Listen Nepali Songs

Know New

घर बनाउने ठेक्का दिँदा अनिवार्य उल्लेख गर्नु पर्ने १९ बुँदा (नमूनासहित)

 नेपालमा धेरैले ठेकेदार (निर्माण) कम्पनीलाई घर बनाउने ठेक्का दिँदा मौखिक सहमतिकै भरमा काम दिने गरेको पाइन्छ । लिखित सम्झौता गरेर घर निर्माणको ठेक्का दिने परिपाटी अझै सुरु भइसकेको छैन । तर, ठूला व्यवसायिक कम्पलेक्स, हाउजिङ, अपार्टमेन्ट, सरकारी भवन निर्माणमा भने सम्झौता हुने गर्छ ।

यदि हामीले समयमै आफ्नो सपनाको घर निर्माण सम्पन्‍न गर्ने हो भने ठेकेदार कम्पनीसँग निर्माण सम्झौता गर्नु अत्यावश्यक हुन्छ । किनकी मौखिक सहमतिका भरमा ठेकेदार कम्पनीलाई काम दिँदा सम्झौताका सर्तबारे प्रष्‍ट हुँदैन र त्यसले कानुनी बैधतासमेत पाउँदैन । 

लक्ष्य तोकेर निर्माण सम्झौता नगर्दा ठेकेदार कम्पनीले जहिल्यै निर्माण कार्यमा झुलाउने गरेको पाइन्छ । घर निर्माणको करार सम्झौता नगर्दा ठेकेदार कम्पनीले समयमा घर निर्माण सम्पन्‍न नगरिदिने, सहमति गरेको भन्दा धेरै रकम माग गर्ने र लागत बढाइदिने खतरा हुन्छ । 

ठेकेदार कम्पनी र घर बनाउने ग्राहकबीच तालमेल मिलाउनका लागि पनि निर्माण सम्झौता अनिवार्य हुनुपर्छ । निर्माण सम्झौतामा दुबै पक्षले गर्नुपर्ने कामको लक्ष्य निर्धारण गरेर स्पष्‍ट किटान गर्नुपर्छ । नत्र तपाईको चाँडै घर सर्ने सपना पुरा नहुन सक्छ । 

तपाईं हामीले देखे भोगेकै कुरा हो, कतिपय घरहरु निर्माण सुरु गरेको लामो समयसम्म सम्पन्‍न हुँदैनन् । ठेकेदार कम्पनीको लापरबाहीका कारण पनि कतिपय घरहरु निर्माणकै क्रममा अलपत्र परेका हुन्छन् ।  
घर निर्माण सुरु गर्नुअघि विस्तृत योजना बनाउनु आवश्यक छ । आफ्नो योजना बनेपछि निर्माण सुरु गर्नुअघि कम्पनीसँग सम्झौता गर्नुपर्छ ।

निर्माणको ठेक्का दिँदा सबैभन्दा पहिला जिम्मेवार निर्माण कम्पनी छनौट गर्नुपर्छ । र, लक्ष्य तोकेरै निर्माणको करार सम्झौता गर्नुपर्छ । करार सम्झौतामा घर निर्माणको अधिकतम समय, लागत, निर्माणमा प्रयोग हुने सामाग्रीको गुणस्तर, मापदण्ड आदि स्पष्‍ट रुपमा उल्लेख गर्नुपर्छ । तोकिए अनुसार काम नभए जरिवाना, क्षतिपूर्ति वा भुक्तानीमा रोकिदिने सम्मका प्रावधान प्रष्‍ट उल्लेख गर्नुपर्छ । 

ठेकेदार, निर्माण कम्पनी, व्यवसायी वा घरधनी जे भएपनि घर वा भवन बनाउँदा तपाईसँग भवन निर्माणको सम्झौता हुनुपर्छ जहाँ स्पष्‍ट रुपमा दुबै पक्षका अधिकार र जिम्मेवारी लेखिएको हुनुपर्छ । निर्माण सम्झौतामा निर्माण कम्पनी दर्ता भएको प्रमाण, स्वीकृतिपत्र र संरचना निर्माण सम्बन्धि बुँदाहरु प्रष्‍ट रुपमा उल्लेख भएको हुनुपर्छ । ताकी निर्माण कार्यको क्रममा कुनै त्रुटि वा असन्तुष्‍टि भएमा कानुनी रुपमा त्यसको समाधान खोज्‍न सकियोस् ।

निर्माण सम्झौताका तत्वहरु

सामान्यतया भवन निर्माण सम्झौतामा विभिन्‍न खण्डहरु समावेश भएका हुन्छन् । निर्माण कम्पनीको नीति नियमअनुसार सम्झौताका बुँदाहरु केहि घटिबढी हुन सक्छ । तर, पनि कुनै निश्‍चित निर्माण सम्झौतामा केहि आधारभूत प्रावधानहरु समावेश भएकै हुनुपर्छ । आममानिसलाई निर्माण सम्झौतामा के–के पक्षहरु समावेश हुन्छन् वा के–के पक्ष अनिवार्य रुपमा समावेश हुनुपर्छ भन्‍ने ज्ञान नहुन सक्छ । 

तल केहि आधारभूत पक्षहरु र त्यसको संक्षिप्त विश्लेषण गरिएको छ जसले तपाइँलाई निर्माण सम्झौतामा हुनुपर्ने कुरा र सो बारे बुझ्‍न केहि सहज हुनसक्छ ।

सामान्यतया निर्माण सम्झौतामा यी बुदाँहरु समावेश हुनुपर्छ:

१. निर्माण कम्पनीको नाम र सम्पर्क विवरण: सम्झौतापत्रमा निर्माण कम्पनीको नाम, दर्ता नं., आधिकारीक टेलिफोन नं., इमेल ठेगाना, कम्पनीको ठेगाना विवरण स्पष्‍ट रुपमा उल्लेख भएको हुनुपर्छ ।

२. ग्राहक (घरधनी)को सम्पर्क विवरण: ग्राहकको सम्पर्क नं., इमेल ठेगाना, नागरिकताको प्रमाणपत्र नं., स्थायी ठेगाना आदि विवरण उल्लेख गरिनुपर्छ । यो सँगै निर्माण हुन लागेको भवनको कार्यक्षेत्र विवरण अर्थात ठेगाना पनि उल्लेख हुनुपर्छ ।

३. प्रोपर्टीको प्रकार: निर्माण हुनलागेको भवन आवासिय वा व्यवसायिक कुन हो भनेर खुलाउनुपर्छ ।

४. सम्झौतामा संलग्‍न कागजातको सूची: कामको लागि आवश्यक जग्गाको ब्लुप्रिन्ट, भवनको डिजाइन (नक्शा) आदि समावेश हुनुपर्छ ।

५. लागत: परियोजना निर्माण सम्पन्‍न हुँदा सम्म लाग्‍ने लागतको सूची बनाई कुल लागत उल्लेख गरिनुपर्छ । शुरुवातमा गरिने डाउन पेमेन्टको विवरण, किस्तामा भुक्तानी गर्दा चुकाउनुपर्ने मूल्य र त्यसको मिती आदि कुरा उल्लेख भएको हुनुपर्छ ।

६. ग्राहकले भुक्तानी गर्न असफल हुँदा: यदि घरधनी (ग्राहक)ले निर्माण कम्पनीलाई काम गरे बापतको पैसा तिर्न वा पैसाको जोहो गर्न असक्षम भएको खण्डमा के कस्तो प्रक्रियाद्वारा सम्झौता रद्द गर्न सकिने प्रावधान हुन्छ, सो कुरा खुलाउनुपर्छ ।

७. संरचना निर्माण कार्यको विवरण र सम्पन्‍न हुने मिति: यो बुँदाले के निर्माण भइरहेको छ र सो निर्माण सम्पन्‍न हुने अनुमानित मितीको पूर्णरुपमा वर्णन गर्छ । यसले गर्दा घरधनीलाई आफ्नो भवन यो समयमा सम्पन्‍न हुन्छ भनेर जानकारी हुनुको साथै अन्य पूर्वतयारी गर्न मद्दत पुग्छ ।

८. परियोजना स्थगित गर्ने अधिकार: यदि घरधनीले निर्माण कम्पनीलाई तिर्नुपर्ने रकम वा त्यसको किस्ता समयसीमा भित्रमा भुक्तान नगरेमा परियोजना रद्द गर्नको लागि यो बुँदा आवश्यक हुन्छ । दुबै पक्षले कसरी सम्झौता खारेज गर्न सक्छ भनेर व्याख्या गर्ने प्रावधानहरु पनि समावेश गर्नु उचित हुन्छ ।

९. भुक्तानी रोक्का गर्ने अधिकार: संरचना निर्माणको क्रममा भएका कामहरु गुणस्तरहिन भएमा, कामदारहरु दक्ष नभएमा घरधनीले निश्‍चित शर्तहरुको आधारमा भुक्तानी रोक्का गर्न पाउँछ ।

०. सम्झौता नियम विपरित गई उल्लंघन भएमा त्यसको उपायहरु: सम्झौता उल्लंघन भएमा त्यसको विरुद्धमा मुद्दा हाल्ने अधिकार दुबै पक्षसँग हुन्छ । मुद्दा लड्नुपरेमा ठाउँ तोक्नुपर्छ । निर्माण कम्पनी अवस्थित ठेगानालाई मुद्दाको लागि ठाउँ तोक्नुपर्छ ।

११. अनुमतिपत्र, बीमाको लागि आवश्यक मापदण्डहरु: ठेकेदार कम्पनीले स्थानीय निकायले जारी गरेको नियमावली राम्रोसँग बुझेर निर्माण कम्पनी सञ्‍चालनको लागि आवश्यक कागजातहरु र तिनको प्राप्तीको लागि अपनाउनुपर्ने प्रक्रियाबारे थाहा पाउनुपर्छ । आफुसँग सबै आवश्यक कागजात भएन भएको निश्‍चित गर्नुपर्छ ।

१२. दैवीप्रकोप र अप्रत्याशित परिस्थिती: अप्रत्याशित परिस्थितीको अवस्थामा र बाढि, पहिरो, भुइचालो आदि जस्ता प्राकृतिक विपत्तीमा भएको क्षतिको परिपूर्ति कुन पक्षले गर्ने भन्‍ने कुरा सम्झौतामा उल्लेख गर्नुपर्छ ।

१३. निरीक्षण र पहुच: यस बुँदाले घरधनीलाई जुनसुकै बेला पनि निर्माण कार्यस्थलमा गई निर्माण कार्यको निरीक्षण गर्ने अधिकार हुन्छ र ठेकेदार कम्पनीलाई निर्माण कार्य अवधीभर निर्माण कार्यको सम्पूर्ण अधिकार प्राप्त हुन्छ भन्ने कुरा निश्‍चित गर्छ ।

१४. अर्डर परिवर्तन: कुनै पनि पक्षले विविध कारणवश सम्झौता रद्द गर्न चाहेमा लिखित कागजात पेश गरेर दुबै पक्षबाट स्वीकृत भएमा सम्झौतामा आवश्यक पर्ने औपचारिकताहरु पुरा गरी आपसी समझदारी गर्न सकिनेछ ।

१५. वारेन्टी: निर्माण कम्पनीले उनीहरुले गरेको निर्माण कार्य पूर्णरुपमा त्रुटिरहित हुने भन्‍ने कुराको विश्‍वास दिलाउनुपर्छ । सम्झौता अवधीभर कुनै पनि काममा त्रुटि भएमा सो समस्याको समाधानको जिम्मा निर्माण कम्पनीले लिनुपर्ने छ ।

१६. अन्य ठेकेदारको अधिकार नरहने: निर्माण कम्पनीले अन्य ठेकेदारलाई कामको जिम्मा दिएपनि घरधनीसँग उनीहरुको कुनै सरोकार नहुने । प्राथमिक ठेकेदार अर्थात निर्माण कम्पनीले अन्यउप– ठेकेदारसँग गरेको सम्झौताले घरधनीसँग गरेको सम्झौता उल्लंघन भएमा त्यसको जिम्मा निर्माण कम्पनीले लिनुपर्छ ।

१७. क्षतिको मात्रा र दायित्वको सीमा: काममा विभिन्‍न कारणले हुन सक्ने ढिलाई र अन्य अप्रत्याशित परिस्थितीमा हुने क्षतिमा दुबै पक्ष बिचआपसी समझदारीमा निर्णय लिन सकिन्छ ।

१८. निर्माण सम्पन्‍न भएपछि सरसफाई र व्यवस्थापन: भवन निर्माण सम्पन्‍न भएपछि निर्माण कम्पनीले त्यस कार्य क्षेत्रमा रहेको अनावश्यक सामाग्रीहरु, हानिकारक सामाग्रीहरुको उचित व्यवस्थापन गरी भवनको सरसफाई गरी हस्तान्तरण गर्नुपर्ने छ ।

१९. दुबै पक्षको हस्ताक्षर र मिति: सम्झौताका सबै बुदा र खण्डहरुमा दुबै पक्षको सहमती भएपछि दुबै पक्षले अन्तिममा सम्झौता गरिएको मिति सहित आ–आफ्नो हस्ताक्षर गर्नुपर्छ ।



No comments