Listen Nepali Songs

Know New

शक्तिबहादुर बस्नेत - माओवादी केन्द्र र राजनीति


२०२८ वैशाखमा जाजरकोटको कालेगाउँमा जन्मिएका शक्तिबहादुर बस्नेत कुनै बेला सशस्त्र संघर्षको माध्यमबाट नेपाललाई जनवादी गणतन्त्र बनाउने युद्धमा सामेल थिए । अहिले भने तेस्रो पटक संसद सदस्य बन्ने योजना कार्यान्वयनमा छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर बस्नेत नेकपा एकता केन्द्र (मशाल)बाट राजनीतिमा आएका हुन् । २०४६ सालको जनआन्दोलनमा उनी मशालबाटै सहभागी थिए । २०४८ सालमा एकता केन्द्र (मशाल)को राप्ती क्षेत्रीय समन्वय समिति सदस्य र २०४९ मा जाजरकोट जिल्ला सेक्रेटरी भएका उनी २०५१ देखि नेकपा (माओवादी) को पश्चिम क्षेत्रीय ब्यूरो सदस्यको रूपमा ग्रामीण वर्ग–संघर्षको नेतृत्व गरे ।

२०५५ मा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य बनेका उनले त्यसको दुई वर्षपछि केन्द्रीय सदस्य र त्यसलगत्तै भेरी–कर्णाली क्षेत्रीय ब्यूरो इञ्चार्जको जिम्मेवारी पाए । २०५९ सालमा पोलिटब्यूरो सदस्य भएपछि बस्नेत भेरी–कर्णाली र थारूवान क्षेत्रीय ब्यूरो इञ्चार्जको भूमिकामा आए । पार्टीको जनमुक्ति सेनाको डिभिजन कमिसार भएर उनले गण्डकी ब्यूरोको पनि नेतृत्व गरे ।

२०७१ मा स्थायी कमिटी सदस्य बनेका उनी आठौं महाधिवेशनबाट उपमहासचिव चुनिए । जाजरकोटबाट कुनै पार्टीको नेतृत्व तहमा पुग्ने पहिलो नेता बनेका बस्नेत २०६४ मा समानुपातिकतर्फबाट पहिलो संविधानसभामा पुगे । २०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने अवसर पाएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर गृहमन्त्री बने ।

२०७४ को प्रतिनिधिसभा चुनावमा विजयी भएसँगै उनी वन तथा वातावरणमन्त्री भए । अहिले उनी संसदीय निर्वाचनमा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । एमाले–माओवादी केन्द्र गठबन्धन भएको अघिल्लो चुनावमा ३२ हजार २८१ मतका साथ विजयी बनेका बस्नेतलाई यसपटक सत्ता गठबन्धनको साथ छ ।

२०७४ मा निर्वाचनमा ८ हजार ९९२ मतले पराजित नेपाली कांग्रेसका राजीवविक्रम शाह यसपटक प्रदेश सभामा उठेका छन् ।

एउटै निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यसपटक नेकपा (एमाले)का निरज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक खनाल, नेपाली कांग्रेस (बीपी)का झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की पनि प्रतिस्पर्धामा छन् ।

गत वैशाखमा भएको स्थानीय चुनाव जाजरकोटमा वडाअध्यक्षका उम्मेदवारहरुले पाएको मतमा एमाले अगाडि छ । एमालेले २४ हजार ४, कांग्रेसको २२ हजार ३४२, माओवादी केन्द्रले १८ हजार ६२२ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ३३४ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारले २ हजार ६८९ मत पाएका छन् ।

स्थानीय चुनावको अंकगणित निःसन्देह रूपमा सत्ता गठबन्धनका साझा उम्मेदवार शक्ति बस्नेत अनुकूल छ । यद्यपि, चुनावी मैदानमा चलखेल बढाएका एमालेका निरज आचार्य र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले पाउने भोटले प्रतिस्पर्धालाई नयाँ मोड दिन सक्ने खतरा पनि छ ।  

No comments