Listen Nepali Songs

Know New

तपेन्द्रबहादुर रावल - नेकपा एमाले र राजनीति


नेकपा (एमाले)ले टीकापुर नगरपालिकाको मेयर भइसकेका तपेन्द्र रावललाई कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा उठाएको छ । पार्टीभित्र दुई आकांक्षीलाई पछि पार्दै टिकट हात पारेका रावल पाँच वर्ष मेयर हुँदा गरेको कामको फेहरिस्तसहित चुनावी प्रचारमा छन् ।

अछाममा जन्मिएका ४९ वर्षीय रावल अनेरास्ववियुबाट राजनीतिमा आएका हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर उनी त्रिभुवन विश्वविद्यालय, अछाम–काठमाडौं सम्पर्क मञ्चलगायत अनेरास्ववियुका विभिन्न कमिटीमा काम गरेर २०५६ सालपछि पार्टी राजनीतिमा सक्रिय भएका हुन् । 

टीकापुर नगर कमिटी सदस्यबाट पार्टी राजनीति गरेका रावल जिल्ला कमिटी हुँदै अहिले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य छन् ।

कैलाली एमालेभित्र रावल सशस्त्रद्वन्द्वको कठिन परिस्थितिमा पनि अनवरत रूपले पार्टी गतिविधिमा संलग्न हुनेमध्येका एक नेताका रूपमा चिनिन्छन् ।

कैलाली–१ मा नेपाली कांग्रेसका रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई चुनौती दिएका छन् ।

२०७२ सालको टीकापुर घटनापछिको समयमा कतिपयले एमाले र रावललाई थारू र मधेश विरोधी भन्ने गरेका छन् । थारू आन्दोलनको क्रममा एक नबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ पनि कैलाली–१ मा उम्मेदवार छिन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट रेशम चौधरी विजयी भएका थिए । उनलाई जेलमै सांसदको शपथ खुवाइएको थियो । चौधरी जेलमै रहेकाले पत्नी रञ्जिताले नागरिक उन्मुक्ति पार्टी खोलेर उम्मेदवारी दिएकी हुन् ।

रावलको लागि नेपाली कांग्रेसका रामजनम चौधरी पनि चुनौती हुन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा नागरिक उन्मुक्ति पार्टी अगाडि छ । नागरिक उन्मुक्ति पार्टीले १७ हजार १९३, नेपाली कांग्रेसले ११ हजार ६७८, एमालेले १० हजार ३२२, नेकपा (माओवादी केन्द्र)ले ६ हजार ९३० र नेकपा (एकीकृत समाजवादी)ले २ हजार २३२ मत पाएका छन् ।

यो चुनावी नतिजाले एमालेका रावलको लागि कांग्रेसका रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ क्रमशः पहिलो र दोस्रो चुनौती बनेको देखाउँछ ।  

No comments