Listen Nepali Songs

Know New

राम कुमार राई - नेकपा मा‍ओवादी केन्द्र र राजनीति

कुनैबेला राज्यसत्ता विरुद्ध बन्दुक भिरेर सशस्त्र युद्धमा होमिएका थिए, खोटाङका रामकुमार राई ‘पासाङ’ । भूमिगत कालका कैयौं युद्धमा वालवाल गोली लाग्नबाट बचेका तिनै राई अहिले खोटाङमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । माओवादीका पोलिटब्यूरो सदस्य एवं प्रदेश–१ का खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री राईलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको साथ छ ।

२०६४ को पहिलो संविधानसभा सदस्य र २०७४ को प्रदेश सभा सदस्यमा निर्वाचित उनी तेस्रो पटक संसदीय निर्वाचनको मैदानमा छन् । एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईसँगको प्रतिस्पर्धा उनका लागि चुनौती बनेको छ ।

पासाङ पार्टीमा सोझो, इमानदार, निष्ठावान, भ्रष्टाचार विरोधी, वैचारिक अडान भएको नेताका रूपमा परिचित छन् । उनको हक्की स्वभाव र ‘कमान्डिङ’ क्षमतालाई अन्य नेता तथा कार्यकर्ताले हत्तपत्त काट्न सक्दैनन् । प्रदेशको मन्त्री बनेपछि जिल्लामा पर्याप्त बजेट भित्र्याएको विषयलाई उनले चुनावी मुद्दा बनाएका छन् ।

साकेला गाउँपालिका–२ रतन्छामा २०२५ वैशाख १४ गते जन्मिएका रामकुमारले साकेला मावि रतन्छामा ९ कक्षासम्म अध्ययन गरे । उनले मात्तिमको सरस्वती माविबाट एसएलसी र दिक्तेल बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह पूरा गरे ।

तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट २०३८ सालमा राजनीतिमा लागेका उनी २०४९ सालमा गोपाल किराती नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चामा आवद्ध भएर भूमिगत राजनीतिमा सक्रिय बने ।

२०५९ मा खम्बुवान र माओवादीबीच एकीकरण भएपछि राईको राजनीतिक यात्रा थप फराकिलो बन्दै गयो । भूमिगत कालमा खोटाङ, भोजपुर, संखुवासभा र उदयपुर इन्चार्जको जिम्मेवारी सम्हालेका राई २०६२/६३ मा सैन्य विभागको सोलु सल्लेरी बिग्रेड कमिसारसम्म भए । उनी खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको भिडन्तमा गोली लागेर घाइते भएका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा खोटाङ–१ बाट उम्मेदवार बनेका उनले कांग्रेसका सुवासकुमार पोखरेललाई हराएका थिए । त्यसपछि २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनले कांग्रेसकै विष्णुकुमार राईलाई पराजित गरेका थिए ।

४ मंसिरमा हुने निर्वाचनमा उनी तेस्रो जितको खोजीमा हुनेछन् । जनप्रतिनिधिका रूपमा खोटाङका पुल, सडक, भवन, शिक्षा, स्वास्थ्य लगायतको विकासमा राईको उल्लेख्य योगदान रहेको छ ।

पासाङका चुनावी एजेण्डा

राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भइरहेको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजना पूरा गर्ने, ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउने योजना अघि सारेका छन् ।

यस्तै, सडक विस्तार गर्ने, हलेसीलगायत जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको सम्भावनाबारे खोजी गर्ने, रोजगारी सिर्जना गर्ने, कृषिलाई पर्यटनसँग जोड्ने, गरिबीको अन्त्य गर्ने जस्ता उनका प्रतिबद्धता छन् ।

‘थालेको अधुरो कामलाई पूर्णता दिनुछ, नयाँ कामको थालनी गर्नुछ’ राईले भने, ‘जनताको जीवनस्तर उकास्ने योजना सफल पार्ने योजनाका साथ चुनावी मैदानमा उत्रिएको छु ।’

चुनावी अंकगणितले उत्साहित

३० वैशाखको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षले पाएको मतका आधारमा खोटाङमा माओवादी केन्द्रको करिब १८ हजार मत छ । कांग्रेसको करिब २६ हजार र नेकपा एकीकृत समाजवादीको करिब २ हजार मत छ । एमालेको करिब २८ हजार मत छ ।

सत्ता गठबन्धनमा रहेका दलको मत आफूले पाउने र जित्नेमा राई ढुक्क देखिन्छन् । खोटाङका १० स्थानीय तहमध्ये आठ वटामा सत्ता गठबन्धनका दल र दुई पालिकामा एमालेले प्रमुख पद जितेको थियो ।

जिल्लामा प्रतिनिधिसभा सदस्यमा जसपाबाट डा. कृष्णकुमार राई (केके राई), राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई पनि उम्मेदवार छन् ।



No comments