Listen Nepali Songs

Know New

सेतो दरबारमा आगलागीः अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगाएको इतिहास

 सेतो दरबारमा आगलागीः अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगाएको थियो ।


३ सय ७५ रोपनी जमिनमा फैलिएको उक्त दरबारको अहिले नामोनिसान छैन् । वि.सं. १९९० को बैशाखमा भएको आगलागी तथा माघमा आएको महाभूकम्पको चपेटामा परेको उक्त दरबारको प्रवेशद्धार हेरेर नै कल्पना गराैं दरबार कति भव्य हुँदो हो...
काठमाडौं उपत्यकाभित्र दर्जनौं ऐतिहासिक दरबार छन् । ती दरबारमध्ये कतिपय भग्नावशेष भैसकेका छन् भने कतिपय संरक्षणविहीन अवस्थामा छन् । विश्वज्योति चलचित्र हलसँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो ।
जमलमा अहिले देखिने भव्य प्रवेशद्वार, यो सेतो दरबार पस्ने मुल द्वार थियो ।
उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । ३ सय ७५ रोपनी जमिनमा फैलिएको उक्त दरबारको झिनो अंश अहिले देख्न सकिन्छ जमल क्षेत्रमा । दरबार भएको क्षेत्रमा त्यहाँ अहिले दर्जनौं घर देखिन्छन् । वि.सं. १९४२ मा वीरशमशेरले आफ्ना छोरा गेहेन्द्रशमशेरका लागि उक्त दरबार बनाउन लगाएको इतिहास छ । सेतो दरबार वि.सं. १९९० को बैशाखमा भएको आगलागी तथा माघमा आएको महाभूकम्पको चपेटामा परेको थियो । दरबारको प्रवेशद्धार हेरेर नै कल्पना गराैं दरबार कति भव्य हुँदो हो...
सेतो दरबार
नेपालको श्री ३ महाराज भएपछि वि.सं. १९४२ मा सेतो दरबार अन्य थुप्रै दरबारहरू बनाउन लगाएका थिए जसमा फोहोरा दरबार, चारबुर्जा दरबार, लाल दरबार लगायत थिए ।
वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमसेरले प्रति रोपनी रु. ६० का दरले ३७५ रोपनी जग्गा खरिद गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झालर र बार्दली बार, इटालियन मार्वलको टेबल, बेल्जियमका ऐनाहरु, बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका ८ वटा सेता स्फटिक खम्बा जडान गरिएका थिए । यूरोपबाट मगाइएका यी सामानहरू भारतको सोनपुरसम्म रेलद्वारा र सोनपुरबाट भीमफेदीसम्म गाडा, बग्गी, हात्ति र त्यहाँबाट भरियाद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए ।
सेतो दरबार
वि.सं. १९९० मा आगलागी भएर ध्वस्त हुनुपुर्व यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरू पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे । १९९० साल बैशाखमा नेपालले ठूलो क्षति व्यहोर्यो । तोप हानेर दरबारको पूर्व भाग भत्काइदिएको भए सेतो दरबारका बैठकहरू बच्थे । तर पछिल्तिर श्री ५ महाराजाधिराजको दरबार (नारायणहिटी) भएकाले श्री ३ महाराज जुद्धशमशेरले तोप हान्ने आदेश दिइहाल्ने आँट गरेनन् ।
त्यहाँ आगलागी हुँदा जंगबहादुरले बेलायतमा बनाएर ल्याएका आफ्ना ठूलठूला मुहार चित्रहरू (पेण्टिङ) पनि जलेर खरानी भए । त्यहाँ रहेका अत्तर फुटेर बग्दा त्यसको वासनाले तीनै सहर मगमगाएको थियो भन्ने कथन रहेको छ। त्यही सेतो दरबार आगलागीमा परेपछि जुद्धशमशेरले नेपालमा पहिलोपटक जुद्ध वारुणयन्त्र (दमकल) झिकाएका हुन् । अहिलेपनि काठ उपत्यका भएका दमकलहरू जुद्ध बारूण यन्त्रका नामले चिनिन्छन् ।
आगलागीपछि ध्वस्त भएको यो दरबारको केही भागमा हाल एन.आई.डी.सी. विकास बैङ्कको कार्यालय रहेको छ । जमल–दरबारमार्ग ओहोर–दोहोर गर्दा विश्वज्योति हलको छेउमा देखिने पुरानो द्वार त्यसकै एउटा संरचना हो, जसभित्रको ३७५ रोपनी जमिनमा कुनै बेला कलकत्ताको वेल्भेडियर प्यालेस जस्तै भव्य सेतो दरबार र फोहोरा दरबार थिए ।
चारबुर्जा दरबारमा बाल्यकाल बिताएका इतिहासकार पुरुषोत्तम शमशेर जबरा १९९० बैशाखमा आगलागी र माघमा महाभूकम्पको चपेटामा परेको सेतो दरबारको मूल बैठक कक्षको पुनर्निर्माणमा मात्र ऊबेला रु.१ करोड लाग्ने अनुमान गरिएको सम्झनुहुन्छ ।



No comments