Listen Nepali Songs

Know New

पुष्पा भुसाल गौतम - नेपाली कांग्रेस र राजनीति


लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट एक मात्र महिला उम्मेदवार हुन्, पुष्पा भुसाल । अर्घाखाँचीबाट टिकट पाएकी उनी सत्तारूढ गठबन्धनको साझा उम्मेदवार पनि हुन् ।

अर्घाखाँची, पोखराथोकको राजनीतिक परिवारमा २०१७ फागुनमा जन्मिएकी भुसाल चार दशकयता कांग्रेसको राजनीतिमा सक्रिय छिन् । उनका पिता स्व. काशीनाथ गौतम बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा स्वास्थ्य तथा स्थानीय स्वायत्त मन्त्री थिए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक भुसालले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरिन् । कांग्रेस पार्टीको महिला र कानुन विभागमा लामो समय काम गरेकी उनीसँग नेपाल महिला संघको महासचिवको रूपमा महिला आन्दोलनको नेतृत्व गरेको अनुभव पनि छ । अहिले उनी कांग्रेस केन्द्रीय सदस्य छिन् ।

वरिष्ठ अधिवक्ता समेत रहेकी भुसाल नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिमा कांग्रेसको प्रतिनिधित्व गर्नेहरूमध्ये एक थिइन् । त्यसपछि २०६४ मा अर्घाखाँचीबाट निर्वाचित भएर उनी पहिलो संविधानसभामा पुगिन् ।

२०७२ सालमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेकी उनी ३१ असार २०७९ मा उपसभामुख निर्वाचित भइन् ।

आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि गठबन्धनको सरकार बन्नेमा विश्वस्त उनी यो निर्वाचनमा विजयी भए सांसद विकास कोष तथा प्रदेश र संघबाट विनियोजन हुने बजेट दुरुपयोग रोक्न नीतिगत सुधारको विषयलाई महत्वका साथ उठाउने बताउँछिन् ।

‘यो निर्वाचनपछि पनि गठबन्धन सरकार नै बन्छ’ उनी भन्छिन्, ‘सांसद भएर बेथिति विरुद्ध नीतिगत कामका साथै अर्घाखाँचीलाई समृद्ध बनाउन लाग्ने हो ।’

चुनावी अंकगणित

गत वैशाखको स्थानीय चुनावमा अर्घाखाँचीमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतमा सत्ता गठबन्धन दलहरू अगाडि छन् । गठबन्धनसँग ५३ हजार ६४५ र एमालेसँग ४८ हजार १०२ स्थानीय चुनावको मत छ ।

५ हजार ५४३ मत अगाडि रहेको गठबन्धनको बलमा विजयी हुने रणनीतिमा रहेकी भुसाललाई रोक्न नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चुनावी मैदानमा छन् । रायमाझी तिनै नेता हुन्, जसले अर्घाखाँचीमा २०६४, २०७० र २०७४ मा लगातार विजयमाला पहिरिएका थिए ।

No comments