Listen Nepali Songs

Know New

रन्जिता श्रेष्ठ - नागरिक उन्मुक्ति पार्टी र राजनीति


काठमाडौंमा जन्मिएर पढे–बढेकी रन्जिता श्रेष्ठले कच्चा उमेरमै कैलालीका रेशम चौधरीसँग प्रेम विवाह गरिन् । लामो समय रेडियो पत्रकारिता गरेकी उनी अहिले राजनीतिका कारण चर्चामा छिन् ।

नवगठित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष उनी यसपटक कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् । २०७४ सालमा रेशम चौधरीले शानदार जित हासिल गरेको यो क्षेत्रमा यसपटक चौधरी पत्नी रन्जिताले स्थापित दलहरूलाई चुनौती दिएकी छन् ।

२०३९ फागुनमा काठमाडौंको रैथाने नेवार परिवारमा जन्मिएकी रन्जिता रेडियो नेपालमा कार्यरत रेशम चौधरीसँग विवाह गरेपछि त्यही क्षेत्रमा आइन् । रेडियो नेपाल, रेडियो सगरमाथा, रेडियो सिटी ९८.८ र इमेज च्यानललगायत संस्थामा काम गरेपछि उनी कैलालीको टीकापुरमा रेशमले संचालनमा ल्याएको फूलबारी एफएममा आवद्ध भइन् । २०७२ को टीकापुर घटनापछि फूलबारी एफएम आगजनीमा प¥यो ।

संविधानसभाबाट नयाँ संविधान आउनुअघि सुदूरपश्चिमी तराईका थारू समुदाय पहिचान सहितको संघीयताका लागि आन्दोलन गरिरहेका थिए । त्यसको विरोधमा ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलन पनि चर्कियो । त्यसैक्रममा ७ भदौ २०७२ मा टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी हिंसात्मक घटना घट्यो ।

उक्त घटनाको दोषी भन्दै सरकारले मुद्दा दायर गरेपछि रेशम चौधरी भूमिगत भए । भूमिगत अवस्थामै कैलाली–१ बाट २०७४ को प्रतिनिधिसभा निर्वाचन लडेका उनी अत्यधिक मतले विजयी बने । त्यसबेला उनले ३४ हजार ३४१ मत पाउँदा नेकपा (एमाले)की मदनकुमारी शाह १३ हजार ३०४ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन् । चौधरीको त्यो विजयलाई कतिपयले थारू समुदायमाथि राज्यसत्ताले गरेको ज्यादती विरुद्धको प्रतिक्रियाको रूपमा अथ्र्याएका थिए ।

जिल्ला अदालत र उच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी संसद जान भने पाएनन् । अन्ततः प्रहरी सम्पर्कमा आएका उनलाई जेल चलान गरेर त्यहीं प्रतिनिधिसभा सदस्यको शपथ खुवाइयो ।

चौधरीको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दा नटुंगिएकाले पार्टी अध्यक्ष वा उम्मेदवार बन्न नपाएपछि चौधरीले श्रीमती रन्जितालाई अघि सारे । २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष र अहिले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रन्जिता श्रेष्ठ बनिन् ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरी र नेकपा (एमाले)बाट तपेन्द्रबहादुर रावल प्रतिस्पर्धामा छन् ।

गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा नागरिक उन्मुक्ति पार्टी अगाडि छ । नागरिक उन्मुक्तिले १७ हजार १९३, नेपाली कांग्रेसले ११ हजार ६७८, एमालेले १० हजार ३२२, नेकपा (माओवादी केन्द्र)ले ६ हजार ९३० र नेकपा (एकीकृत समाजवादीले २ हजार २३२ मत पाएका छन् ।

यो चुनावी नतिजाले कैलाली–१ मा रन्जिता श्रेष्ठलाई अनुकूल अवस्थामा देखाउँछ । सत्तामा रहेका दलहरूको गठबन्धन चाहिं उनका लागि चुनौती भएको छ ।

कैलालीमा विजयी भएर थारू आन्दोलन मात्र होइन, जेलमा रहेका आफ्ना श्रीमान्को साख जोगाउन उनले गठबन्धनको मात्र नभएर एमालेको पनि भोट तान्नुपर्ने देखिन्छ ।

No comments