Listen Nepali Songs

Know New

दिपक कार्की - जसपा र राजनीति


धनुषाका ५९ वर्षीय दीपक कार्की २०७४ सालसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । आफ्नो क्षेत्रमा लोकप्रिय रहेका उनी २०७४ मा उल्लेख्य संख्यामा कांग्रेसका नेता–कार्यकर्तासहित उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम प्रवेश गरे । 

सोही वर्ष कार्कीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए । उनलाई तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सम्मिलित मधेशी गठबन्धनको साथ थियो । तर, वाम गठबन्धनका मातृका यादवबाट ९ हजार १२२ मतको अन्तरले हारे उनी । 

कार्की सवैला नगरपालिका–५, धनुषाका स्थायी बासिन्दा हुन् । उनका पिता बलालसिंह कार्की पंचायतकालमा धनुषा जिल्ला पञ्चायत सभापति थिए । राजनीतिक परिवारमा हुर्किएका छोरा भने २०३७ सालमै नेविसंघमा संगठित भए ।

२०३६ सालमा काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट प्रवेशिका उत्तीर्ण गरेका दीपक कार्कीले भारतको बिहारबाट आईएस्सी सकेपछि राजनीतिमा केन्द्रित भए । उनी २०४१ सालमा नेविसंघको धनुषा सभापति बने । २०४६ को पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहे ।

चुनावी अंकगणित

अघिल्लो संसदीय निर्वाचनमा यादवले २६ हजार ४१८ मत ल्याउँदा कार्कीले १७ हजार २९६ पाएका थिए । यसपटक कार्कीलाई नेकपा (एमाले) र यादवलाई सत्ता गठबन्धनको साथ छ ।

धनुषा–१ मा जनमत पार्टीका किशोरी साह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मनोज मल्ल ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लक्ष्मण महतो सुडी, नेपाल सद्भावना पार्टीबाट राजदेव महतो, सामाजिक एकता पार्टीका केशर मुखिया, नेपाल स्वतन्त्र पार्टीका धर्मेन्द्रकुमार रायलगायत २५ जना उम्मेदवार छन् । 

यीमध्ये किशोरी साह उम्मेदवारी दर्ताको दिन एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेका हुन् । अघिल्लो पटक उनी धनुषा–१ (क) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।

२०७४ मा मातृकालाई एमालेको साथ थियो भने अहिले कार्कीलाई । त्यो बेला राजपा (अहिले लोसपा)ले कार्कीलाई सघाएको थियो भने अहिले यादवलाई समर्थन गरेको छ । 

गत वैशाखको स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका वडाअध्यक्षहरूले १७ हजार ५५० मत पाएका छन् । त्यस्तै, एमाले वडाअध्यक्षहरूले पाएको १५ हजार ८१७, माओवादी केन्द्रसँग १२ हजार २९२, जसपासँग ९ हजार १० र लोसपासँग ६ हजार ६२४ दलगत मत छ ।

त्यस्तै, राप्रपाले ४ हजार ९३०, जनमत पार्टीले ३ हजार ३२०, एकीकृत समाजवादीले २ हजार ९३७ र स्वतन्त्रले ३ हजार ३२४ पाएका छन् । स्थानीय चुनावको यो नतिजा कार्कीको लागि सुविधाजनक छैन ।

पाँचदलीय गठबन्धनका वडाअध्यक्षले पाएको मत जोड्दा ३९ हजार ४०३ पुग्छ भने एमाले र जसपा गठबन्धनको मत केवल २४ हजार छ । त्यसमा पनि किशोरी साहले अन्तिम क्षणमा विद्रोह गरेर एमालेलाई कमजोर बनाउने भूमिका खेलेका छन् । त्यसको चुनावी असर भने एमालेलाई नभएर कार्कीलाई पर्नेछ ।

यद्यपि, लामो समय जनतासँगै जोडिएर समाजसेवामा सक्रिय रहेकोले चुनाव आफूले जित्ने कार्कीको दाबी छ ।



No comments