Listen Nepali Songs

Know New

तिब्बती शरणार्थी र नेपाल

 तिब्बती शरणार्थीको ६५ वर्ष

६५ वर्ष भयो तिब्बतीहरुले आफ्नो राज्य गुमाउन शुरुवात भएको । तिब्बतीहरुको आफ्नो राज्य थियो । आफ्नो राजाको रूपमा दलाइ लामा थिए । ल्हासा राजधानी रहेको बलियो राज्य थियो । कहिले लडाइ र कहिले मित्रता गर्दै भए पनि नेपालसँग राम्रै सम्बन्ध थियो । चीनमा सत्ता परिवर्तनपछि बिस्तारै तिब्बत माथी पनि आँखा गाड्न थालेको चीन सरकारले अन्तत फागुन २७, २०१५ मा चीनिया सेनाका जनरल याङ चेङग्वुले चीनिया नृत्य अवलोकनको लागि तिब्बती अधिकारीहरु तथा दलाइ लामालाई निम्तो पठाए । तर, सैनिकहरु उपस्थित हुन नपाउने शर्त राखिएको थियो तथा दलाइ लामाको सुरक्षार्थ आउने सैनिकहरु पनि हतियार विहिन रूपमा आउनुपर्नेछ ।
यो निमन्त्रणा पछि तिब्बती जनतामा एउटा डर पैदा भयो । अब दलाइ लामाको जीवन माथि खतरा शुरु भएको छ । यस नृत्य प्रदर्शनी तिब्बती अधिकारी तथा उच्च अधिकारीहरु गएनन् । एक सप्ताह पछि उच्च अधिकारीहरुसँगको सल्लाह पछि दलाइ लामाले देश छोड्ने निर्णय गरे । चैत्र ४ गते बिहानको दश बज्न केही मिनेट बाँकी हुँदा दलाइ लामाले सदाको लागि आफ्नो पोटाला दरवार त्याग्दै केही खम्पाहरुको सुरक्षा घेरामा क्यूछु (ल्हासा) नदि तरे । यसरी यात्रा थालेका दलाइ लामाको टोलीले २ हप्तापछि चैत्र १८ गते पूर्वी भारत अरुणाञ्चलको बोमडिला पुगे । भारतीय सुरक्षा घेरामा सुरक्षित रहेका दलाइ लामा तथा उनका साथ आएका शुभचिन्तक अनुयायी तथा तिब्बती नागरिकहरुलाइ भारतले शरणार्थीको रुपमा स्वीकार्न तयार भयो । यसको करिब १ महिनापछि २०१६ बैशाख ७ गते उत्तरप्रदेशको मसुरी पुर्‍याइयो । दलाइ लामाको त्यहाँ भारतीय प्रधानमन्त्री नेहरुसँग भेटघाटपछि अन्य व्यवस्थाको टुङ्गो लगाइयो । तिब्बत छोड्ने र भारतमा शरण लिनेहरुको क्रम बढ्दै गयो । अन्तत एक वर्ष पछि २०१६ फागुन २७ मा दलाइ लामा तथा उनका अनुयायीहरु हिमाञ्चल प्रदेशको धर्मशाला तर्फ लागे ।
जसरी भारत तर्फ तिब्बती शरणार्थीहरुको घुइँचो लाग्यो । त्यसरी नेपालको उत्तरी सीमादेखी नजिक पर्ने तिब्बती राज्यहरुबाट नेपालमा पनि तिब्बती शरणार्थीहरुको प्रवेश पनि तिव्र रूपमा बढ्न थाल्यो । शुरुका केही वर्षमा नेपालमा प्रवेश गर्ने तिब्बती शरणार्थीहरुको संख्या ३० हजार नाघिसकेको थियो । पछि धर्मशालामा भारत सरकारले दलाइ लामालाई बस्ने व्यवस्था मिलाइए पछि भारत पलायन हुनेको संख्या ह्वात्तै बढ्यो । नेपालमा प्रवेश गर्ने शरणार्थीहरुलाई रेडक्रस, स्विस सरकार तथा नेपाल सरकारको संयुक्त प्रयासमा विभिन्न स्थानमा व्यवस्थापन गराइयो । जावलाखेल नजिकै तिब्बती शरणार्थीहरुका लागि व्यवस्थापन गरिएको थियो । साथै पोखरामा पनि हेम्जा क्षेत्रमा तथा छोरेपाटन क्षेत्रमा तिब्बती शरणार्थीहरुको बसोबासको व्यवस्थापन गराइएको थियो ।
स्विस नागरिक टोनी हेगन नेपालमा भूगर्भ तथा खनिजको अध्ययनका लागि आएका थिए । तर उनले सबैभन्दा बढि समय तिब्बती शरणार्थीहरुको व्यवस्थापनका लागि खर्च गरे । शरणार्थीहरुका लागि सबैभन्दा बढि चासो दिएको रेडक्रस (ICRC) ले टोनी हेगनलाई नेपालको प्रमुख प्रतिनिधीका रुपमा नियुक्त गरेको थियो । टोनी हेगनका अर्का सहयोगी सेन्ट जेवियर्सका फादर मोरान थिए ।
जाउलाखेलमा रहेको कार्पेट फेक्ट्रीको उद्घाटन राजा महेन्द्रले २०१८ भदौ १० गते गर्नुभएको थियो । टोनी हेगनको पहलमा कार्पेट फेक्ट्री खुले पनि आइसीआरसीको प्रतिनिधी नेपाल भ्रमणमा आउँदा शरणार्थीहरुको प्रयोजन व्यापारिक रूपमा भएको भन्दै कार्पेट फेक्ट्री बन्द गराउन भनेका थिए । तर टोनी हेगनले बन्द गराउनुको साटो कार्पेट बनाउने कामदार झन बढाए । यसरी कार्पेट फेक्ट्री बन्द नभए पछि दुई महिना पछि फेरी आइसीआरसीको प्रतिनिधी नेपाल आए । तर यस पटक टोनी हेगनले गहन भूमिका खेले । प्रतिनिधी भ्रमणकै समय पारेर दुई राजदूतलाई पनि फेक्ट्री अनुगमनका लागि निम्तो दिए । राजदूतहरुले कार्पेट उद्योग खोलेर शरणार्थीहरुको व्यवस्थापन गरेकोमा आइसीआरसीको प्रशंसा गरे । यसरी राजदूतहरुबाट प्रशंसा गरिरहँदा फेक्ट्री बन्द गराउने मनसायले आएका प्रतिनिधी चुपचाप फर्किए ।
यसरी नेपालमा तिब्बती शरणार्थीहरुको व्यवस्थापन गरेकोमा चीन केही हदसम्म रुष्ट थियो । तर पनि कुनै विरोध भने गरेन । सबै गरेर नेपालमा १२ वटा तिब्बती शरणार्थी केन्द्र स्थापना गराइएको थियो । जसमा ४ वटा केन्द्रमा कृषि सम्बन्धी व्यवस्था गरिएको थियो । २ वटा बसोबासका लागि मात्र थियो । भने ६ वटा कार्पेट लगायत विभिन्न हस्त सामग्री उत्पादनका लागि थियो । सन् १९८९ पछि शरणार्थीको कार्ड वितरण रोकियो । यहाँ आइसकेका तर १६ वर्ष उमेर नपुगेकाहरुलाई मात्र कार्ड दिन बाँकी थियो । सन् २००९ मा तिब्बती शरणार्थीहरुको गणना गर्दा २० हजार नाघेको थियो । तर पछि अचानक अमेरिका लगायत यूरोप पलायन हुने तिब्बती शरणार्थीहरु वृद्धी हुन थाल्यो । बिस्तारै नेपालमा बालबालिका र वृद्ध तथा असक्तहरु बढि बाँकी रहन थाल्यो भने युवाहरु बिस्तारै पलायन हुन थाल्यो ।
यहाँ तस्बिरहरुमा विभिन्न स्थानमा विभिन्न कार्य गर्दै गरेको तिब्बती शरणार्थीहरुलाई देख्न सकिन्छ । पहिलो र दोश्रो तस्विरमा कार्पेट बनाउनका लागि उनबाट धागो कात्ने काम गर्दै गरेको देख्न सकिन्छ । यसका लागि ऊन न्यूजिल्याण्ड तथा स्विटजरल्याण्डबाट ल्याइएको थियो । तेश्रो तस्विरमा शरणार्थी शिविरमा रहेका बच्चाहरु रेडक्रसको सहयोगमा प्राप्त खाना खाँदै गरेको देख्न सकिन्छ । चौथो तस्विरमा शरणार्थीहरु बस्न बनाइएको छाप्रो देख्न सकिन्छ भने पाँचौ तस्विरमा जाउलाखेल शरणार्थी शिविरमा रहेको कार्पेट उद्योगले उत्पादन गरेको कार्पेटहरु देख्न सकिन्छ । यस उद्योगले शुरुवाती समयमा नै वार्षिक २ लाख स्विस फ्रेंकको कार्पेट निर्यात गरेको थियो ।
छैटौं तस्विरमा पोखरामा रहेका शरणार्थीहरुका लागि रेडक्रसबाट पर्याप्त सहयोग नआए पछि भोकको समस्याले शरणार्थीहरुको समुह नै पोखरा सुनौली राजमार्ग निर्माणमा मजदूरका रुपमा काममा गएका थिए । दैनिक पाँच रुपैया पाउने गरेर ति शरणार्थीहरुले करिव ६ महिना काम गरेका थिए ।
सातौं तस्विरमा २०२८ सालको असारमा दलाइ लामाको जन्मदिनको समयमा नाचगानको कार्यक्रममा सहभागी भएका जाउलाखेल शरणार्थी शिविरका तिब्बतीहरु देख्न सकिन्छ । आठौं तस्विर भने घरायसी कामदारका रुपमा काम गरेका एक तिब्बती शरणार्थी महिला हुन् भने नवौं तस्विरमा २०२५ सालमा नेपाल प्रवेश गरेका तिब्बती पुरुष तथा महिलाहरु जाउलाखेल शिविरमा आइपुग्दै गरेको देख्न सकिन्छ ।



No comments