Listen Nepali Songs

Know New

चोभारको चन्द्र पुल Chandra Bridge of Chobhar

स्कटल्याण्डको एबरडीन फलाम तथा फलामबाट बन्ने सामग्रीहरुको लागि निकै प्रख्यात शहर हो । राणा प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेरले नेपालमा झोलुङ्गे पुलहरु बनाउन शुरुवात गर्दा स्कटल्याण्डको एबरडीनसंग नै सम्बन्ध गासेका थिए । सन १९०० को दशकबाट नै नेपालमा झोलुङ्गे पुलहरु बनाउन शुरु भएको देखिन्छ । श्री ३ चन्द्रशम्शेर पुलको नाममा शुरुमा एबरडीनको लुइस हार्पर कम्पनीबाट झोलुङ्गे पुलहरु बनाउन थालेको देखिन्छ । लुइस हार्परले नेपाली इञ्जिनियर कुमार नर्सिङ राणाको नेतृत्वमा सन १९०३ देखि नेपालमा पुलहरु बनाएका थिए । यो कम्पनीले बनाएका पुलहरुमा चोभारमा बागमती नदी माथि रहेको झोलुङ्गे पुल, रामेछापको साँघुटारमा रहेको लिखु खोला माथि रहेको झोलुङ्गे पुल, मंगलटारमा रोशी खोलामा रहेको झोलुङ्गे पुल, धादिङको भर्याङभुरुङमा रहेको थोपल खोलाको झोलुङ्गे पुल, बुटवल पाल्पा बिचमा पर्ने चर्चरेमा तिनाउ खोलामा रहेको झोलुङ्गे पुल, बिदुरमा त्रिशूली नदी माथि बनेको झोलुङ्गे पुल तथा खोकनामा बागमती नदी माथी रहेको झोलुङ्गे पुलहरु हुन ।

सबैभन्दा पहिले सन १८९६ मा बिदुरमा त्रिशूली नदिमा बनेको पुल भन्ने देखिन्छ । सन १९०३ अर्थात बिसं १९६० मा बनेको चोभारको झोलुङ्गे पुल १३० फुट लामो तथा ४ फुट चौडाइको छ । यस पुलको मुख्य डिजाइन लुइस हार्पर कम्पनीका मालिक एवं इञ्जिनियर स्वयं लुइस हार्परले नै गरेका थिए । यो पुल सवा इन्च मोटो फलामे तारमा लट्किएको तथा १ इन्च मोटो तारमा बाँधिएको छ । पुल बनाउने समय भुइमा हिड्नको लागि काठका फल्याकहरु ओछ्याइएको भए तापनि पछि कुहिन थाले पछि हल्का फलामका पाताहरु राखिएको थियो । साथै पुलको तल्लो भाग परिवर्तन गरिएको थियो ।
"चन्द्र पुल" नाममा रहेको यो पुल संगै गाडी गुड्न कङ्क्रिटको पुल बनाइएको हुँदा हाल उपयोग विहिन भएको छ । तर पनि यो पुलको अवस्था भने राम्रै देखिन्छ । यस पुलको दायाँ बायाँ पुलको बारेमा लेखिएको छ । एकातर्फ श्री ३ चन्द्र पुल CHUNDRA BRIDGE, erected by Brigadier Col Kumar Nursingh Rana Bahadur C.E., A.M.I.C.E.M.S.A. Superintending Engineer Government of Nepal Khatmandu. लेखिएको छ भने अर्को तर्फ Louis Harper A.M.I.C.E. Maker Aberdeen Scotland. लेखिएको छ ।
स्कटल्याण्डको एवरडिनमा रहेको लुइस हार्पर कम्पनीले सन १८७० देखी १९१० को बिचमा बेलायत तथा बेलायती साम्राज्य रहेको देशहरुमा जम्मा ६० वटा झोलुङ्गे पुलहरु बनाएका थिए । जसमध्य बेलायती सामाज्य नरहेको भए तापनि नेपालमा पनि श्री ३ चन्द्रशम्शेरले ७ वटा झोलुङ्गे पुल बनाउन लगाएका थिए । सन १९१० मा हार्पर कम्पनीले झोलुङ्गे पुल बनाउन छोडेको थियो । श्री ३ चन्द्रशम्शेरले १९०७ पछि भने झोलुङ्गे पुलहरु बनाउने जिम्मा एवरडिनकै जोन एम हेन्डरसन कम्पनीलाई दिइएको देखिन्छ ।
लुइस हार्परले बनाएका सबै पुलहरुको डिजाइन एकै प्रकारको थियो । झण्डै ९० फुट अग्लो जालीदार चारवटा टावरको पुलको वारी र पारी बनाइएको हुन्थ्यो । वारी र पारीका दुइ टावरलाई एक आपसमा जोडिएको हुन्थ्यो भने खोला वारी र पारीका टावरहरुलाई सवा एक इन्च मोटो बिशेष प्रकारको ग्याल्वनाइज्ड गरिएको तारले अल्झाइएको हुन्थ्यो । यहि लामो लत्रिएको तारमा एक इन्च मोटो तारहरु हरेक पाँच फुटको दुरीमा लट्काइएको हुन्थ्यो । यहि मोटो तारमा नै मानिस हिड्नको लागि डेक बनाइएको हुन्थ्यो । यस पुलको भार क्षमता प्रति वर्ग फुट १६० पाउण्ड (७२.५ किलो)को थियो । प्रत्येक टावरमा गुम्बज आकारले चुच्चो बनाइएको हुन्थ्यो । हार्पर कम्पनीले पुल बनाउँदा प्रति फुट २ बेलायती पाउण्ड (£2 per linear foot) मुल्य तोकेको थियो । यसमा ढुवानीको खर्च स्थान हेरेर प्रति केजीको दरले रहने भनिएको थियो । ति पुलहरुको लागि नेपाल सरकारले कति मुल्य बुझाएको थियो भन्ने उल्लेख गरिएको भने भेटिएन ।
तस्विरमा काठमाडौ उपत्यकाको दक्षिणमा पर्ने चोभारको पुलको पुरानो तस्विर हो । इतिहासमा उल्लेख भएको अनुसार कुनै बेला काठमाडौ उपत्यका ठूलो पोखरीको रुपमा रहदाँ यहि चोभारको कमजोर भागबाट गल्छी बनाएर पानी बगेको थियो । पछिल्लो रिसर्चका अनुसार करिव ३० हजार वर्ष अगाडि चोभारको नरम चुनढुङ्गाको पहाड गल्दै गए पछि पानीले निकास पाएको भन्ने देखिन्छ ।


No comments