टोपबहादुर रायमाझी - नेकपा एमाले र राजनीति
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का टोपबहादुर रायमाझी अर्घाखाँचीबाट विजयी बने । तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् । केपी ओलीको क्याबिनेटको तीनमहिने मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेर सांसद पद खोस्यो । पाँच वर्षका लागि सांसद बनेका उनी साढे तीन वर्षमा नै पदविहीन बने ।
अर्घाखाँचीको फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४३ मा अनेरास्ववियु छैटौंको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अध्यक्ष बनेका उनी २०४८ मा योङ कम्युनिस्ट लिग (वाईसीएल), नेपालको संस्थापक अध्यक्ष भए ।
२०४८ मा पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी डा. बाबुराम भट्टराईसँगै एकता केन्द्रमा गए । नेकपा (माओवादी)ले सशस्त्रयुद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज बने । २०५५ मा माओवादीको पोलिटब्यूरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिवमा निर्वाचित भए ।
२०४२ देखि २०६२ सम्म भूमिगत राजनीति गरेका रायमाझीले दुई वर्ष जेल जीवन बिताए भने ९ पटक गिरफ्तार भए ।
तत्कालीन माओवादीमा डा. भट्टराई समूहमा रहेका उनी नयाँ शक्तितिर भने गएनन् । त्यसरी बाबुरामको साथ छाडेका उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री बनाइदिए । संविधान निर्माणपछि बनेको केपी शर्मा ओली नेतृत्वको त्यो सरकारमा रायमाझीले माओवादीको नेतृत्व गरेका गरेका थिए ।
त्यसअघि २०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए ।
चुनावी अंकगणित
माओवादीको हँसिया–हथौडा चुनाव चिह्नबाट २०६४, २०७० र २०७४ मा अर्घाखाँचीबाट ह्याट्रिक गरेका ६२ वर्षीय रायमाझी यसपटक एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा छन् ।
चितवन महाधिवेशनबाट एमालेको सचिव बनेका रायमाझीका लागि चौथो प्रतिस्पर्धा राजनीतिक समीकरणका हिसाबले अनुकूल देखिन्न । किनभने, अघिल्लो निर्वाचनमा वाम गठबन्धनको साथ पाएका रायमाझी यसपटक विभाजित एमालेको मात्र भरमा छन् ।
गत वैशाखको स्थानीय तह चुनावमा अर्घाखाँचीमा वडाअध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको दलगत मत जोड्दा सत्ता गठबन्धनको ५३ हजार ६४५ पुग्छ भने एमालेको ४८ हजार १०२ । स्थानीय चुनावको नतिजामा एमालेभन्दा गठबन्धन ५ हजार ५४३ मतले अगाडि देखिन्छ ।
No comments