गुँला पर्व आरम्भ
आज हामी गुँला पर्वको साम्रगी लिएर आएका छौं । वर्षभरि नेपाली चाडबाड अनि दिन विशेषको सँगालो लिएर आउने यहाँहरूको प्रिय मोबाइल पात्रो ‘हाम्रो पात्रो’मा । वर्षाको मादकता अनि जोखिम दुवै आफ्नो चरमोत्कर्षमा छ । धानको रोपाईँ कतिको सकियो होला ? सदाझैँ बर्खाका प्रकोपहरू पहिरो अनि बाढीका समाचारहरू सुन्नमा आइरहेका छन् । बादलहरू कहिले पागल भएर वर्षन्छन् त कतै कन्जुस् हुँदै जलथोपाहरू नझारी बसेका छन् । जे–होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुँला पर्वमा सबैलाई स्वागत ।
गुँला पर्वको कुरा उक्काउँदा म आज स्वयम्भू महापुराणलाई यहाँ उद्यृत गर्न चाहन्छु । मञ्जुश्रीले आफ्ना अनुयायीहरूका लागि बनाएको शहर नै आजको काठमाडाँै हो । यसरी स्वयम्भु चैत्यलाई केन्द्रमा राखेर शुरु भएको बागमती सभ्यताको शुरुवाती दिनमा मञ्जुश्रीले शुरु गर्नुभएको चैत्य सेवाको चलन नै पछि गुँला पर्वको स्वरुपमा जानिन्छ । नेपाल सम्वतका अनुसार, गुँला एक महत्वपूर्ण महिना हो । स्थानीय नेवार वा नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौ र ‘ला’को अर्थ महिना भन्ने हुन्छ । अर्थात्, नवौ महिना भन्ने बुझिन्छ । विक्रम सम्वत् अनुसार साउन शुक्लपक्ष प्रतिपदादेखि भाद्र शुक्लपक्ष प्रतिपदासम्म एक महिनाको अवधि नै गुँला हो ।
यस गुँला महिनामा गुँला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौँ उपत्यका लगायत अन्य केही नेवाः समुदायको बाहुल्यता भएका ठाउँमा मनाइन्छ । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यो पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ । भगवान बुद्ध अनि उहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरूमा विशेष गुँला संगीतको श्रवण गर्न सकिन्छ । अनि गुम्बा, मन्दिर, आत्मिकस्थलमा भक्तजनको आवागमन धेरै रहन्छ । बहीद्यः स्वःवनेगु नेवाः संस्कृतिको अनन्य पाटो हो, जहाँ अघिअघि बाजा अनि संगीत अनि पछि–पछि भक्तजनहरू हुन्छन् ।
आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्छ । आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले स–साना स्तुपा बनाउने चलन छ । काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका चिजबिज जम्मा गर्ने चलन पनि छ । बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो, जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
हुन त, गुँला एकदिनको मात्र चाड त हैन, यस चाडलाई चन्द्रमानका बिभिन्न तिथिमा बिभिन्न प्रकारले मनाइन्छ । बर्खाको अन्त्यसँगै आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आ–आफ्ना दिनचर्याका खाका गज्जबले कोरौँ, सबैलाई शुभकामना ।
- सुयोग ढकाल
No comments