Listen Nepali Songs

Know New

खिर खाने दिन | अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस | अन्तर्राष्ट्रिय मित्रता दिवस

 यो छोरी बढ्लिन्, कमाई गर्लिन्, दूध–भात देलिन् मलाई

यस वाक्यांश नेपालीजनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ । छोराछोरीको माया र खिरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ । खिरको महत्व अनि त्यसको स्वाद सन्तानको माया र आत्मीयतासँग गाँसिएको छ । यहाँहरूमा खिर खाने दिवसको शुभकामना ।

दूध–भात अर्थात् मीठो र पोषिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध–भातसंग संख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएका हरिया दुना–टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।

मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । यसबाट बन्ने कैयन मीठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमै प्रिय बन्न सफल छ ।

यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन, पोषण यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचीनकालमा गरेको समुन्द्र–मन्थनसँग सम्बन्धित छ । त्यतिबेलादेखि अझसम्म दूधलाई शुद्धीकरण गर्ने तत्व र पोषण मिसिएको बहुगुणी अमृतकै रूपमा लिइन्छ ।


आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा ब्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।

भगवान् श्रीकृष्णले एक दिन साधारण साधुको भेषमा बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा मन्दिरहरूमा निःशुल्क गरिब दीन–दुःखीहरूलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्रीकृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीन–दुःखीहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।

हामी संस्कृति र संस्कारमा साँच्चिकै धनी छौँ । खिर खान कुनै कार्य या उपलक्ष्य नै कुर्नपर्छ भन्ने पनि छैन । यद्यपि श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । अर्थात् श्रावणको मध्यबिन्दु खिरका लागि प्रचलित छ ।

रोपाई सकिन आँट्यो या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैँयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस प्रशस्त हुन्छन् । जुन लैनो गाई तथा भैंसीहरूले अत्यन्त मन पराउने गर्छन्, जसका कारण प्रशस्त दूध पनि दिन्छन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।

अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दूधको ब्यापक बिक्री हुन्छ नेपालमा । बिहानैदेखि दूध पसलहरूमा भीडभाड हुने गर्छ । आफ्ना लागि खिरको जोहो गर्न नभुलौ है । ल है, शहरतिर हो भने त डेरीमा अरू दिन ३–४ बजे सक्किने दूध बिहान ९ नबज्दै सक्किएला । ढिलो हुँदा नपाइएला नि !

लगभग रोपाईँ सकिसकेको अवस्थामा छ यसपाली । बालीनाली सप्रियोस् । मानो खाएर मुरी उब्जाउन सकियोस् । असार र साउनको दुःख मंसिरमा प्राप्त हुन्छ, सुख । आनन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खिर जस्तै सेतो स्वच्छ र मीठो विचार हामीमा बनिरहोस् । खिरसँगै शुभकामना !

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस
मानव बेचबिखन एउटा यस्तो अपराध हो, जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरूलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरूमा जबर्जस्ती संलग्न गराउँछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।

मानव बेचबिखनको प्रवृत्ति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसार–पसार मानिन्छ ।

सन् २०२१ मा यस दिवसको नारा चाहिँ 'Victims Voices Lead the Way' हो । ‘पीडितहरूका आवाजले बाटो देखाउनेछ’ भन्ने ध्येयका साथ आगामी वर्षहरूमा आवाज र मुद्दा दुवैलाई सम्बोधन गरिएको छ ।

संसार आधुनिकीकरणको युगमा छ । तर पनि अझ नेपालसहित विश्वका धेरै देशहरूमा मानव बेचबिखन तथा ओसार–पसार निक्कै गम्भीर समस्याका रूपमा पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका छन् । हरेक वर्षझैँ आज पनि ३० जुलाईको दिन संयुक्त राष्ट्र संघले मानव बेचबिखनसम्बन्धी जनमानसमा सचेतना फैलाउन ‘अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस’ मनाउँदैछ ।

गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहवारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करीका घटना बग्रेल्ती मात्रामा भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक मुलुकको सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीका अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्छ ।

नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयनमा ल्याएको छ । तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरू सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।

कहिले सयौँ नेपाली बालबालिकाका शरीरबाट अंगहरू झिकेर बिक्री गरिएको खबरहरू आउँछन् भने कहिले आकर्षक जागिर लगाइदिने भन्दै भारतको कोठीमा बेचिएका युवतीहरूको खबर । हामी विकास र प्रगतिको प्रयास त गर्दैछौँ, तर यी र यी जस्ता थुप्रै सुन्न नसकिने घटना निर्मूल हुनु नै हाम्रो देशको असल सफलता र असल प्रगति हुनेछ । मानव बेचबिखन जस्ता अपराध अन्त्य गर्न आवाज उठाऊ ।

अन्तर्राष्ट्रिय मित्रता दिवस
सुदामाले कृष्णलाई सोधेँ
कृष्ण, मित्रताको मतलब के हो
कृष्णले बडो गज्जबले उत्तर दिए, हेर सुदामा, जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र ? अर्थात् मतलब या भनौँ स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुन निस्वार्थ हुनु जरुरी छ ।

आज सम्झना गरौँ न, कक्षा–कोठामा सिसा–कलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खाँचोमा भावनाका साथ दिएका÷लिएका मित्रहरूलाई । इँजार या इलास्टिक खुकुलो भएको कट्टु समाँउदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पताल कुर्दासम्मका साथको आज चर्चा गर्न चाह्यौँ । गाँस छाड्नु, तर साथ नछाड्नु भन्ने उखान त्यसै कथिएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरूमा सहृदय र सदभाव भएका मित्रहरूको पाइलाका डोबहरू यादगार रहने गर्छ ।

घरदेखि स्कुलसम्म, बस्तुभाउ चराउनदेखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि देश–विदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैव हुने गर्छ । वास्तवमा संसारले प्रेमलाई झैँ मित्रतालाई पनि आफ्ना साहित्य, कला अनि कथनहरूमा उत्तिकै महत्व दिएको छ । मित्रताबारेमा धेरै चलचित्र, गीत, कथा अनि कविता कथिएका छन् ।

नारायण गोपालले पनि बडो गज्जबले गाएका छन्, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिन्दगीमा ।’

त्यसपछि पनि धेरै गीतहरू मित्रताको भावना अनि मर्म बोकेकै भरमा चर्चित र कालजयी बनेका छन् । दुना र टपरीदेखि माटो र ढुंगासम्मको मित्रताका गाथाहरू अनि फूल र काँडाका पनि मित्रताका गाथाहरू हामीले जानेका र बुझेका छौँ, हैन र ? लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरूदेखि भागेर फिल्म हेर्न गएकाहरूसम्म, लुगा साटासाट गरेका जिग्रीहरूदेखि कपी साटेका पढन्तेहरूसम्म । अनेक रूप र स्वरूपका मित्रहरू हाम्रो बाल्यकाल, बयस्क अनि बुढेसकाल गर्दै जीवनैभरि गाँसिएका हुन्छन् ।

मदर टेरेसाका शब्दमा भन्न चाह्यौं, ‘आफ्ना मित्रलाई सिद्ध हुन भनेर आश नराख, बरु आफ्ना मित्रका कमी–कमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर ।’

यसअर्थमा हामीहरूले मित्र अनि संगतबाट पनि धेरै कुरा सिकेका हुन्छौँ । अर्कातिर सत्य अनि सही मित्र छान्न नसक्दा हुने पथ भ्रमता पनि आफ्नो ठाउँमा छ । सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायित्व पनि त हो ।

साथीहरूसँग खेल्न र बोल्न पाउँदा कैयन ज्वरो, दुखाई, बेथिति अनि उकुस–मुकुस हराउँछन् । कुनै चलचित्र हेरेपछि साथीहरूसँग त्यसबारेमा गरिएका बखान, मनपर्दो कलाकार अनि गायककाबारेमा गरिएको कुराकानी, गुच्चा खेल्दाका घच्ची पिलाउने खाल्डाहरू, जितेका अनि हारेका रबर व्याण्डहरू अनि सँगै कुखुरा बनेका कक्षा कोठा सबैले मित्रताका अनेकन पल अनि परिभाषा छन् ।

बुढा, तरुना, बच्चा लगायत हरेक उमेर समूहका हरेक उमेर समूहसँग मित्रता हुन सक्छ । मित्रता उमेर र वर्ग भन्दा कोशौँ पर छ । हरेक वर्षको अगस्त महिनाको प्रथम आइतबार विश्वभरि मित्रताको महाकुम्भ लाग्ने गर्छ । मित्रता दिवसका रूपमा यस दिनमा सबैले आ–आफ्ना मित्रहरूलाई सन्देश पठाउने, भेट्ने, सम्बन्ध सुधार्ने अनि केही उपहार साटासाट गर्ने चलन छ ।

यही क्रममा मित्रताको हाते धागो अर्थात् ‘फ्रेन्डशिप व्याण्ड’को चलन बहुप्रचलित छ । नेपालमा पनि अनेक प्रकारका कार्यक्रम, भेटघाट र उत्साहका साथ यस दिन मनाइन्छ है । सँगै पढेका, सँगै काम गर्ने, सँगै भएका या नभएका सम्पूर्ण मित्रहरूलाई आफ्नो माया जागृत गर्नुहोस् । मित्रता छ र त संसार यति मिठो छ, हैन र ?

झगडा, बैमनस्यता परेको छ भने मित्रता दिवसमा पानीको भेलले बगाएको फोहोरहरू झैँ सिनित्त बगाएर सकाउनुहोस् । ‘तँ’ भनियोस् या ‘तपाईँ’ भनियोस् या ‘तिमी’ भनियोस् ? साथी भनेको हृदयको एैना हो, यो सम्बन्धलाई सदैव स्वच्छ र खुल्ला राखियोस् ।
राम्रो साथी बन्न र बनाउन लागी परौँ, जय होस् ।

-सयोग ढकाल

No comments