Listen Nepali Songs

Know New

मोहम्मद इश्तियाक राई जनता समाजवादी पार्टी


२०३६ कात्तिकमा बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई अहिले जनता समाजवादी पार्टी (पहिलेको मधेशी जनअधिकार फोरम, नेपाल)का केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् । उनी २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लागेर राजनीतिमा आएका थिए ।

राई २०६२–६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो), प्रवेश गरे । त्यसको दुई वर्षभित्रै उनी पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिव भए । आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र पक्राउ परेर हिरासतमा बसे ।

राई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मजफोको उम्मेदवार भएर बाँके २ बाट निर्वाचित भए । त्यसको दुई वर्षपछि २०६८ मा श्रम तथा यातायात व्यवस्था मन्त्री बने । २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर केपी ओली नेतृत्वको सरकारका शहरी विकास मन्त्री भए ।

ओलीले असंवैधानिक बाटोबाट विघटन गरेको संसद सर्वोच्च अदालतको आदेशबाट पुनस्र्थापित भएपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा पनि उनी केही महिना भौतिक पूर्वाधार विकास मन्त्री बने ।

राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका मुस्लिम समुदायका राई नेपालगञ्जको शहरी विकास र बाँके जिल्लाको भौतिक पूर्वाधार क्षेत्रमा निकै ठूलो योगदान गरेको दावी गर्छन् । नेपालगञ्जमा धार्मिक–सांस्कृतिक सद्भाव फैलाउने अभियानमा पनि सक्रिय रहेको उनले बताए ।

चुनावी अंकगणित

२०७४ को चुनावमा दुई प्रमुख वाम दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गरेको थियो । बाँके–२ मा वाम गठबन्धनका उम्मेदवार थिए पशुपतिदयाल मिश्र, जसलाई राईले ५ हजार ६२४ मतान्तरले पराजित गरे । राईले २१ हजार ५७५ र मिश्रले १५ हजार ९५१ मत पाएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी एमालेका उम्मेदवारबाट पराजित भएका थिए । गत स्थानीय निर्वाचनको मतपरिणाममा यो क्षेत्रमा नेपाली कांग्रेस १८ हजार ३७ मतसहित अगाडि छ ।

त्यस्तै, एमालेसँग १५ हजार ४७८, जसपासँग १३ हजार ८०९, राप्रपासँग ८ हजार ४९४, माओवादी केन्द्रसँग ६ हजार ८५९, नेकपा (एकीकृत समाजवादीसँग ८२१ र जनमत पार्टीसँग ६९० मत छ ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका धवलशमशेर राणा र कांग्रेसका सुदीप नरसिंह राणा प्रतिस्पर्धामा छन् । यसपटक पनि राईले २०७४ कै नियति भोग्नुपरेको छ । अन्यत्र जसपा–एमालेको तालमेल छ, बाँके–२ मा एमालेले राप्रपालाई समर्थन गरेको छ ।

स्थानीय चुनावको नतिजा अनुसार सत्ता गठबन्धनका उम्मेदवार सुदीप राणासँग २५ हजार ७१७ मत छ भने एमालेको समर्थन पाएका धवलशमशेरको पक्षमा २३ हजार ९७२ । जसपाका उम्मेदवार राईसँग भने १३ हजार ८०९ मात्र छ ।

यसपटक यी दुई ठूला गठबन्धनलाई पल्टाएर जित निकाल्न राईले अघिल्लो पटक जस्तै लोकप्रियताको चमत्कार देखाउनुपर्नेछ ।



No comments