Listen Nepali Songs

Know New

प्रदिप कुमार ज्ञवाली - नेकपा एमाले र राजनीति

राष्ट्रिय राजनीतिमा बौद्धिक नेताको छवि बनाएका नेकपा (एमाले)का प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्यका लागि गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनका चिरपरिचित प्रतिस्पर्धी छन्– नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी ।

२०५६ सालको प्रतिनिधिसभा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराए । २०७४ को आम निर्वाचनमा फेरि ज्ञवालीले भण्डारीलाई निकटतम प्रतिद्वन्द्वीमा सीमित पारिदिए ।

डा. भण्डारीसँगको यो पाँचौं संसदीय प्रतिस्पर्धामा ज्ञवाली आलोपालोको चक्र तोडेर जित निकाल्न चाहन्छन्, तर यसपटक उनलाई सघाउन वाम गठबन्धन छैन । बरु, डा. भण्डारीलाई सत्ता गठबन्धनको साथ छ ।

गुल्मीको बलेटक्सारमा जन्मिएका ६० वर्षीय प्रदीप ज्ञवाली पारिवारिक वातावरणका कारण किशोरकालबाटै राजनीतिमा आकर्षित भए । उनको औपचारिक राजनीतिक आबद्धता भने २०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रारम्भिक कमिटीबाट भयो ।

त्यसपछिको राजनीतिक आन्दोलनका क्रममा ११ वर्ष भूमिगत भएका ज्ञवाली पटक–पटक पक्राउ परे ।

२०३४ सालमा नेकपा (माले)को गुल्मी–पाल्पा जिल्ला कमिटी सदस्य बनेका ज्ञवाली २०४६ सालमा गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सचिव, २०५१ सालमा नेकपा (एमाले)को लुम्बिनी अञ्चल कमिटी सदस्य, २०५४ मा केन्द्रीय कमिटी सदस्य, २०६७ सालमा पोलिटब्यूरो सदस्य, २०७१ सालमा सचिवमा चयन भए ।

२०७८ मंसिरदेखि एमालेको उपमहासचिवको जिम्मेवारीमा रहेका ज्ञवाली २०६३ सालमा पर्यटनमन्त्री र २०७४ सालमा परराष्ट्रमन्त्री बने । राष्ट्रिय राजनीतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कठोर प्रतिरक्षामा उत्रिने गरेका ज्ञवाली आफूलाई सामाजिक एकता र समानता पक्षधर भन्न रुचाउँछन् ।

साहित्यिक कर्ममा पनि क्रियाशील उनका उपन्यास, कथा संग्रह, कविता संग्रह, निबन्ध र समालोचना प्रकाशित छन् ।

चुनावी अंकगणित

२०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गुल्मीका दुई वटै क्षेत्रमा एमाले–माओवादी गठबन्धनले जितेको थियो ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी–१ मा दलगत रूपमा एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत पाएका छन् ।

भण्डारीसँगको आलोपालो तोड्न ज्ञवालीका लागि चुनावी अंकगणित उति अनुकूल छैन ।


No comments