Listen Nepali Songs

Know New

पार्चेको बाबियाको पूल

पुलको इतिहासलाई कोट्याएर हेर्यौ भने शुरुमा खोलामा कुनै वस्तु वा सामग्रीको सहयोगले आरपार गर्न बनाइनेलाई पुल भनिन्छ । पुल शब्दको अर्थ घाँसको गुजुल्टो हो । बाबियाको गुजुल्टो पारेर बनाइएको डोरोले आरपार गर्न जोडिने हुँदा पुल भन्न थालियो । यसरी बाबियाबाट बन्ने पुललाई बाबियातरो पनि भन्ने गरिन्छ । बाबियातरो नबनाइएका स्थानमा बाबियाको डोरोमा झुण्डिएर पनि खोला तर्नुपर्ने हुन्थ्यो । यसरी खोला तर्दा डोरी चुँडिएर मृत्यु हुने घटना धेरै हुन्थ्यो । तर बाबियाको पुल भने धेरै सुरक्षित हुने गर्दथ्यो । यसरी बाबियाको डोरी बाँधेर बनाइने पुल नै पुलको प्रारम्भिक स्वरुप हो । यसरी बनाइने पुलको तल्लो भाग जहाँ हिड्नको लागी पाइला टेक्ने ठाँउमा भने बाँस राखिएको हुन्थ्यो ।

झोलुङ्गे पुलको इतिहासमा भने सधै बागलुङको नाम आउने गर्दछ । भनिन्छ सबैभन्दा पहिले झोलुङ्गे पुल बागलुङमा नै बनेको थियो । बिसं १८४४ मा गल्कोटे राजा जगत मल्लको समय गोरखा राज्यको पश्चिम विजय अभियानले गल्कोट राज्य पनि गोरखा राज्यमा गाभियो । यसरी राज्यच्यूत भएका गलकोटे राजा जगत मल्लका नाति पृथ्वीवम मल्लले गलकोट नजिकै दरमखोलामा बिसं १९०० को आसपासमा कलकत्ताबाट किनेर ल्याएको फलामे साङ्लोबाट झोलुङ्गे पुल बनाएको भन्ने उल्लेख गरेको पाइन्छ । पछि पृथ्वीवम मल्ललाई जङ्गबहादुरले भोट युद्ध तथा लखनउ बिद्रोहमा सैनिक सहयोग गरे बापत बिसं १९२४ मा गल्कोटका राजाको रुपमा पून राज्य दिएका थिए ।
दरमखोलामा बनाइएको झोलुङ्गे पुल फलामे साङ्लो छोटो भएको हुँदा खासै टिकेन । तर यसले एउटा शिक्षा दियो, पछि बेनी टक्सारबाट फलाम निकालेर त्यहीका स्थानिय कामीहरुले लामा लामा फलामे साङ्लाहरु बनाएर झोलुङ्गे पुलको शुरुवात गरे । यसरी झोलुङ्गे पुलको स्वरुपमा परिवर्तन आयो । साथै टिकाउ र मजबुत पनि हुन थाल्यो । यसरी स्थानिय कामीहरुबाट नै बनाइएका फलामे साङ्लो तथा अन्य सामग्रीबाट बनाइने प्रबिधीलाई नै बागलुङे प्रबिधी भनेर विश्वमा छुट्टै पहिचान बनाएको थियो ।
तर जहाँ फलामका खानी नजिकै थिएनन् वा स्थानिय कामीहरुले यसरी साङ्लो बनाउन सकेनन् त्यहाँ भने बाबियाको डोरोबाट नै पुल बनाइन्थ्यो । बाबियाको डोरो गुँथेर बनाइएका पुलहरु पनि बलिया नै हुन्थे । तर धेरै वर्ष टिकाउ भने हुदैनथे । बाबियाको पुलमा दुइ वटा लामा लामा बलिया बाबियाको डोरोलाई खोलाको दुइ छेउमा बलिया खाँबा गाडेर बाधिन्थ्यो । ति दुइ डोरीमा बाबियाकै डोरीहरु बाँधेर झुण्ड्याइन्थ्यो । जसको तल बाँस राखेर हिड्न सहज बनाइन्थ्यो । साथै बिच बिचमा दुइ लामा डोरीलाई फराकिलो बनाउन रुखका हाँगा बाँधिन्थ्यो । जसले गर्दा दुइ डोरी एक आपसमा जोडिदैनथे । यसरी बनाइने पुलहरु २-३ वर्षातमा मात्र झेल्दथ्यो ।
यहाँ तस्विरमा कास्की जिल्लाको सिक्लेस नजिकै मादी नदी माथिको यो पुल बाबियाको डोरीले बनाएको छ । गुरुङहरुको बलियो बस्ती रहेको पार्चेमा रहेको यो पुल हेर्दा गुरुङहरुको मेहनत स्पष्ट देख्न सकिन्छ । अहिले पनि सिक्लेसमा मिलेर बसेको गुरुङहरुको बस्ती देख्दा रहर लागेर आँउछ । पर्यटनमा पूर्णरुपमा निर्भर यो गाँउमा नपुग्ने बिरलै भेटिन्छ । केही वर्ष देखी सिक्लेसमा पनि कंक्रिटका संरचनाको प्रवेशले भने यसको सुनौलो भविष्य भने देखाउँदैन ।




No comments