Listen Nepali Songs

Know New

चन्द्र कान्त राउत - जनमत पार्टी र राजनीति

'स्वराज'को नारा लगाएर नेपाली राजनीतिमा आएका ४३ वर्षीय डा. सिके राउत सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । एक दशक लामो राजनीतिक अनुभव र संगठनको बलमा उनी चुनावी मैदानमा छन् ।

जनमत पार्टीको अध्यक्ष रहेका राउत सप्तरी, महदेवाका स्थायी बासिन्दा हुन् । बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गरेका राउतले अमेरिकामा काम गरे । राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल आएका उनी 'स्वतन्त्र मधेश' अभियान चलाएर विवादित पनि भए ।

स्वतन्त्र मधेश गठबन्धन नामक पार्टी खोलेर ६ वर्ष अभियान चलाउँदा उनी पटक-पटक पक्राउ र जेल परे । राज्य विप्लवको मुद्दामा जेल सजाय भोगिरहेका उनी २४ फागुन २०७५ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँदे सहमति गरेर खुला राजनीतिमा आए । त्यसक्रममा उनले स्वतन्त्र मधेश गठबन्धन पार्टी विघटन र जनमत पार्टी गठन गरे ।

डा. राउतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तराई-मधेशको अधिकांश क्षेत्रमा उम्मेदवार खडा गरेका छन् ।

उनी आफैं उठेको सप्तरी-२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुर प्रतिस्पर्धामा छन् । ठाकुरलाई सत्ता गठबन्धन र यादवलाई नेकपा (एमाले)को साथ छ ।

जसपा अध्यक्ष यादव २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए । त्यसबेला उनले २१ हजार ६२० मत ल्याएर नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवलाई पराजित गरेका थिए । उमेशको पक्षमा ११ हजार ५८० भोट खसेको थियो ।

गत स्थानीय निर्वाचनमा सप्तरी-२ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई दलगत रूपमा हेर्दा जसपाले १४ हजार ४०३, कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, माओवादी केन्द्रले ९ हजार ५३४, एमालेले ५ हजार ९५१, जनमत पार्टीले ४ हजार ५४२ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ४०८ मत पाएको देखिन्छ ।


स्थानीय चुनावको यो नतिजा डा. राउत अनुकूल छैन । तर, उनी यो निर्वाचनमा आफू नै विजयी बन्ने दाबी गर्छन् ।

'पुराना दल र तिनका नेताहरूको हर्कतबाट नेपाली जनता वाक्क भइसकेका छन्' डा. राउत भन्छन्, 'मतदाताले विकल्प खोजिरहेकाले अब पुरानाले भोट पाउँदैनन् । फेरि, मैले गरेको संघर्षमा व्यापक जनसमर्थनले पनि यसपटक सप्तरी-२ मा मेरो जित सुनिश्चित छ ।'

No comments