Listen Nepali Songs

Know New

त्रिशुलीको घिर्लिङ

दैनिक जीवनयापनको क्रममा खोलानाला तर्नुपर्ने आमजीवनको बाध्यता हो । घाँस दाउराको लागि होस वा अन्य कामको लागि होस गाउँघरमा खोलानाला तर्नुपर्ने हुन्छ । जसको लागि गाउँलेहरु मिलेर बाँसका फड्के वा साधारण पुलहरु बनाउने गर्दथे । यसकै बिकास क्रममा झोलुङ्गे पुलहरु बन्न थाले । बिसं १९६३ तिर राणा प्रधानमन्त्री चन्द्रशम्शेरले देशका बिभिन्न ठाउँमा स्कटल्याण्डबाट सामग्री ल्याएर थुप्रै झोलुङ्गे पुलहरु बनाउन लगाएका थिए । यहि झोलुङ्गे पुलहरुको सिखो गर्दै गाउँघरमा स्थानिय सामग्रीहरुबाट झोलुङ्गे पुलहरु बनाउन थाले । बिसं १९७९ मा तिनै चन्द्रशम्शेरको समयमा ढोरसिंगबाट मातातिर्थ सम्म रोपवेको तैयारी हुँदै गर्दा चन्द्रशम्शेरले भवनहरु बनाउन आबश्यक पर्ने ढुङ्गाहरु बोक्नको लागि काठमाडौ उपत्यका भित्र हल्चोकमा रहेको खानीबाट लैनचौरसम्म करिव ४ किमी लामो रोपवे बनाएका थिए । स्वयम्भूनाथ रोपवे नाम दिइएको यो रोपवे नेपालको इतिहासको पहिलो रोपवे मानिन्छ ।

यसरी बनेका रोपवे सामान बोक्ने सक्ने भएपछि खोलानालामा मानिसहरु पनि आवतजावत गर्न सकिने आकलन गरेर खोलानालामा साधारण रोपवे बनाउन थाले । घिर्नीको प्रयोग गरेर बनाइने हुँदा स्थानिय भाषामा घिर्नी वा घिर्लिङ भनिन्थ्यो भने यसैको परिवर्तित रुपलाई तुइन वा टुइन पनि भन्ने गरिन्छ ।
तुइनमा यात्रा गर्दा वर्षेनी कैयौ ब्यक्तिको मृत्यु भएका समाचारहरुले गर्दा देशबाट सम्पूर्ण तुइन बिस्थापन गर्ने सरकारले घोषणा गरे तापनि पूर्णरुपमा तुइन बिस्थापन हुन सकेको छैन । तुइनलाई बिस्थापन गर्दै पक्की पुल तथा झोलुङ्गे पुल बनाउने भनिए पनि कतिपय ग्रामिण इलाकामा जोखिम युक्त तुइनमा यात्रा गर्न बाध्य छन् ।
यहाँ तस्विरमा देखिएको तुइन भने नुवाकोट त्रिशुली बजार नजिकै त्रिशुली नदी तर्दै गरेको दृश्य हो । एउटै तुइनमा चार महिलाहरु चढेको देखिन्छ । यसरी दुइ भन्दा बढीले तुइनमा यात्रा गर्नु जोखिम पूर्ण हुने गर्दछ । कहिले काँही केवलले भार थेग्न नसक्दा चुडिएर खोलामा खस्ने सम्भावना हुने गर्दछ ।



No comments