Listen Nepali Songs

Know New

लघुकथा_ मेरा बा (त्रिलोचन ढकाल)

आमा बित्नुभयो । कुनामा । कान्छो भाई सात दिनको थियो । त्यही दिनदेखि बा पत्नी बिहीन हुनुभयो । उहाँ बत्तिस वर्षको हुनुहुन्थ्यो । म सबैभन्दा जेठो बाह्र बर्षको थिएँ । बिचमा  माहिला र साइँला भाइ पनि थिए ।


 काकाहरू आएर भन्नुभयो_

"कान्छा ! विवाह गर ! यत्रो जीवन कसरी बिताउँछौ ?" बाबाले सुन्नुभयो । हाम्रा मैलिएका कपडा र डोकोमा गाग्री लिएर पँधेरातिर जानु भयो ।


तिहारमा फुपू आउँनु भयो । टिकाटालो गरिसकेपछि भन्नुभयो_ 

"कान्छा ! विवाह गर ‌। हाम्रो माहिला ससुराकी छोरी छन् । गज्जबकी । यी केटाकेटीलाई पनि आमा भएर सम्हाल्न सक्छिन् । तिमीलाई पनि खुसी राख्छिन् ।" बाबाले सुन्नुभयो । भकारा फाल्न भनेर गोठतिर जानुभयो । 


श्राद्ध गराउन पुरेत आए । उनले "सपत्नी हुनुपर्छ" भनेर संस्कृत वाक्य सुनाए । बाले सुन्नु भयो कि भएन थाहा पाइन । पिण्ड तर्पण गरिसकेपछि घाँस काट्ने खाङ्ग्रे डोको बोकेर  खेततिर जानुभयो ।


बाको गुरु आउनुभयो । गायत्री मन्त्र सुनाएको गुरु । बाले  उहाँको भनाइ सधँ लागु गर्नुहुन्थ्यो । उहाँले भन्नुभयो_ 

"विवाह गर ! पत्नी विना कुनै पनि कार्य सम्पन्न हुन सक्दैन । रामले अश्वमेधयज्ञ गर्दा सीताको पुत्ला बनाएर साथमा राखेको कुरा तिमीलाई पनि थाहा छ नि !" बाले ध्यान दिएर सुन्नु भयो । गुरुका खुट्टामा ढोग गर्नुभयो । अनि हामीलाई पढाउन थाल्नुभयो ।


यतिधेरै मान्यजनले भनेपछि बाले विवाह गर्नुहुन्छ भन्नेमा म विश्वस्त भएको थिएँ । एकातिर, भान्साबाट निस्कन पाउने आशाले खुसी थिएँ । अर्कोतिर बेखुसी थिएँ । सौतेनी आमा आएपछि तिन जना भाइको बोझ मैले बोक्नुपर्छ भनेर । ।


विवाह हुने भयो । दिन पनि तय भयो । पाँचै जनालाई नयाँ दौरा सुरुवाल र टोपी सिलाइयो । सबै तयारी पूरा भयो । मैले भोलिपल्ट आउने सौतेनी आमाका बारेमा सोचिरहेको थिएँ । बाले भन्नुभयो_

"मैले विवाह गर्ने हो भने तिमीहरूले दुःख पाउँछौ । जेठा ! आज तिम्रो विवाह गर्न जाने हो ।

कथाकार: त्रिलोचन ढकाल 


No comments