Listen Nepali Songs

Know New

वीरशम्शेरको बेलायत यात्राको सपना

 वीरशम्शेरको बेलायत यात्राको सपना

नेपालको प्रधानमन्त्री तथा श्री ३ को रुपमा सत्तामा रहेका ठूलोबुबा रणोद्वीप सिंह कुँवर तथा जङ्गबहादुरका सन्तानहरुको हत्या गरि धिरशम्शेरका छोराहरुले एक छत्र रुपमा राणा शासनको बागडोर सम्हाल्न पुगेका थिए । ४२ साल पर्वको नामले बदनाम यस षडयन्त्रमा जङ्गबहादुरका छोरा नातिहरु या त मारिए या लखेटिए । यसरी आफ्नै ठूलोबुबा तथा अन्य दाजुभाइको हत्या गरि श्री ३ बनेका वीरशम्शेरलाई भारतमा रहेको अंग्रेज सरकारले मान्यता दिन आनाकानी गरे पछि वीरशम्शेरले अंग्रेजका बिभिन्न शर्तहरु मान्न तैयार भएका थिए । भारतीय सेनामा रहेको गोर्खालीहरुको संख्या बढाउन समेत मञ्जुरी दिएका थिए । भारतमा रहेका अंग्रेज भाइसराय लर्ड डफरिनले रणोद्वीपको हत्या गरेर सत्तामा आउनेलाई मान्यता दिन खोजेन । यता रेसिडेन्टका रुपमा रहेका गर्ल्डस्टोन पनि नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा स्विकार गर्न नचाहने तथा भारतमा गाभ्ने षडयन्त्रमा लागेका थिए । उनले पनि सहयोग गरेनन् । तसर्थ यसको लागि अंग्रेज सरकारका प्रतिनिधीहरुले बिभिन्न माग श्री ३ वीर सामु राख्न थाले । बेलायती सेनामा गोर्खालीहरुको भर्ति केन्द्र नेपालमा नै राख्ने चाहना एक प्रमुख थियो भने अन्यमा बेलायतीहरुलाई सहज प्रवेश तथा ब्यापार गर्न छुट दिन समेत मागेका थिए । वीरशम्शेरले आफ्नो सरकारको मान्यता प्राप्त गर्न अंग्रेजका केही चाहना पुरा गरिदिएका थिए ।
यसरी सरकारलाई मान्यता पाएको वीर शम्शेरको सम्बन्ध लर्ड डफरिनसंग खासै राम्रो रहेन । तर त्यसपछिका भाइसरायहरु लर्ड ल्यान्सडाउन तथा लर्ड एल्गिनको समयमा भने बिस्तारै सुधार हुन थालेको थियो । सन १८९२ को मार्चमा भारतमा रहेका बेलायती सेनाका सेना प्रमुख लर्ड रबर्ट्सको नेपाल भ्रमणले बेलायत सरकारको चाहना अझ बढि पुरा भयो । वीरशम्शेरको निमन्त्रणामा आइपुगेका लर्ड रबर्ट्स निकै कठिनताका साथ अप्ठ्यारो बाटो हुदै घोडामा चढेर काठमाडौ पुगेका थिए । काठमाडौमा उनको लागि १८००० सैनिकहरुबाट मार्चपास्ट तथा सलामी दिइएको थियो । त्यसबेला नेपाली सेनाका प्रमुख देवशम्शेर थिए । नेपालमा भएको स्वागतबाट प्रभावित भएका लर्ड रबर्ट्सले नेपाली सेनामा बेलायती सैनिक अफिसरबाट तालिम दिने ब्यबस्था समेत गरेका थिए । यसको एक वर्ष नबित्दै श्री ३ वीर शम्शेरले इ.सं. १८९३ फेब्रुवरीमा कलकत्ता भ्रमणका लागि निस्किए । नयाँ भाइसराय लर्ड ल्यान्सडाउनको पाहुना भइ केही समय भ्रमणमा रहे । यस भ्रमणमा वीरशम्शेरले बेलायतसंग ८००० मार्टिनी हेनरी राइफलको अर्डर दिएका थिए । भने मनग्गे गोलाबारुदको पनि अर्डर दिएका थिए ।
यसरी कलकत्ता भ्रमणबाट निकै प्रफुल्लित भएर फर्केका वीरशम्शेरले बेलायत घुम्ने सपना देख्न थालेका थिए । ठूलो बुबा जंगबहादुरको बेलायत भ्रमणको कथा राणा परिवारमा निकै चर्चा हुने गर्दथ्यो । त्यसैले वीरशम्शेरलाई पनि बेलायत जाने रहर जाग्यो । सन १८९५ को अन्त तिर काठमाडौमा रहेको रेसिडेन्ट मार्फत अनुरोध पत्र पठाए । तत्कालिन भाइसराय लर्ड एल्गिनले सहयोग गर्ने आश्वासन दिएको हुँदा पनि श्री ३ वीर ढुक्क थिए बेलायत घुम्न पाउनेमा । यता भाइसराय भित्र भित्र चिन्तित थिए - कतै बेलायतबाट अस्विकृत भयो भने नेपालसंगको सम्बन्ध बिग्रन सक्ने आकलन गर्दै भ्रमण सकभर गराउने प्रयत्नमा लागेका थिए ।
वीरशम्शेरको बेलायत भ्रमणको चाहनाको साथ अर्को ध्येय पनि थियो । नेपाल एक स्वतन्त्र राष्ट्रको राजा पृथ्वी वीर बिक्रमको राजदूतको रुपमा बेलायत भ्रमण गर्ने वीरशम्शेरको चाह थियो । तर त्यसबेला बेलायत नेपाललाई पूर्णरुपमा स्वतन्त्र राष्ट्रको रुपमा मान्यता नदिने पक्षमा थियो । यो थाहा पाएका वीरशम्शेरले बेलायत भ्रमण त्याग्न सक्ने तर स्वतन्त्र राज्यको अधिकार त्याग्न नसक्ने जानकारी पठाएका थिए । भाइसरायको प्रयास वावजुद पनि वीरशम्शेरको यात्रा हुन सकेन । बेलायतले वीरको शर्त मानेका थिए तर तिब्बतसंगको सम्बन्धका कारण वीरले नेपाल छोड्न सकेनन् ।
वीरशम्शेर जन्म देखि नै अभागी थिए । उनको जुन समय जन्म भयो त्यो दिन राशीमा अशुभ दिन चलिराखेको थियो । उनको जन्मको केही समय पछि आमाको निधन भएको हुँदा पनि उनलाई ज्योतिषको सल्लाह अनुसार घर राखिएन । १२ वर्षको उमेरसम्मका लागि ठूलो बुबा जङ्गबहादुरको थापाथली दरवारमा राखियो जहाँ जङ्गबहादुरकी रानी पुतली महारानीले आफ्नै छोरा झै आफ्ना छोराहरुका साथ हुर्काए । थापाथली दरवारमा रहँदा बाल्यकालमा जङ्गबहादुरले उनलाई "कैले" भनेर बोलाउँथे । जङ्गले नै उनको नाम "वीर" भनेर राखिदिएका थिए । उनका दौतरीहरुमा जङ्गका सन्तान बबरजंग, दीपकुमारी तथा खड्गकुमारीहरु थिए । तर बिदम्बना यिनै वीरशम्शेरले आफ्नो स्याहारसुसार गर्ने जङ्गबहादुरका सन्तानहरुलाई नै मार्न लगाए ।
ठूलो बुबा जङ्गबहादुरको सामिप्यमा रहँदा उनले शुरुमा दरवार हाइस्कूल र पछि डोवटन कलेज, कलकत्तामा अध्ययन गरे । जङ्गकै कार्यकालमा कलकत्तामा वकिलका रुपमा गए । त्यहाँ उनले नेपालको राजकाज सम्बन्धी कार्य अंग्रेज सरकारका बिच गर्दथे । कलकत्तामा निकै अनुभवहरु संगालेका उनि अंग्रेजी राम्रै बुझ्दथे । बोल्न अलि कम सक्थे । साथमा हिन्दी, उर्दु र पर्सियन भनि राम्रैसंग बुझ्दथे र बोल्दथे पनि । जङ्गले केही गर्न सक्ने भतिजाको रुपमा उनको चर्चा गर्दथे ।
नेपाल फर्किए पछि पनि उनको रहनसहन बिशेष थियो । उनि बिशेष तामझामका साथ निसाफ गर्न पुग्दथे । साथमा उनको नीजि सौखले बेलायत तथा भारतबाट समेत मगाएर पालिएका बिशेष जातका गाईहरुको फार्म नै थियो । सो निरिक्षण गर्न दैनिक जसो पुग्दथे । उनको खान्की भन्दा पनि उनको खवाइको भाडाकुडाहरु बिशेष थियो । शुद्ध सुनको थाल, कचौरा तथा ग्लासहरुको तौल ३६२ तोलाको थियो । झण्डै दुइ धार्नीको उनको सुनका सामग्रीमा उनलाई खाना पस्किने गरिन्थ्यो । उनको ठूलो थालको तौल नै १४५ तोलाको थियो । १२० तोलाको ३ वटा कचौरा थिए भने ६० तोलाको पानी पिउने जग थियो । साथै १२ तोलाको चम्चा पनि थियो ।
हिन्दु धर्म प्रति कट्टर उनि खाना शुद्ध ब्राम्हणबाट पकाएको मात्र खान्थे । आफू हिंसाबाट नै गद्दीमा पुगेको हुँदा उनलाई आफ्नो पनि कतै हत्या होला भन्ने डर सदैव हुने गर्दथ्यो । यसैले उनले खाना खानु अगाडि खानामा कतै बिष मिसाएको हुन सक्ने भन्दै एक पण्डितलाई पहिले खान लगाएर निर्धक्क भए पछि मात्र आफू खान्थे । खान बस्ने चौकीको वरपर गाईको गोबरले लिन लगाई शुद्ध र किटाणु मुक्त गराउँदथे । हरेक पटक गंगा जलले मात्र हात धुने गर्दथे । खाना पछि शुद्ध सुनले बनेको हुक्कामा तम्बाकु तान्दथे । उनको लवाई पनि बिशेष हुने गर्दथ्यो । उनले लगाउने ज्याकेट बेलायतबाट मगाउँथे । प्राय उनि कोटमा भन्दा बढि ज्याकेटमा नै देखिन्थे । उनको टोपी पनि फ्रान्सेली सैनिकहरुले लगाउने "फोरेज क्याप" हुने गर्दथ्यो ।
ठूलो बुबा जङ्गबहादुर झै उनि पनि संगीत तथा नृत्यको सौखिन थिए । उनको दरवारमा सेनाको ब्याण्डले बजाएको संगीत सुन्दथे भने भारतीय शास्त्रीय गीतसंगीत तथा नाचको पनि सौखिन थिए । यहि सौखका कारण नेपालमा पहिलो पटक शास्त्रीय संगीतको भेला नै भएको थियो । "बगडीको जल्सा" नामले प्रख्यात यो भेला वीरगंज नजिकैको गाउँ बगहीमा भएको थियो यस बृहत संगीत भेला बि.सं. १९५६ को पुसमा भएको थियो । त्यस भेलामा भारतीय शास्त्रीय संगीतकारहरुको मेला नै लागेको थियो । सयौ संगीतकार तथा रागगायनका माहिरहरुको जमघट नै भएको थियो । त्यस सम्मेलनमा भाग लिने प्रमुख संगीतकारहरुमा उस्ताद ताज खाँ, उस्ताद दुन्दे खाँ, उस्ताद गुलाम हुसैन, उस्ताद रामसेवक, उस्ताद नजीर खाँ, उस्ताद रहमत खाँ, उस्ताद निमतल्ला, उस्ताद छोटा नियामत, उस्ताद बलदेव सहाय, उस्ताद जगदीप, उस्ताद बीनकार भट्ट, उस्ताद जिन्नत खाँ, उस्ताद मोहम्मद अली, उस्ताद शाहदत्त अली, उस्ताद वाहिद हुसैन, उस्ताद अफताव हुसैन, उस्ताद कृष्णवीर, उस्ताद जाकिर हुसैन, उस्ताद रहमत अली, उस्ताद हुसैन वख्स मौला, उस्ताद प्यार अली खाँ, उस्ताद रसुल, उस्ताद जमीरुद्दीन, उस्ताद गुलाम रसुद खाँ गरि २४ जना संगीतकारको भेलाभएको थियो । यसमा उस्ताद ताज खाँ भने नेपालमा नै बसेका थिए । उनको जलसाको एक वर्ष पछि काठमाडौमा निधन भएको थियो । उनका सन्ततीहरु आज पनि काठमाडौमा नै रहेका छन् ।
उनले बनाएको चारबुर्जा दरवार तत्कालिन समयको आधुनिक महलमा पर्दथ्यो । वास्तुकलाविद जोगवीर स्थापितको डिजाइनमा बनेको यस दरवार पछि छोरा रुद्रशम्शेरलाई दिए । १९९० मा जुद्धशम्शेरबाट लखेटिए पछि यो दरवार बहादुर शम्शेरको हकमा पुग्यो । बहादुर भवनको नाम रहन गएको यो दरवार बोरिस द्वारा नेपालकै पहिलो होटल रोयल होटलको रुपमा रहन पुग्यो । हाल यस भवनमा निर्वाचन आयोगको कार्यालय रहेको छ । यसको साथै रणोद्वीपको नारायणहिटी दरवार भत्काएर त्यहाँ नयाँ दरवार बनाउन लगाएका थिए । जुन दरवार आफ्ना ज्वाइ पृथ्वी वीर बिक्रमलाई दिए । जसले गर्दा पछि सम्म शाह राजाहरुको दरवारका रुपमा रहन गयो । त्यो दरवार ९० सालको भूकम्पमा भत्कदा राजा त्रिभुवनको ल्याइते तर्फबाट जन्मिएका तीन छोरीहरु पुरिएर निधन भएको थियो । नारायणहिटीको दायाँतर्फ बिशाल सेतो दरवार बनाए, जुन छोरा गेहेन्द्रशम्शेरका लागि दिए । बायाँतर्फ फोहरा दरवार बनाए जुन छोरा प्रतापशम्शेरलाई दिए । फेरी अर्को फोहरा दरवार कान्छी महारानीका लागि पनि बनाइदिए । पहिलो फोहरा दरवार राजा महेन्द्रले भत्काइ नारायणहिटी भित्र गाभे । दोश्रो फोहरा दरवार अमेरिकी राजदुतावासले किने । भाइ जुद्धशम्शेर र उनकी आमा जुहारकुमारीका लागि जावलाखेल दरवार बनाइदिएका थिए । छोरा धर्मशम्शेरका लागि भाटभटेनी दरवार बनाइदिए । भाइ भीमशम्शेरका लागि टंगाल दरवार बनाइदिएका थिए । कान्छी रानी टोपकुमारी देवीका लागि लाल दरवार बनाइदिए जुन हाल याक एण्ड यती होटलका रुपमा रहेको छ ।
यस्तै वीरशम्शेरले जनताका लागि अस्पताल बनाउन लगाए । जसको नाम शुरुमा पृथ्वी वीर अस्पताल रहेको थियो । यो अस्पताल पहिले रानीपोखरीको पश्चिम हाल राष्ट्रिय नाचघर रहेको ठाउँमा थियो । पछि वीरशम्शेरले नै हालको स्थानमा बिशाल भवन बनाउन लगाइ अस्पताल सारे । वीरशम्शेरले बेलायती बिग बेनको नक्कल गर्दै रानीपोखरीको पूर्वमा घण्टाघर बनाउन लगाएका थिए । दरवार हाइस्कूलका नाममा स्कूल त थियो तर स्थाइ रुपमा भवन थिएन । वीरशम्शेरले दरवार हाइस्कूलको लागि लामो टहरा रुपी भवन बनाइदिए । गहवामाईको मन्दिर रहेको सानो गाउँको नाम गहवा थियो । जसलाई वीरगञ्ज नामाकरण गराइ बस्ती बसाए । साथै त्यहाँ मुडुली दरवार बनाइदिएका थिए ।
उनि आफू कान्छी रानी टोपकुमारी देवीका साथ लालदरवारमा बस्दथे । उनले सो दरवारमा अत्याधुनिक सामग्रीहरुले सजाएका थिए । उनको कोठाहरुमा बेलायती फर्निचरहरुले सजिएको थियो । काँचका भाडाकुडा किसिम किसिमका थिए । भेनेटिएन (इटलीको) ग्लासका रुपमा प्रख्यात सामग्रीहरुले भरिएका थिए । कोठाका भुइहरुमा इटालियन मार्बल राखिएको थियो भने त्यसमाथि पर्सियन (इरान) कार्पेट ओछ्याइएको थियो । कोठाहरुमा ग्याँस ल्याम्पबाट उज्यालो बनाइन्थ्यो । कोठाका छतहरुमा किसिम किसिमका बेल्जियन क्रिस्टल झुमरहरु झुण्ड्याइएका थिए । बगैंचामा समेत बाफको जेनरेटरबाट कार्वन लाइटहरु बालेर रातमा समेत आकर्षक बनाइएको थियो ।
वीरशम्शेरको विवाह उपेन्द्र (राजा सुरेन्द्रको भाइ) वीर बिक्रमको छोरी दिव्येश्वरी राज्यलक्ष्मीसंग भएको थियो । वीरशम्शेरले आफ्नी रानीको लागि सुसारेको रुपमा ठिमीकी नेवार्नी खञ्ज नाम गरेकी मैयाँलाई राखे । तर यिनै नेवार्नी मैयाँ वीरकी प्यारी कान्छी महारानी बनिन् । जसलाई पछि टोपकुमारी नाम राखियो ।
यिनको सम्बन्धमा पनि रोचक कथा छ । रानी दिव्येश्वरीको सुसारेको रुपमा राखिएको खञ्जन निकै राम्री थिइन् । बुबा उपेन्द्रले ति सुसारेलाई हटाउन भने पनि पतिका कारणले सुसारेबाट हटाउन सकेका थिएनन् । एकदिन खञ्जन राती सुतेको समयमा रानी दिव्येश्वरीले अनुहारमा एसिड खन्याइदिए । यस घटनाले झन वीरको प्रेम खञ्जन प्रति अझ प्रगाढ भयो । उनले उनको अनुहारको उपचार गराए साथै उनीसंग विवाह पनि गरे । साथै महारानीको दर्जा पनि दिलाए र खञ्जनको आँखा राम्रै देख्न सक्ने भयो । अनुहारमा भने केही दाग रह्यो । वीरले महारानीको दर्जा दिलाएका खञ्जनबाट जन्मिएका रुद्रशम्शेर (पोखरा तथा भक्तपुरका वडाहाकिम धनशम्शेरका बुबा)लाई रोलक्रममा पनि राखे । तर पछि जुद्ध शम्शेरले ल्याइतेबाट जन्मिएका सन्तान भएको हुँदा रुद्रशम्शेरको रोलक्रम खोसिदिए र पाल्पा धपाइए । यिनै टोपकुमारीबाट जन्मिएका दुइ छोरीलाई राजा पृथ्वी वीर बिक्रमसंग विवाह गराइदिएका थिए । वीरको चाहना आफ्नो नाति भविष्यको राजा बनाउने थियो । लामो समयसम्म पृथ्वी वीर बिक्रमको छोराको जन्म भएन । जेठी छोरी लक्ष्मी राज्य लक्ष्मीलाई पहिलो पटक राजाको उत्तराधिकारीको रुपमा नियुक्त गरियो । अन्तत करिव ११ वर्ष पछि बि.सं. १९६३ को असारमा पंजावबाट विवाह गरि ल्याइएका रानीबाट त्रिभुवनको जन्म भए पछि युवराज घोषणा गरियो ।
यिनै श्री ३ वीरको कान्छी रानी खञ्जनको फूपुकी छोरीले नःकर्मीसंग विवाह गरे पछि परिवारले स्विकार नगर्दा निकै दुख पाएकी थिइन । वीर शम्शेरको जेठा छोरा गेहेन्द्र शम्शेर बैज्ञानिक थिए । उनले नेपालम पहिलो पटक गाडी भित्राएर काठमाडौमा गुडाएका पनि थिए । यहि गाडी गुडाउनका लागि पहिलो चालकका रुपमा दशनारायण नकर्मीलाई राखेका थिए । पछि नेपालमा गाडीहरु भित्रिन थालेपछि लाजिम्पाट क्षेत्रमा गाडि बनाउने वर्क्स सप नै खोल्न लगाएका थिए ।
पोखरामा पनि वीरकी कान्छी रानीको बिशेष महत्वपूर्ण कार्य रहेको छ । पोखरामा बसोबास गर्ने छब्बीस कुरियाका नेवाःहरुलाई यहाँ रहेका ब्राम्हण क्षेत्रीहरुले धपाएर सो ठाउँ आफूहरुले ओगट्ने प्रयास गरेका थिए । जसको बचाउका लागि पोखराका नेवाःहरुले श्री ३ वीर सामु बिन्तीपत्र चढाएका थिए । यसरी श्री ३ वीर सामु पुगेको बिन्तीपत्र कान्छी रानीले थाहा पाइ आफू नेवाः भएको हुँदा पोखराका नेवाःहरु बिस्थापन हुनबाट जोगाउन वीरशम्शेर मार्फत लालमोहर पठाइ छब्बीस कुरियामा नेवाःहरु नै रहने ब्यबस्था गराएका थिए । यदि ब्राम्हण क्षेत्रीहरुबाट दखल भएमा उनीहरुले पाएका कुरिया तथा हुलाकी खेतहरु पनि नेवाःलाई दिलाउने निर्णय पठाए पछि पोखराका नेवाःहरु बिस्थापन हुनबाट जोगिएका थिए ।
प्रशासनिक सुधारमा जङ्गबहादुरको बिशेष योगदान छ । उनले बनाएका चार गौडा र तिनमा रहने बडाहाकिमका काम र कर्तव्य बिभाजन गरिएको थियो । यि बडाहाकिमहरु राणा दरवारका अति नै निकटस्तहरु हुने गर्दथे । वीरशम्शेरले यस प्रशासनिक कार्यमा केही सुधारहरु गरे ।
"हाजिरी गोश्वारा"को स्थापना गराइ सम्पूर्ण कर्मचारीहरुलाई नियमन गर्न मिलाए । हाजिरी देखि लिएर कामको विषयमा समेत जानकारी एकै ठाउँबाट गर्ने प्रबन्ध मिलाए । साथै शहर "सफाइ अड्डा"को स्थापना गराइ सफाइ तिर पनि ध्यान दिएका थिए । प्रशासनिक काममा सहज बनाउन तराईमा १२ "जिल्ला" र पहाडमा २३ "तहसिल अड्डा"को ब्यबस्था गरे । तहसिललाई फेरि जिल्ला तथा थुममा बिभाजन गराए । यसलाई पनि मौजा र गाउँमा बिभाजन गरे । हरेक तहसिलमा हाकिम वा वडाहाकिम रहने ब्यबस्था पनि मिलाए । तराईका जिल्लाहरुलाई पनि चार भागमा विभाजन गराए । माल अड्डाको स्थापना तथा अमिनीको ब्यबस्था पनि गराएका थिए । कानुनको सहजताको लागि "अपिल अड्डा"को स्थापना पनि गराएका थिए । वीर शम्शेरले उपत्यकामा सार्वजनिक धाराको रुपमा "वीरधारा" तथा घरमा समेत धाराको प्रबन्ध मिलाएका थिए । जसको ब्यबस्थापनका लागि "पानी गोश्वारा"को स्थापना गरेका थिए ।
ठूलो बुबा रणोद्वीपको हत्या गरेर सत्तामा पुगेका वीरशम्शेर निकै शंकालु भएका थिए । कतै आफ्नो हत्या गरि भाइहरु सत्तामा आउने षडयन्त्र रच्न सक्ने शंकामा रातदिन रहन्थे । यहि क्रममा भाइ खड्गशम्शेर पनि पाल्पा धपाइएका थिए । रातमा पनि ३-४ पटक कोठा फेरेर सुत्थे । निदाउँदा पनि एक हातले सिरानी च्याप्ने र अर्को हातमा रिवल्वर हुन्थ्यो । कोठा बदलि गर्दा कान्छी महारानी तोपकुमारी पनि एक हातमा चाँदीको पिकदान र अर्को हातमा सुराही बोकेर पछि पछि लाग्दथे ।
वीरशम्शेरका जेठा छोरा गेहेन्द्रशम्शेर नेपालकै पहिलो बैज्ञानिक थिए । उनले बिभिन्न किसिमका हतियारहरु बनाएका थिए । उनको सेतो दरवारमा बिशाल ज्यासल नै बनाएका थिए । जहाँ हावाबाट चल्ने ठूला पंखाबाट बिजुली निकालेका थिए । तर दुर्भाग्य उनको केवल ३६ वर्षको उमेरमा निधन भयो । उनको अप्रत्याशित निधनलाई चन्द्रशम्शेरले विष दिएर हत्या गरेको भन्ने गरिन्छ ।
अन्तत सन १९०१ को अप्रिलमा भारतका लागि नयाँ नियुक्त भाइसराय लर्ड कर्जनलाई शिकार खेल्न नेपाल आउनको लागि निम्तो पठाए । पत्रमा उनले जानकारी दिए, स्वास्थ्यको कारण आफू शिकारमा उपस्थित हुन नसके पनि ब्यबस्था सबै मिलाइनेछ । तर शिकारको निम्तो दिएको दिएको एक महिना अगाडि नै सन १९०१ मार्च ३ तदनुसार बि.सं. १९५७ फागुन २३ गते मंगलवार फागु पूर्णिमाको दिन केवल ४८ वर्ष २ महिनाको उमेरमा वीरशम्शेरको रक्तचापका कारण देहावसान भएको थियो ।
यहाँ राखिएको अति नै गोप्य तत्कालिन समयको पत्र हो यो । यस पत्रमा
Field Marshal Sir Henry Wylie Norman लाई वीरको बेलायत यात्राको चाहना भएको जानकारी काठमाडौमा रहेको बेलायती रेसिडेन्ट (राजदूत)ले गराएका छन् । यस पत्र अनुसार श्री ३ वीर सन १८९६ को मार्चको मध्य तिर बेलायतको यात्राको लागि उपयुक्त समय सोचेका थिए ।



No comments