Listen Nepali Songs

Know New

रामनाथ अधिकारी - नेपाली कांग्रेस र राजनीति


नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी पुरानै राजनीतिक खेलाडी हुन् । धादिङको नेवारपानीमा जन्मिएका उनी २०३६ सालको जनमत संग्रह र २०४२ को सत्याग्रहभर तरुण कांग्रेस थिए । यी दुई आन्दोलनमा सक्रिय उनले धेरै राजनीतिक अनुभव हासिल गरे ।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्दा पटक–पटक थुनिएका अधिकारीलाई ६ वैशाख २०४५ मा प्रहरीले चारपाटा मुड्नेसम्मको ज्यादती गर्‍यो । राज्यको क्रूर दमनले उनलाई अझ विद्रोही बनायो ।

कांग्रेसको आठौं महाधिवेशनमा धादिङ जिल्ला कार्य समिति सहसचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका उनी २०५३ सालमा सभापतिको प्रत्यासी बने, तर सफल भएनन् । २६ कात्तिक २०५४ मा जिल्ला सभापति दामन पाख्रिनको निधनपछि उनी सभापतिमा चुनिए ।

पार्टीको जिल्ला सभापति रहेका अधिकारी २०५६ सालमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर लगातार दुईपटक विजयी भए । उनले नेकपा (एमाले) का गंगालाल तुलाधरलाई पराजित गरेका थिए ।

२०५६ पछि उनी २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा उठे, तर नेकपा (माओवादी)की उम्मेदवार कल्पना धमलासँग पराजित भए । २०७० मा सम्पन्न दोस्रो संविधानसभामा पनि कांग्रेसले अधिकारीलाई नै टिकट दियो, तर उनी निकटतम प्रतिद्वन्द्वीमा सीमित भए ।

अधिकारी २०५५, २०५७, २०६२, २०६७ र २०७८ मा गरी लगातार पाँचौं कार्यकाल धादिङ कांग्रेसको सभापति छन् । जनताको समस्या समाधानमा सधैं सक्रिय अधिकारी सादा जीवनशैलीका कारण पनि लोकप्रिय छन् ।

नेपाली कांग्रेसले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि अधिकारीलाई धादिङ–१ बाट उठाएको छ । उनले जिल्लाको आर्थिक विकास र बुढीगण्डकी जलविद्युत् परियोजनालाई मुख्य चुनावी नारा बनाएका छन् ।

धादिङ–२ मा नेकपा (एमाले)का निवर्तमान सांसद खेम लोहनी प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६७१ मतले हराएका लोहनीलाई यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन छ भने कांग्रेसका अधिकारी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङको क्षेत्र भएकाले धादिङ–१ मा राप्रपा कमजोर छैन । नेता तामाङ भने समानुपातिक उम्मेदवार छन् । गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले २९ हजार ९६५, एमालेले २५ हजार ९३८ र नेकपा (माओवादी केन्द्र)ले १४ हजार ३८० मत पाएको छ ।

त्यस्तै, राप्रपाले ५ हजार २८७, नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४५६ र जनता समाजवादी पार्टी (जसपा)ले १ हजार ६० भोट पाएका छन् । जसपा भने अहिले विभाजित छ । धादिङमा विभाजित जसपाको डा. बाबुराम भट्टराई पक्ष हावी छ ।

स्थानीय चुनावको नतिजाअनुसार, धादिङ–१ मा गठबन्धन दलहरूसँग ४८ हजारभन्दा बढी मत छ भने एमाले–राप्रपाको ३१ हजार आसपास पुग्छ । यो चुनावी अंकगणित अधिकारीका लागि अनुकूल छ । निरन्तर आफैं अवसर लिंदा पार्टीभित्र पैदा भएको असन्तुष्टि व्यवस्थापन गर्दै गठबन्धनको मत जोगाउन सक्दा उनले यो पटक हारको शृङ्खला रोक्न सक्ने देखिन्छ ।

No comments