FIFA

Know New

दशै आउने रुख

 दशैँ आउने रूख


कवि: पियस्पी चाम्लिङ

यो यहि रुख हो,

जहाँ हरेक दशैँ आउने बेला-

हरेक दिन चढेर म  हाँगामा,

मेरा पर्देशी बुवाको बाटो हेर्ने गर्थेँ -

दशैँ आउनु भनेको मेरा लागि

बुवा घर आउनु थियो ।


परदेशीहरुलाई पर्खनुको 

पिडायुक्त मजा कि मलाई थाहा छ

कि यो रुखलाई थाहा छ ।



हरेक पहेँलो साँझ, 

बडेमानको झोला बोकेर 

त्यो पारी डाँडैडाडा 

यतैतिर आउने जुनसुकै परदेशीको आकृती

मेरै बुवाको हुनसक्थ्यो,

निश्चितताबिनाको निश्चिततामा दंग पर्नुको-

अमिलो मजा कि मलाई थाहा छ कि यो रूखलाई थाहा छ ।


ठूलो झोलामा

के के ल्याउने होला बुवाले?

ल्याक्टो चकलेट,

आकासे कलरको ज्याकेट,

कलेजी क्याप टोपी

....



जमरा उम्रीसक्यो,

डाँडामा पिङ झुण्डिसक्यो,

तर बुवा आएपछि मात्र दशैँ आउँछ,

बुवाको पसिनाको गन्ध आउने ठूलो झोला

सिकुवामा बिसाएपछी दशैँ आउछ,

दशैँ आउनु भनेको मेरा लागि-

बुवाको ठूलो झोला आउनु थियो ।

बुवाको पसिना घरभरी मग्मगाउनु थियो ।


यी यावत कुराहरु,

कि मलाई थाहा छ, कि यो रुखलाई थाहा छ ।


आज बीस वर्सपछाडीको यो खैरो सांझमा,

यहि रुखमुनी उभिएर,

म बुवाले ल्याउने त्यो दशैँ सम्झिरहेछु ... 

र रुखमाथी हाँगामा मेरो छोरा पब्जी खेलिरहेछ ।




No comments