Listen Nepali Songs

Know New

तोरी फुल्या गाउँ, ज्वाईं मेरो नाउँ

तोरी फुल्या गाउँ, ज्वाईं मेरो नाउँ

एकादेशको एउटा गाँउमा ‘जसे’ नाम गरेको एउटा एकदम छट्टु मान्छे थियो । आफ्नो घर चलाउन सार्‍है कठिन भएपछि उसलाई सार्‍है खेद लाग्यो र उसले विचार गर्‍यो- “यो संसारमा सोझो भएर काम चल्दैन । केही बठ्याईं नगरे अब त भोकै मरिन्छ क्यारे ।” यस्तो सोचेर ऊ भोलिपल्टै घरबाट निस्कियो ।

जाँदा जाँदा बाटोमा उसले कमेरो (सेतो माटो) भेट्‍यो र त्यो माटो महँगो भाउमा बेच्ने सुरले चारमाना जति लिएर अगाडि बढ्‍यो । जाँदै गर्दा चार कोस जति हिंडेपछि उसले खेतमा गोरु जोतिरहेको एउटा मानिसलाई भेट्‍यो । हलोमा एउटा गोरु सेतो र अर्को कैलो थियो ।
उसले हलो जोत्‍ने किसानलाई भन्यो- “ओहो दाजु, यस्तो बेरंगा गोरु जोतेर के तमाशा गर्नु भएको ?”
किसानले भन्यो- “यसपाली यस्तै भो, अर्को साल कैलो गोरु बेची सेतो किन्‍नु पर्ला ।”
जसेले दाउ फ्याल्दै भन्यो- “ल, जम्मा एक मोहर खर्च लाग्छ । कैलो गोरुलाई सेतो पारिदिऊँ ?”
किसानले एकछिन गम खायो र घत मान्दै भन्यो- “लौ, हुन्छ त ।”
जसेले कमेरो घोलेर गोरुको जीउ रंगाईदियो । टाढाबाट हेर्दा गोरु सेतो देखियो । घिउलाटो किसान दंग पर्‍यो ।
किसानले भन्यो- “यहाँ त मसँग पैसा छैन । यति खेत जोतिसकूँ, अनि घरबाट ल्याएर दिउँला ।”
जसेले भन्यो- “ओहो, आफूलाई बेर भईराछ, कहाँ हुन्छ ?”
किसानले भन्यो- “लौ, त्यसो भए यसो गर, उ त्यो डाँडा छेउको घर मेरो हो । त्यहाँ गएर मेरी जहानसँग एक मोहर मागेर लैजाऊ । म यहाँबाट ‘दिनू’ भनिदिउँला ।”
जसे “हुन्छ” भनेर किसाननी कहाँ गयो र किसाननीलाई भन्यो- “भाउज्यू, दाईले गोरु किन्‍नु भो, 60 रुपियाँ दिनुपर्‍यो । सोध्नुस त ।”
किसाननीले त्यहींबाट हलोका गोरु हेरी, दुबै सेता ! सोधी- “होइन, यिनी पैसा माग्दैछन् । के गर्ने हो ?”
किसानले सबै कुरा सुनेन । सोझै भन्यो- “दे, दे ।”
किसाननीले जसेलाई 60 रुपियाँ गनेर दिई । पैसा हात पर्नासाथ छट्‍टु जसे त्यहाँबाट सुईंकुच्चा ठोकिहाल्यो ।

ऊता किसान खेत जोती वरी बेलुका घर फर्क्यो । किसाननीले गोरुलाई सेतो रंगको देख्दा सोधी- “हैन, किन यो गोरु सेतो देखिन्छ नि ?”
किसानले भन्यो- “रंगाएको गोरु कस्तो हुन्थ्यो त ? एक मोहरले गोरु रंगाएँ ! दुनियाँले भन्‍ने बाटो पनि भएन । अर्को सालचाहिँ गोरु किन्‍नै पर्ला ।”
लोग्नेको कुरा सुनेर स्वास्नीले जिल्ल पर्दै भनिन्- “हैन, के भन्‍नु हुन्छ ? दिउँसो मात्र 60 रुपियाँमा गोरु किन्‍नु भएको हैन ? त्यो पनि यस्तो अनुहार नपरेको, फेरि अर्को के गोरु किन्‍ने ?”
लोग्ने स्वास्नीका कुराले जिल्ल पर्‍यो, स्वास्नी लोग्नेका कुराले ।

यता किसानको डरले जसे रातारात जंगलको बाटो कुलेलम ठोक्दैथियो । जसेको गोडाले भालुलाई लाग्यो, भालु जर्‍याकमर्‍याक उठ्‍यो र जसेसँग कुस्ताकुस्ती पर्‍यो ।जसेले मौका पर्नासाथ भालुको कन्पारो समात्यो । भालुको केही जोर चलेन, तर जसे पनि थाकेर लखतरान भइसकेको थियो । लुगा धुजाधुजा भएको र कम्मरको पैसा राखेको थैलो खसेर रुपियाँ पनि छरियो ।
त्यै बेलामा पल्लो गाउँको मुखिया घोडा चढेर कसिकसाउ भएर कचहरीमा जान त्यै बाटो आइपुग्यो । त्यतिन्जेल राम्रै उज्यालो भइसकेको थियो । मुखियाले कुस्ती देखेर सोधे- “हैन, के हो यो, यस्तो ?”
छट्‍टु जसेले फेरि दाउ हाल्दै भन्यो- “मुखियासाहेब, हजूरको घोडा यहाँ नजीक नल्याउनुहोला । डराएर मेरो भालुले रुपियाँ छेर्न छोड्ला । बाटोमा मेरो मान्छे भेटिए ‘चाँडै जाओ’ भन्दिनुहोला । हजूरलाई 25 रु. भयो । भूईंबाट टिपेर लानुहोस् ।”
जसेको कुराले छक्‍क पर्दै मुखियाले भन्यो- “खुलासा भन न । मैले कुरा बुझिनँ ।”
जसेले भन्यो- “उसो भए सित्तैमा मुखिया हुनुभएछ । कुरा साफै छ । आज चार वर्षदेखि यो रुपियाँ छेर्ने भालुलाई समात्‍ने बन्दोबस्त गर्दै थिएँ । बल्ल बल्ल आज राती भेट्टाएँ तर त्यो बेला मेरो साथमा बालक छोरो मात्र थियो, मैले मौका पर्नासाथ भालुलाई पक्री गाउँबाट मानिस बोलाउन दौडाएँ । तर अझ आइपुगेनन् । म भने थाकिसकें ।”
मुखियाले भने- “अद्‍भुत भालु रहेछ । नपत्याउँ भने पनि सारा ठाउँमा रुपियाँ छेरिराखेको छ । तिमी पनि थाकिसकेका रहेछौ । मलाई पनि छोराको बिहे गर्न खर्च चाहिएको छ । तिम्रा मानिस नआउन्जेलसम्म म भालुको कन्पारो समाउँछु । छेरेको रुपियाँमा आधा तिम्रो आधा मेरो ।”
जसेले भन्यो- “बाठो हुनुहुँदोरहेछ, मुखिया साहेब ! मरी मरी गीत गाउँ म, मसला खाने तिम्रा बाउ ! चार वर्षदेखि दौडधुप गरूँ म, एक्‍कैछिन मदद दिंदैमा आधा रुपियाँ लिने तपाईं । पर्दैन, जानुहोस, मेरा मानिस आइहाल्छन् नि अब । थाकेको छु, 10 भागको 1 भागमा मान्‍नुहुन्छ भने घोडा अलिपर बाँधी लँगौटी मात्र लगाई तयार भई आउनुहोस् ।”
मुखियाले पैसा कमाउने असल उपाय देखे । लँगौटी कसी भालुको कन्पारो समाते । जसेलाई छुट्टी मिल्यो । सारा रूपियाँ पोको पारी मुखियाको लुगामा डटेर घोडा चढेर जसेले त्यहाँबाट बाटो ततायो । यो देखेर मुखियाको होश उड्‍यो । मुखियाले नदुखेको कपाल डोरी लगाई लगाई दुखायो । उता भालुले बल लगाउन थाल्यो । मुखियाले सकेनन् । दश-पाँच ठाउँमा चिथोरेर भालु जंगलभित्र पस्यो ।

जसे जाँदा जाँदा एउटा गाउँमा पुग्यो । मध्यान्हको समय थियो । जसेले गाउँको साहूकहाँ गएर भन्यो- “साहुजी, म परदेशी हुँ । तपाईंले म र मेरो घोडाको पेट भर्ने कुनै व्यवस्था मिलाई दिनु भए लागेको खर्च म तिर्नेछु । साहूले हुन्छ भन्यो ।
सबैजना यताउति लागेपछि जसेले 20 रुपियाँ झिकेर घोडाको लिदीमा मिलायो र 5 रुपियाँ उसको मलद्वारमा पनि घुसारिदियो ।
साहूले घोडाको लिदीमा 5 रुपियाँ देखे ! अनि भने- “ओहो परदेशी दाई, तपाईंको घोडाको लिदीमा रुपियाँ कताबाट आयो ?”
जसेले भन्यो- “साहूजी, यो मेरो अचम्मको घोडा हो । यसले दिनकै 25 रुपियाँ हग्छ । हेर्नुस् त, 20 रुपियाँ हगिसक्यो । 5 रुपियाँ अझ हग्न बाँकी छ ।”
नभन्दै त्यै बेलामा घोडाले अघि घुसारेको 5 रुपियाँ हगिदियो । यस्तो चमत्कार देखेर साहु दंग पर्‍यो । साहुलाई लोभ जाग्यो र उसले भन्यो- “परदेशी दाई, यस्तो रुपियाँ हग्ने घोडा लिएर परदेश गर्नु ठीक छैन । यो मलाई दिनुहोस् । परेको दाम म तिर्छु, घरसम्म जान म मेरो घोडा पनि दिन्छु । यो घोडा मलाई चिनो छोड्नुहोस् ।”
जसेले भन्यो- “बल्ल बल्ल मैले यो 5 हजारमा किनेको हुँ । मेरो परेको दाम र तपाईंको घोडा दिनुहोस् त । यो रुपियाँ हग्ने घोडा तपाईंको भयो ल ।”
साहू मक्ख पर्‍यो र उसले जसेलाई 5 हजार रुपियाँ र आफ्नो घोडा दियो र मुखियाको घोडा उसले लियो ।

जसेले साहूलाई पनि मुखियालाई जस्तै उल्लु बनायो र त्यहाँबाट पनि टाप कस्यो । जाँदा जाँदा जसे एउटा नदी किनारमा पुग्यो । त्यहाँ एउटी बूढी आईमाई र उसकी तरुनी छोरी बजार जान नदी तर्न नसकी बसिरहेका थिए ।
जसेलाई देखेर बुढीले सोधिन्- “कहाँ जान लागेका हौ बाबु ? कुन गाउँका हौ ? हामीलाई नदी पारि पुर्‍याईदिन्छौ की ?”
अब जसेले ठूलै दाउ हान्‍ने विचार गर्‍यो र भन्यो- “ज्योतिषीले मेरा नाउँ अनौठै राखेका छन् । ‘ज्वाईं’ मेरो नाउँ, ‘तोरी फुल्या गाउँ’ हो । मेरो घोडा थाकेको छ । एकैचोटि यसले तीन जना तार्न सक्दैन । पहिले यी नानीलाई पारि पुर्‍याउँला, अनि तपाईंलाई लिन आउँला त ।”
बूढीले विश्‍वास गरी र हुन्छ भनी । जसेले बूढीकी छोरीलाई घोडामा बसाल्यो र नदीपारि पुग्यो । यता बूढी ‘ज्वाईं’ फर्केर आउला र आफूलाई पनि नदी तारि देला भनेर धेरै बेरसम्म कुरेर बस्यो तर छट्टु ‘ज्वाईं’ बेपत्ता भइसकेको थियो ।
धेरैबेर भएपछि बल्ल बूढीको चेत खुल्यो र अलाप विलाप गरेर रुन थाली । बाटो हिड्ने मानिसहरुले बूढीलाई रुनुको कारण सोधे । बूढीले भन्‍न थाली- “ज्वाईं राँडाका छोराले मेरी छोरी लिएर गयो । कुनै धर्मात्मा भए मेरी छोरी फर्काईदेऊ ।”
मानिसहरूले बूढीलाई सम्झाए- “तिमी त कस्ती, छोरी त ज्वाईंलाई नै दिएकी हौ त । अनि ज्वाईंले छोरी लग्यो त किन रुनु ?”

यसरी छट्‍टु जसेले धन पनि कमायो, स्वास्नी पनि पायो ।

 


No comments