Listen Nepali Songs

Know New

विश्वकर्मा बाबाको ईतिहास

डा.भक्त राई को शब्दमा 

सन्दर्भ खुलाएरै चोरी गरियो । 


को हुन् विश्वकर्मा बाबै (बड्डा) ?

आज भाद्र शुक्ल पक्ष तदनुसार सेप्टेम्बर -१७ अर्थात विश्वकर्मा पूजा । आज हिन्दूधर्मावलम्बीहरुले शिल्पी तथा निर्माण आविष्कारकका रूपमा भगवान विश्वकर्माको धुमधामसङ्ग पूजा-अर्चना गर्ने गर्दछन् । आज विश्वकर्मा दिवस भएको हुनाले विश्वकर्मा को हुन् ? भन्ने विषयमा छोटो जानकारी गराउदैछु । विश्वकर्मा बाबाबारेमा हिन्दूशास्त्रहरुमा विभिन्न प्रकारका विवरणहरु पाइन्छ यद्यपि विश्वकर्माबारे मतैक्यता भने पाइदैन । विभिन्न लेखक, अन्वेषकहरुले विश्वकर्मा बाबाबारे फरक फरक विचारहरु राख्दै आएको पाइन्छ । कतिपय समीक्षकहरुले विश्वकर्मा कुनै खास व्यक्ति नभएर यो त केवल उपाधि मात्र हो भन्ने धारणा राखेको पाइन्छ । उनीहरुको विचार के देखिन्छ भने विश्वकर्मा शिल्प तथा आविष्कार गर्ने विज्ञलाई भनिएको र यो क्रम अध्यावधि पाइन्छ । कसैले भने विश्वकर्मा भनेको अङगिरापुत्र सुन्धन्वालाई मान्छन भने कसैले भुवनपुत्र भौवनलाई मान्दछन् । यसरी नै कतिपय अध्येताहरु भने गणेश पत्नी ऋद्दि सिद्दिकी बाबा प्रजापति विश्वकर्मालाई नै खास विश्वकर्मा मान्दछन् । प्रजापति विश्वकर्माकी दुई छोरीहरु ऋद्दि र सिद्दिको विवाह शङकरपुत्र गणेशसङ्ग भएको र उनीहरुबाट दुई पुत्र क्रमशः  ऋद्दिबाट क्षेम अर्थात "शुभ" र सिद्दिबाट "लाभ" दुईपुत्र "शुभ-लाभ"को जन्म भएको भन्ने विवरण पाइन्छ । 

      

विश्वकर्मा बाबाबारे वेद, पुराण, महाभारत आदि संस्कृत वाङमयहरुमा चर्चा पाइन्छ । ऋगवेदमा ११ वटा विश्वकर्मा सुक्त रहेको चर्चा गरिन्छ भने यजुर्वेदमा पनि विश्वकर्माबारे विभिन्न ऋचाहरुमा चर्चा भएको पाइन्छ । पुराणहरुमा भने उनीबारे प्रशस्त उल्लेख भएका छन्  । पुराणहरुमा खास गरेर स्कन्द, वायु, मत्स्य, बराह आदि पुराणमा विश्वकर्माबारे चर्चा गरिएको पाइन्छ भने महाभारतमा समेत विश्वकर्मा बाबाबारे चर्चा उल्लेख भएको पाइन्छ । पुराणहरुमा विश्वकर्मालाई विश्वको जननी वा आविष्कारकको रूपमा पनि उभ्याइएको देखिन्छ । उनले नै ईन्द्रपुरी, यमपुरी, वरुणपुरी, कुवेरपुरी, पाण्डवपुरी, शिवमण्डलपुरी, सुदामापुरी निर्माण गरेको मानिन्छ । यसका अतिरिक्त कर्णका कुण्डल, विष्णुको सुदर्शन चक्र, शङकरका त्रिशूल आदि पनि उनै विश्वकर्मा बाबाले बनाएको मानिन्छ । यतिमात्र होइन स्वयं ब्रम्हा, विष्णु र महेश नै विश्वकर्माको आविष्कार हो भन्ने विवरण समेत पुराणहरुमा पाइन्छ । 


विश्वकर्माको अनेक रुप, अवतार र सन्दर्भहरुको चर्चा पाइन्छ । उनको विभिन्न अवतारमध्ये मुख्य पाँच अवतार देहाय अनुसार मानिन्छ:

१) विराट विश्वकर्मा,

२) धर्मवङशी विश्वकर्मा,

३) अङगिरावङशी विश्वकर्मा,

४) सुधन्वा विश्वकर्मा र

५) भृगुवङशी विश्वकर्मा । 

     

मुख्य रूपमा यी पाँच थरिका विश्वकर्माको चर्चा पुराणहरुमा पाइन्छ । स्कन्द पुराणमा पाँच मुख भएको विश्वकर्माको चर्चा पाइन्छ । जसनुसार क्रमशः मनु,मय, त्वष्ठा, शिल्पी र देवज्ञ । परमेश्वर विश्वकर्माको यिनै पाँच मुखबाट पाँच पुत्रको रूपमा ऋषि मनु, ऋषि मय, ऋषि त्वष्ठा, ऋषि शिल्पी र ऋषि देवज्ञका रूपमा प्रादूर्भाव भएको विवरण पनि पुराणहरुमा पाइन्छ । बाबा विश्वकर्माका यी पाँच पुत्रहरुका विवाह क्रमशः मनुको अङगिरा ऋषिपुत्री कन्चनासङ्ग, दोस्रो पुत्र मयको पराशर ऋषिपुत्री सौम्यासङ्ग, त्वष्ठाको कौषिक ऋषिपुत्री जयन्तीसङ्ग, शिल्पीको भ्रुगु ऋषिपुत्री करुणासङ्ग र पाँचौँ पुत्र देवज्ञको जैमिनी ऋषिपुत्री चन्दृकासङ्ग भएको उल्लेख पाइन्छ । विश्वकर्मा बाबालाई विभिन्न शब्दहरुले पनि सम्बोधन वा बुझाउने गरिन्छ । खास गरेर रथकर, पांचाल र स्थापत्य । यी तीन शब्दको शाब्दिक अर्थ भने शिल्पी ब्राह्मण, आविष्कारक आदि नै लाग्ने गर्दछ । यसरी हेर्दा के देखिन्छ भने हिन्दू शास्त्रहरुमा विश्वकर्माबारे फरक फरक शास्त्रहरुमा, फरक फरक प्रसङ्गमा फरक फरक चर्चा गरिएको पाइन्छ । उनी कुनै खास आदि पुरुष वा एउटै व्यक्ति हुन् कि उपाधि वा वङशपरम्परा भन्ने विषयमा पनि फरक फरक विचारहरु पाइन्छ । 


समग्रमा भन्ने हो भने विश्वकर्मा कुनै व्यक्ति, संस्था वा वङशपरम्परा नभएर यो त खास खास समयमा देखा परेको प्रतिभावान व्यक्तिको उपस्थिति हो । विभिन्न समयमा जन्मिएको वा देखापरेको विशिष्ट प्रतिभावान व्यक्तिहरुलाई विश्वकर्मा भनियो र विभिन्न चरणको विश्वकर्माबारे चर्चा गरिए पनि उनीहरु सबैलाई एउटै मानियो,भनियो । ऋगवेददेखि यजुर्वेद हुँदै पुराण र महाभारतसम्मका विश्वकर्मा एउटै हुन सक्दैन । यसरी विभिन्न चरणमा जन्मिएका शिल्पकारहरुलाई, आविष्कारक र कलाविज्ञहरुलाई नै विश्वकर्माका विभिन्न अवतार मानिए परन्तु उनीहरु फरक फरक समयमा जन्मिएका फरक फरक विशकर्माहरु हुन् । वस्तुतः विश्वकर्मा अर्थात शिल्पज्ञानवाला विशिष्ट व्यक्तिलाई नै   विश्वकर्मा भनियो । जसरी व्यासबारेमा विवाद र बहस छ हिन्दू शास्त्रहरुमा वा अध्येताहरुमा पाइन्छ त्यसरी नै विश्वकर्माबारे पनि विवाद र बहस देखा परेको छ । वेद र महाभारतको सर्जक वा सङकलक व्यासलाई माने झैँ विश्वकर्माको पनि चर्चा र विवरण पनि पाइन्छ । जसरी ऋगवेददेखि महाभारतसम्म हजारौँ वर्षको अन्तरालमा लेखिएको ग्रन्थको लेखक एउटै व्यास हुन सक्दैन । वास्तवमा  व्यास भनेको परम्परा हो जुन वर्तमान समयसम्म व्यासाशन गर्ने प्रचलन छ त्यसरी नै विश्वकर्मा पनि उपाधि हो । विभिन्न समयमा जन्मिएका विशिष्ट कलाकार वा आविष्कारकलाई विश्वकर्मा भनियो जस्को प्रभाव र प्रयोग वर्तमान समयसम्म पनि देख्न पाउन, सकिन्छ । 

No comments