Listen Nepali Songs

Know New

निरजप्रसाद आचार्य - नेकपा एमाले र राजनीति


२०३३ सालमा जाजरकोटको जगतिपुरमा जन्मिएका निरज आचार्य १९ वर्षको हुँदा नेकपा (एमाले)को युवा संगठनमा लागे । त्यसको दुई वर्षपछि नै २०५४ मा २१ वर्षकै उमेरमा जिल्ला विकास समितिको सदस्यमा चुनिए ।

जिविस सदस्य भएकै वर्ष आचार्य प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ)को केन्द्रीय सदस्य निर्वाचित भए । त्योसँगै संगठनको भेरी अञ्चल संयोजकको जिम्मेवारी पनि पाए । २०५४ देखि ९ वर्ष पार्टीको जिल्ला सदस्य र त्यसपछि भेरी अञ्चल कमिटी सदस्य रहेका उनी अहिले केन्द्रीय सदस्य छन् ।

‘उम्मेदवारमा पनि २०६४ सालदेखि सिफारिसमा भइरहेको छु, तर टिकट अरूले नै पाउने परिस्थिति बन्यो’ त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर आचार्य भन्छन्, ‘२०७० मा पनि मलाई मत माग्ने भूमिकामा सीमित पारियो ।’

प्रदेश सभामा टिकट पाएर पनि अन्तिममा उम्मेदवारी फिर्ता लिनुपर्ने अवस्था सिर्जना गरिएको उनले बताए । यसपालि भने ४६ वर्षीय आचार्य प्रतिनिधिसभा सदस्य टिकट पाएर चुनावी मैदानमा डटेका छन् । वाम गठबन्धन भएको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफंैले सघाएको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत उनको मुख्य प्रतिस्पर्धी छन् ।

आचार्यले आफ्नो उम्मेदवारीलाई जाजरकोटका जनताको सपनासँग जोडेर प्रचारप्रसार गरिरहेका छन् । ‘लामो समयपछि जाजरकोटका जनताको चाहना पूरा हुँदैछ’ उनी भन्छन्, ‘भोक–रोग व्याप्त गाउँमा जन्मेर जनताका अप्ठ्यारामा साथी बनेको हुँदा जाजरकोटका जनताले भोट मलाई नै दिनेछन् ।’

जाजरकोटलाई आचार्य नेपालको अवस्था हेर्ने आँखीझ्याल भन्छन् । ‘यहाँको बेरोजगारी र अभावले पूरा नेपालको अवस्था दर्साउँछ’ उनी भन्छन्, ‘जाजरकोट र नेपालकै अवस्था बदल्ने काममा योगदान गर्नका निम्ति मेरो उम्मेदवारी हो ।’

गत ३० वैशाखमा भएको स्थानीय चुनावमा जाजरकोटमा वडाअध्यक्षहरूले पाएको पार्टीगत मतमा एमाले अगाडि छ । एमालेले २४ हजार ४, नेपाली कांग्रेसले २२ हजार ३४२, नेकपा (माओवादी केन्द्र)ले १८ हजार ६२२ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ३३४ मत पाएका छन् ।

यसपटक एमालेविरुद्ध सत्ता गठबन्धन भएकोले स्थानीय चुनावको यो अंकगणित निरज आचार्यका लागि उति अनुकूल देखिंदैन ।

२०७४ मा वाम गठबन्धनका कारण प्रत्यक्ष चुनाव हारे पनि समानुपातिकतर्फ कांग्रेस पहिलो शक्ति थियो । उसले २० हजार ४८६ मत पाउँदा एमालेले १७ हजार ६७१ र माओवादी केन्द्रले १३ हजार ५७१ मत पाएको थियो ।

गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारहरूले पाएको मत जोड्दा ४३ हजार २९८ हुन्छ, जुन एक्लो एमालेको भन्दा १९ हजार २९४ बढी हो ।

यो चुनावी अंकगणितले निरज आचार्यलाई चुनाव जित्न गठबन्धन दलहरूबाट धेरै नै भोट तान्नुपर्ने देखाउँछ । उनको चुनावी रणनीति पनि त्यस्तै छ ।

No comments