Poem कविता: झरी परेपछि
झरी परिरहेछ
- प्रेमिला राईमलाई झरीको संगीत मन पर्छ
बालपनमा
अनेक पल्ट
पिडालुको ठूलो पातले झरी छल्दै दौडेको छु
अनेक पल्ट
निथ्रुक्क भिजेर अगेनुमा सेकिएको
आपाहरूले सुँगुर काटेर झरी मनाएको
अनेक पल्ट
झरीमा रुझ्दै मिसिमा टिपेको छु
मलाई झरीको आगमन असाध्यै मन पर्छ
किशोरवयमा
म अनेक पल्ट रुझेको छु झरीमा
अनेक पल्ट
झरीको लयमा नाचेको छु उसँग साकेला
झरीको धुनमा भरेको छु असारे भाका
अनेक पल्ट
हामी सँगसँगै रुझेका छौँ झरीमा
हराएका छौँ झरीमा
झरीको स्पर्श मलाई असाध्यै प्रिय लाग्छ ।
आज बेस्मारी झरी परिरहेछ
आफैभित्र निक्कै डुब्दै उत्रदै रहेँ
बालापनमा हराएँ र तिमीसम्म पुगेर टक्क रोकिएँ
सम्झन त हरेक घडी सम्झन्छु तिमीलाई
तर यतिखेर
म रुझ्दै झरीमा एक्लै नाचिरहेछु
सिली टिपीरहेछु
यस्तो लाग्छ
सिली टिप्दा टिप्दै
मेरो दाहिनेतिर तिमी टुप्लुक्क आइपुग्छौ
र सेउली उठाउँदै नाच्छौ मसँगै
यतिखेर झरी परिरहेछ
झरी परिरहनु भनेको त
याद बाँचिरहनु पो रहेछ
आज पृथ्विको एउटा भूगोलमा तिमी
अर्को गोलार्धमा म
झरीमा भेटेर एक अर्कालाई
झरीमा सम्झेर एक अर्कालाई
एक्ला एक्लै
रुझीरहेँछौ जीन्दगीको मीठो क्षण
झरी परिरहेकै छ ।
No comments