट कार्यक्रममा व्यस्त उनले भनिन्, ‘मदन भण्डारी राजमार्गले उदयपुरको विकासमा ठूलो भर दिएकोमा यसमा एमालेको हात छ ।’

प्रतिकूल चुनावी अंकगणित

२०७४ मा वाम गठबन्धनको उम्मेदवार चौधरीले ३२ हजार ५९४ र कांग्रेसका डा. खड्काले ३३ हजार १४२ भोट पाएका थिए । यसपटक खड्का सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

अघिल्लो पटक चौधरीलाई जिताउन गाउँगाउँ पुगेका नेकपा माओवादी केन्द्रका नेता-कार्यकर्ता यसपटक खड्कालाई जिताउन जुटेका छन् । नेकपा (एमाले)बाट फुटेर बनेको एकीकृत समाजवादी पनि खड्काको पक्षमा सक्रिय छ । मञ्जु चौधरीको लागि भोट माग्ने एमालेजन मात्र छन् ।

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतको आधारमा पनि उदयपुर–१ मा सत्ता गठबन्धन बलियो छ । पाँचदलीय गठबन्धनसँग कुल ४२ हजार २७३ र एमालेसँग २७ हजार ७९७ मत छ ।

त्यसो त स्थानीय र राष्ट्रिय निर्वाचनमा मतदानको ‘ट्रेण्ड’मा नै फरक पर्न सक्छ । अघिल्लो हारको हिसाब चुक्ता गर्दै दोस्रो पटक प्रतिनिधिसभामा पुग्न प्रयासरत मञ्जु चौधरीको मिहिनेतले अपेक्षित परिणाम पाउन पनि सक्छ । उदयपुर–१ को स्थानीय चुनावी अंकगणित भने उनी अनुकूल छैन ।



No comments