Listen Nepali Songs

Know New

सुवास नेम्बाङ - नेकपा एमाले र राजनीति

 


नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पाँचौंपटक प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा छन् । २०५६ यता लगातार चुनाव जितेर सांसद रहँदैआएका उनी उही इलाम–२ बाट उठेका छन् ।

अघिल्लो पटक एमाले–माओवादी केन्द्र (वाम गठबन्धन) का साझा उम्मेदवार रहेका नेम्वाङले नेपाली कांग्रेसका प्रत्यासी केशव थापालाई करिब १० हजार मतको अन्तरले पराजित गरेका थिए । यसपटक उनी एक्लो एमालेको बलमा छन् । उनीविरुद्ध सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्का चुनावी मैदानमा छन् ।

यसपटक इलाम–२ को चुनावी अंकगणित पनि नेम्वाङ अनुकूल छैन । अघिल्ला निर्वाचनहरूमा ढुक्क देखिने उनले यसपालिको प्रतिकूलता बुझेर जिल्लामा चुनावी दौडधुप बढाएका छन् ।

लगातार चुनाव जित्दै आएका नेम्वाङ यसअघि अरूका लागि पनि मत माग्न हिंड्थे । चुनाव जितेपछि गाउँ बिर्सने गरेको आरोपहरूको बनिबनाउ जवाफ हुन्थ्यो उनीसँग । यसपटक भने पहिलेभन्दा कठोर अवस्थामा खटिरहेका छन्, नेम्वाङ ।

उनले संविधानसभा अध्यक्ष भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ल्याउन खास भूमिका खेलेको दोहो¥याइरहँदा गाउँलेहरू जनता बिर्सने व्यवहार र विकासको कुरा उठाइरहेका छन् ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका ६९ वर्षीय नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोहीको मुद्दामा केही समय जेल परेका थिए, उनी ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको अध्यक्ष भएका उनी २०५६ को निर्वाचन जितेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर ऐतिहासिक संविधानसभाको अध्यक्ष भए ।

चुनावी अंकगणित

यसपटक इलाम–२ मा नेम्वाङ विरुद्ध युवा कांग्रेस डम्बरबहादुर खड्का सत्ता गठबन्धनको शक्ति परिचालन गरिरहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा पनि यो क्षेत्रबाट प्रतिस्पर्धामा छन् । 

२०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को समेत साथ पाएका नेम्वाङले ३६ हजार ५१७ र कांगे्रसबाट उनका प्रतिस्पर्धी केशव थापाले २६ हजार ८६५ भोट पाएका थिए ।

यसपटक भने अवस्था फरक छ । एमालेले २५ वर्षपछि पहिलो पटक गत स्थानीय निर्वाचनमा इलाम नगरपालिका गुमायो । उक्त चुनावमा इलाम–२ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा पनि एमालेभन्दा नेपाली कांग्रेस अगाडि छ ।

कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १३० मत पाएका छन् । यसरी गठबन्धनको कुल मत ३६ हजार ५२६ छ ।

इलाम–२ को दुईवटा प्रदेश सभा सदस्यमध्ये एउटा माओवादी केन्द्रले पाएको र अरू विषयमा मतभेद नभएकोले गठबन्धनबीच राम्रै सहकार्य हुने देखिन्छ ।

यसपटकको यस्तो चुनावी परिदृश्यले इलाममा चानचुने प्रयासले नेम्वाङको पाँचौं जित सम्भव नहुने देखाउँछ । जितका लागि उनले गठबन्धन दलहरूको भोट तान्नुपर्नेछ, त्यो पनि उल्लेख्य संख्यामा ।



No comments