Listen Nepali Songs

Know New

 यो तस्बिर बि.पी. कोईराला प्रधानमन्त्री हुँदाको बखतको हो।

📷️📷️
सन् १९५९ को अक्टोबर महिनाको अन्तिम दिनको हुनुपर्छ। २००७ सालको क्रान्तिका नायक, राणा शासनको अन्त्यपछि निर्वाचन नहुँदा सम्मको ८ बर्षको अवधि सम्म जनमानसमा व्यापक लोकप्रियताका बाबजुद समेत प्रधानमन्त्री हुन नपाएका र मुलुकमा सम्पन्न पहिलो आमनिर्वाचनबाट अभूतपूर्व बहुमत हासिल गरि प्रधानमन्त्री बनेका बि.पी. कोईराला प्रती त्यतिबेला अन्तर्राष्ट्रिय स्तरबाट समेत निकै चासो थियो। काठमाण्डौंबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसिएटेड प्रेस (ए.पी.) ले यो तस्बिर सहित संवाददाता हेनरी एस. ब्राडशेरले तयार गरेको समाचार सम्प्रेषण गरेको थियो। ०१-नोभेम्बर-१९५९ का दिन उक्त एजेन्सी मार्फत खबर छाप्ने संसारभरका अखबारहरुले पहिलोपटक यस तस्बिर सहित समाचार प्रकाशित गरेका थिए। ती मध्येका केहीका समाचार शीर्षकहरु यस्ता थिए। ''From Feudal Monarchy to Modern Democracy' , 'Premier of Nepal Tries to Transformed Feudal Monarchy' , 'One Man Handles Nepal attempt to Modern States'।
यो तस्बिर प्रधानमन्त्रीको आवास अंझ उनको शयनकक्षमा रहेको उनको आफ्नै विस्ताराको हो। ४४ बर्षिय उर्जावान युवा प्रधानमन्त्री कोईराला विस्तारामा नै बसेर चिया नास्ता लिँदै मन्त्रीपरिषदका केही कागजातहरु राखेर त्यसमा केही काम गरिरहेको जस्तो देखिन्छ। घाँटीमा सेतै मफलर , जिउमा सेतो कमिज र सेतै शुरुवाल सहित अति साधारण किसिमको नेपाली मौलिक पहिरन लगाएका प्रधानमन्त्री कोईरालाको तस्बिर हेर्दा कुनै अस्पतालका युवा प्रशिक्षार्थी जस्तो देखिन् भन्ने समाचार टिप्पणी थियो।
प्रजातन्त्रका लागि आजीवन संघर्ष गरेका प्रजातान्त्रिक योद्धा कोईराला सादगी जीवनका पर्याय थिए। प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ उनले प्रधानमन्त्रीको मासिक तलब २५०० रुपैयाँबाट घटाएर १५०० रुपैयाँ बनाएका थिए। माथीको उनको तस्बिरमा त्यतिबेलाका मुलुकका कार्यकारी प्रधानमन्त्रीको अत्यन्तै सादगी जीवनशैली देखिन्छ। उनको सरकारले आर्थिक मितब्ययिता व्यबहारमा नै अपनाएको थियो। राजाले सत्ता हातमा लिँदा भ्रष्टाचारको आरोप लगाए पनि पछि उनले त्यसको छानवीन गर्ने मुद्दा दायर गर्ने नगरेकाले त्यो फगत राजनीतिक आरोप मात्र थियो भन्ने देखिन्छ। आजको दिनमा स्थानीयतह देखि केन्द्रियतह सम्म सबैभन्दा अभाव देखिने नै यही साधारण जीवनशैलीको हो। यहाँ अचेल सर्वत्र असाध्यै विलासीता र तडकभडक देखिन्छ। आर्थिक मितब्यिता भन्ने शब्द त नेपाली राजनीतिको शब्दकोष बाट नै हराइसकेको छ।
उक्त समाचारमा उनको राजनीतिक जीवन यात्राको समेत चर्चा थियो। त्यसबाहेक समाचारको अन्य सार भने यस्तो थियो।
"नेपाललाई सामन्ती राजतन्त्र देखि आधुनिक प्रजातान्त्र तर्फ बदल्नका लागि एक ब्यक्तिलाई जिम्मेवारी सुम्पिएको छ। उनी हुन प्रथम जननिर्वाचित लोकप्रिय प्रधानमन्त्री बि.पी. कोईराला।
कोईराला भन्छन् 'बिदेशीहरुले हाम्रो नेपालका बारेमा जे जस्तो रोमान्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदैछ किनकी हामीले एउटा नयाँ समाजको निर्माण गरिरहेका छौँ। जसरी आर्थिक प्रगती हुनेछ त्यो संग तिमीहरुले सोंच्ने गरेको छवि धेरै हद सम्म हट्नेछ। हामीले अहिले सम्म प्रजातान्त्रिक संरचनाको विकास गर्न सकेका छैनौं।'
राजा महेन्द्रले प्रजातान्त्रिक संविधान र आम निर्वाचन मार्फत शुरु गरेको प्रजातान्त्रिक प्रणालीलाई अगाडी बढाउनका लागि प्रधानमन्त्री कोईरालाले काम गरिरहेका छन्। संसदमा कोईरालाको बलियो उपस्थिति छ र उनको दलमात्र मुलुकभर संगठन विस्तार भएको राष्ट्रिय संगठन हो। यिनले आर्थिक सामन्तवादको अन्त्य गरेर निम्नस्तरको जीवनस्तरलाई माथी उठाउने प्रयास गरेका छन्। चीन र भारतको बीचमा रहेको नेपालले असंलग्न नीति अपनाएर अन्तर्राष्ट्रिय मामिलामा आफुलाई उभ्याउने कोसिस गरिरहेको छ।
एकजना बिदेशी पर्यवेक्षकका अनुसार अहिले सम्म त सबै प्रक्रिया राम्रोसंग अगाडी बढिरहेको छ। पछिल्लो निर्वाचन मार्फत घटिरहेको आफ्नो शक्तिलाई राजाले कहिले सम्म र कति चाँडो स्वीकार गर्न सक्छन् त भन्ने मात्रै मुख्य प्रश्न हो?"
ती बिदेशी पर्यवेक्षकले प्रश्न तेर्साए बमोजिम निर्वाचन मार्फत बनेको सदन र सरकारका कारण आफ्नो घटिरहेको शक्तिलाई राजाले धेरै पर सम्म स्वीकार गर्न सकेनन्। १८ महिनामा नै सेनाको मद्धतमा संसद र सरकार भंग गर्दै सम्पूर्ण शक्ति आफ्नो हातमा लिए। संसदका सदस्य , सभामुख सहित नेपालमा रहेका मन्त्रीपरिषदका सबै सदस्यलाई राजाले जेलमा कोचे। आफूलाई सघाउने र आफ्नो कदमको पक्षमा उभिनेलाई रिहा गरे। केहीलाई आफ्नै नेतृत्वमा गठित मन्त्रीमण्डलमा सहभागी गराए भने बाँकीलाई लामै समय जेलमा राखे। उनी संवैधानिक राजा भएर बस्न चाहेनन्। कार्यकारी प्रमुख आफै भएर शासन गर्ने महत्वाकांक्षा उनमा बढ्दै गयो। सरकार लोकप्रिय भयो भने भोलि कतै आफ्नै अस्तित्व खतरामा पर्ने त होइन भन्ने अत्यन्तै छोटो सोंच राखे र मुलुकलाई अर्कै बाटोमा अगाडी बढाए।
सम्पुर्ण साभार ।



No comments