कुन पालिकामा के भए ? के गरिए ? कहाँ कसले के गरे ?
१) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, रकम सहयोग गर्नेहरू बढ्दै ।
२) सुनसरीको कोसी गाउँपालिकाले मलाहा समुदायलाई माछा मारेर जीविकोपार्जन गर्न जाल वितरण गर्यो, पालिकाले जाल दिएपछि मलाहा समुदाय दंग ।
३) गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई दिए बधाई, भेटका क्रममा जनप्रतिनिधिले स्थानीय सरकारसँग सम्बन्धित विविध सवालमा मन्त्री शर्मालाई ध्यानार्षण गराए ।
४) एसइईको नतिजा अगावै विद्यालयले भर्ना लिन थालेपछि चितवनको भरतपुर महानगरले विद्यालयमा अनुगमन गर्यो, नतिजापूर्व भर्ना लिएमा महानगरले विद्यालयलाई कारबाही गर्ने ।
५) उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ मा नवनिर्मित प्रसूति सेवा भवनको नगरप्रमुख बलदेव चौधरीले गरे उद्घाटन, जनतासँग मेयर कार्यक्रमअन्तर्गत ३३ लाख रुपैयाँमा भवन निर्माण ।
६) अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको चामे झोलुंगे पुल बगायो, स्थानीयलाई आवतजावतमा कठिनाइ ।
७) कोरोना संक्रमण नियन्त्रण गर्न झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल, पालिकाले कोरोना परीक्षणको दायरा बढायो ।
८) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलन गर्न सुरु गर्यो, नगरबासीले अब घरबाटै कर तिर्न सक्ने ।
९) उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा सञ्चालित ककनी खानेपानी योजना निर्माण सम्पन्न, ८४ घरधुरी परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने ।
१०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।
११) बालीनाली नष्ट गरेपछि बाँदर नियन्त्रणका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ मा बाँदर धपाऔँ अभियान सुरु, वडाले हरेक घरधुरीलाई कुकुर लिएर आउन अनुरोध गर्यो ।
१२) कैलालीको घोडाघोडी नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न, बैठकले गर्यो विभिन्न महत्वपूर्ण निर्णय ।
१३) कञ्चनपुरको भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा प्रसूति सेवा केन्द्र सञ्चालन, नगरप्रमुख सुरेन्द्र विष्टले गरे केन्द्रको उद्घाटन ।
१४) खहरे खोलाको निकास नहुँदा उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ का अधिकांश बस्ती डुबानमा, निर्माणको चरणमा रहेको रामपुर आम्बासी सडकमा समेत क्षति ।
१५) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले टोलटोलमा मेयर कार्यक्रमअन्तर्गत वडा नम्बर ६ का स्थानीयसँग विकास निर्माणबारे छलफल गर्यो, वडामा नयाँ योजना थप गर्न स्थानीयको माग ।
No comments