कविता: अपूर्व कवि: बुँद राना
कवि: बुँद राना |
अपूर्व !
तिमी डढेलोमा बाबियो सप्रेको देख्छौ !
तिमी बाढीले मलिलो माटो ल्याएको देख्छौ !
तिमी भुइँचालो जाँदा पुनर्निर्माण को सपना बुन्छौ !
अझ तिमी महामारीको बेला नयाँ नयाँ अनुशन्धान आउने कल्पना गर्छौ !
तिम्रा आँखा र मेरा आँखामा भिन्न्नता छ !
भयो , नभनिहालौं!
यत्ति हो ,
म डढेलोमा , हरियाली सखाप भएको देख्छू !
म बाढीले, बस्ती उठिबास लाएको देख्छु !
म भुइँचालोले ,अनगिन्ती सपनाको चिहान पारेको देख्छु !
म महामारीमा मानव सभ्यताले हिक्का छाड्दैछ , देख्छू !
हुनसक्छ ,
तिम्रा आँखा स्वस्थ छन् र सद्दे छन् !
हुन सक्छ ,
मेरा आँखा रोगी छन् र धमिला छन् !
म ऐले आँखाको
उपचारमा ब्यस्त छु ,
ओखतीका बूँद चुहाउँदै छु , आँखामा ।
ए भलामानुस !
यति खेर ,
मलाई नचलाऊ !
मलाई नहल्लाऊ !!
अन्धो ! हुनसक्छ आँखा !
एउटा अनर्थ हुनसक्छ !
अपूर्व !!!!!! - कवि बुँद राना
No comments