Listen Nepali Songs

Know New

श्री ३ चन्द्रको पानीले भरिएको गाग्री बोेकेर बेलायत यात्रा

 श्री ३ चन्द्रको पानीले भरिएको गाग्री बोेकेर बेलायत यात्रा

जङ्गबहादुर तथा चन्द्रशम्शेर बेलायत भ्रमणमा पुग्ने दुइ राणा प्रधानमन्त्री थिए । दुबैको भ्रमणले एउटा नयाँ आयाम थपेको थियो । बेलायतीहरुका अगाडि नेपाल पनि बिकसित राष्ट्रको आभास दिलाएर आएका थिए । दुबै यात्रामा दुबै प्रधानमन्त्रीले फ्रान्सलाई पनि प्राथमिकतामा राखेको पाउँछौ । जङ्गबहादुरले पनि फ्रान्सका राष्ट्रपति लुइस नेपोलियन बोनापार्टसंग भेटेका थिए । लुइस फ्रान्स क्रान्तीका अगुवा नेपोलियनका भतिजा अर्थात भाइका छोरा थिए ।
यसको ५८ वर्ष बेलायत भ्रमणमा पुगेका भतिजा चन्द्रशम्शेरले पनि फ्रान्सका राष्ट्रपति आर्मंड फेलियरलाई भेटेका थिए । दुइको भेट फ्रान्सेली बन्दरगाहको शहर मार्सिलीमा भेट भएको थियो । श्री ३ चन्द्रको पानीजहाज १९६५ बैशाख २५ को दिन फ्रान्सको बन्दरगाह मार्सिलीमा अडेको थियो जहाँ फ्रान्सका राष्ट्रपति उनलाई भेट्न आएका थिए ।
चन्द्रशम्शेरले पनि आफ्नो बेलायत भ्रमणलाई निजी भ्रमण भनिए पनि बेलायत सरकारको विशेष निमन्त्रणा तथा सम्पूर्ण खर्च बेलायती सरकारले नै बहन गरिएको थियो । नेपाल एक स्वतन्त्र स्वाधिन राष्ट्रको प्रतिनिधीको रुपमा बेलायत भ्रमण गर्न लागेको हुँदा आफ्नो सत्कार तथा अन्य प्रबन्ध स्वतन्त्र राज्य प्रमुखको सरह मिलाउन भनेका थिए । साथै छलफलका मुख्य एजेन्डाहरु नेपालमा नै तय गरिएको थियो ।
घोडेजात्राको केही दिनमा १९६४ चैत्र २५ मा काठमाडौबाट निस्केका चन्द्रशम्शेर १९६५ बैशाख २७ मा बेलायत पुगेका थिए । उनको टोलीमा परिवारका सदस्य तथा उच्च पदस्थहरु २२ जना थिए भने १९ जना नौकरचाकरहरु पनि थिए । भाइ जुद्धशम्शेर भतिजा रुद्रशम्शेर, छोराहरु मोहनशम्शेर, बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर थिए । सुब्बा गोविन्दप्रसाद ढुङ्गाना, डाक्टर रत्नदास वैद्य, पण्डित काशीनाथ आचार्य दीक्षित, प्रिन्सिपल वटुकृष्ण मैत्र, भान्छे बाहुनहरू हरिप्रसाद उपाध्याय, गौरीकान्त उपाध्याय, कमलाकान्त उपाध्याय, श्रीकान्त उपाध्याय लगायत र नोकरचाकरको रुपमा फोटोग्राफर दीर्घमान तथा जोगमान र अन्यमा जीतमान, जयमान सिंह, धनकृष्ण, रत्नबहादुर, हरिशरण, कालु, हर्कनरसिंह, जनकलाल साथै निजी सचिवको रुपमा सरदार मरिचमान सिंहलाई पनि लगेका थिए ।
जङ्गबहादुर र चन्द्रशम्शेरको बेलायत भ्रमणमा अर्को एक समानता थियो । दुबैले गाईखाने बिदेशीले छोएको पानी खान हुन्न भन्दै गाग्रीमा पानी पनि लगेका थिए । खाना पकाउने भान्सेहरु पनि यतैबाट लगेका थिए । जब चन्द्रशम्शरे तथा वहाँको साथ पुगेका टोली पानीजहाजमा मार्सिली पुगे । मार्सिलीमा पानीजहाजबाट सामान सबै निकालेर फेरी कालाइसको लागी रेलमा जानु थियो । त्यसपछि फेरी बेलायतको डोभर पुग्नु थियो ।
यहाँ राखिएको तस्विर फ्रान्सको बन्दरगाह मार्सिलीको हो । मार्सिलीमा चन्द्रशम्शेरका सामानहरु पानी जहाजबाट निकाल्दै गर्दा पानीले भरिएका गाग्रीहरु निकाल्दै गर्दा फ्रान्सेलीहरु दङ्ग परेर हेरिरहेको देख्न सकिन्छ । साथमा अन्य नेपाली कामदारहरु सामान निकाल्दै गरेको पनि तस्विरमा देख्न सकिन्छ ।
तस्विर - फ्रान्स नेपाल दौत्य सम्बन्धको ७०औ वर्ष पुस्तकबाट



No comments