Listen Nepali Songs

Know New

ध्रुवकुमार शाही - नेकपा एमाले र राजनीति


नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा पहिलो पटक हारको स्वाद चखाउने नेता हुन्, नेकपा (एमाले)का धु्रवकुमार शाही । २०४८ यता सुर्खेत–१ बाट निरन्तर चुनाव जित्दै आएका खड्काको अविराम संसदीय यात्रालाई २०७४ सालमा शाहीले अवरुद्ध पारेका थिए ।

एमालेले सुर्खेत–१ मा यसपटक पनि खड्का विरुद्ध शाहीलाई नै उतारेको छ । फरक के छ भने यसपटक खड्का सत्तारुढ गठबन्धनको साझा उम्मेदवार छन् भने अघिल्लो पटक वाम गठबन्धनको शक्ति पाएका शाही एक्लो एमालेको भरमा चुनावी मैदानमा छन् ।

२०२७ जेठमा सुर्खेतको मालारानीमा जन्मिएका शाहीले दुई वर्षमै बाबु गुमाए । उनको बाल्यकाल अभाव र संघर्षमा बित्यो । पढाइमा तेज भए पनि सहज रूपमा विद्यालय जान पाएनन् । जेनतेन एसएलसी उत्तीर्ण भएपछि पैसाको जोहो गर्न उनी शिक्षक बने ।

उनी तीन वर्ष मास्टरी गरेर २०४५ सालमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहाँ अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएपछि शाहीको कम्युनिस्ट राजनीतिक यात्रा सुरु भयो । पछि उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरे ।

२०५० सालबाट पार्टी राजनीतिमा आएका उनी २७ वर्षको उमेरमा २०५४ सालको स्थानीय निकाय निर्वाचन लडेर मासहारे गाविसको अध्यक्षमा निर्वाचित भए ।  

अर्को वर्ष शाही पार्टीको सुर्खेत जिल्ला कमिटी सदस्य र २०६३ मा उपसचिवमा निर्वाचित भए । २०६६ मा जिल्ला कमिटी अध्यक्षमा उठेका उनलाई नवराज रावतले पराजित गरे । २०७० मा उनै रावतलाई पराजित गरे सुर्खेत एमालेको अध्यक्ष भए, शाही । २०७४ मा पनि अध्यक्षमा आफ्नो कार्यकाल दोहो¥याउन सफल भए उनी । 

एमाले सुर्खेतको राजनीतिमा सफलता हात पार्दै आएका शाही अहिले पार्टीको कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य र सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार शाहीले ३६ हजार ७५९ र कांग्रेसका खड्काले ३३ हजार ३७७ मत पाएका थिए । जित–हारको अन्तर ३ हजार ३८२ भोट रह्यो ।

तर, यसपटक अवस्था फरक छ । एक त यसपालि पाँचदलीय सत्ता गठबन्धन छ । त्यसमाथि गत स्थानीय तह निर्वाचनमा सुर्खेत–१ मा वडाअध्यक्षहरूले पाएको पार्टीगत मतमा एमालेभन्दा कांग्रेस अगाडि छ ।

उक्त चुनावमा दलगत रूपमा कांग्रेसले ३५ हजार ८५६, एमालेले ३३ हजार ९०५ र माओवादी केन्द्रले ५ हजार ५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारहरूको पनि १ हजार २७९ मत रहेको छ ।

सत्ता गठबन्धन दलहरूको मत जोड्दा ४० हजार हुन आउँछ । कांग्रेसका प्रत्यासी खड्काले यो चुनाव जित्न गठबन्धनको मत जोगाउन सके पुग्ने स्पष्ट संकेत स्थानीय चुनावको मतभारले गरेको छ । एमालेका उम्मेदवार शाहीलाई भने आफ्नो दलको भोट जोगाएर मात्र पुग्ने अवस्था छैन ।   

No comments