लोभको साँध (नेपाली लोक दन्त्य कथा)
लोभको साँध (नेपाली लोक दन्त्य कथा)
एकादेशमा एउटा गाउँमा ९० वर्ष काटिसकेका दुई बूढाबूढी थिए। उनीहरू
सार्है गरीब थिए। एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो- “हेर बूढी !
मलाई सार्है सेल खान मन लाग्यो। तँ गाउँमा गएर चामल मागेर लेरा। म बजारमा गएर तेल
मागेर ल्याउँछु। अनि हामी सेल पकाएर खाउँला।” यति भनी बूढीलाई उसले चामल माग्न
पठायो र आफू तेल माग्न बजारतिर गयो।
दुबैले अलि-अलि तेल र चामल मागेर ल्याए। सेल खान पाइने भयो भनेर
बूढीले खुब खुशी हुँदै सेल पकाउन थाली। जम्मा पाँच वटा सेल पाकेछ।
त्यसपछि बूढोले भन्यो-“हेर बूढी तैंले मलाई मान्नैपर्छ। तँ दुइटा
सेल खा, मचाहिं तीन वटा खान्छु।”
यस्तो गर्दागर्दै दुई बूढाबूढीको झगडा भयो। सेल दुबैले खान सकेनन्।
सेल सेलाउँदै गयो। कसले कति खाने भन्ने कुरो नटुङ्गिएकोले बूढाले बूढी सँधै बिहान
चाँडै उठ्ने भएकोले एउटा जुक्ति सोचेर बूढीलाई भन्यो- हेर बुढी ! त्यसो भए म एउटा
कुरा भन्छु सुन्। यो सेल सन्दूकमा राखेर हामी दुबैजना सुतौं। चाँडो उठ्नेले दुई
वटा सेल खाने, ढिलो उठ्नेले तीन वटा खाने है त? बूढीले पनि हुन्छ भनी। त्यसपछि सेल
सन्दुकमा राखेर बूढाबुढी सुते।
भोलिपल्ट बिहान दुबै बिउँझिन त बिउँझे तर उठूँ भने दुई वटा सेलको
फेला पर्ने भएकोले पहिले ऊ उठ्ला र दुइटा सेल उसले खाला अनि म तीन वटा खान्छु
भन्ने सोच्दासोच्दै तीन दिन तीन रात बितेपछि पनि दुइमध्ये कोही पनि उठेनन्।
गाउँले छिमेकीहरूले बूढाबूढीको दैलो नखुलेकोले बूढाबूढी मरेछन् कि
क्या हो भन्ने सोचेर दैलो खोली भित्र पसेर हेरे। दुबै बूढाबूढी मरेजस्तो भएर
सुतिरहेका थिए । गाउलेहरूले बूढाबूढी मरेछन् भन्ठानी दुबैलाई एकै टाँडमा बाँधी
पाँच जना मलामी भई मसानमा पुर्याए। अनि चिता बनाई चितामाथि ती बूढाबूढीलाई सुताई
छ्वालीको राँको बालेर पहिले बूढाको शिरमा राँको लगाए।
बूढालाई राँकोले सार्है पोल्यो। अनि ऊ “आत्थु बाबा…… म दुइटा
खान्छु, तैं बूढी तीन वटा घिच्।” भन्दै जुरुक्क उठ्यो। बूढो उठेको देखी
बूढी पनि हाँस्दै ‘म तीन वटा खान्छु’ भन्दै जुरमुराउँदै उठी।
पोल्न लागेका मुर्दाहरू यसरी दुई वटा खान्छु र ती वटा खान्छु भन्दै
जुर्मुराउँदै उठेको देखेर अब हामी पाँचै जनालाई मसानमा मुर्दाले खाने भए भनी पाँचै
जना मलामीहरूले त्यहाँबाट सुँइकुच्चा पो ठोके।
No comments