लोचन फूलको थुँगा - लघुकथा
रातको नौ बजेको थियो। श्रीमान अफिसबाट काम सकेर थकित मुद्रामा घर फर्किए। घर पस्नासाथ सास फेर्ने फुर्सदसमेत नपाई श्रीमती ठूलो स्वरमा कराइन् —
“अब बल्ल आइपुग्यौ? कता हराइरहेका थियौ यति ढिलो? कि कुनै अर्कैसँग लागेका हौ? घर आउन पनि यत्रो ढिला! म त हैरान भइसके तिमीलाई झेल्न!”
श्रीमतीले झगडा सुरु गरिन्। श्रीमानका आँखामा थकान थियो, अनुहारमा भोकको छाया गहिरो देखिन्थ्यो। केही बेर शान्त बसेर श्रीमान बोले —
“म दिनभर काम गरेर थाकेँ। आज त खाजा पनि खान पाइनँ। धेरै भोक लागेको छ। केही खाने कुरा देऊ न।”
श्रीमती झन् कठोर भइन्, “भोक लागेको छ भने आफैं पकाएर खा! म त थाकेको छु, सुतेँ।”
श्रीमान चुपचाप श्रीमतीका कठोर शब्दहरू सुन्दै रहे। भोकको पीडा र थकानले थिचिएको शरीर लिएर ओछ्यानमा पल्टिए। निद्राको झिल्को लाग्दै गर्दा फेरि श्रीमती चिच्याइन् —
“अब मजाले सुत्न थालेछौ, कुन्तासँग रात बिताएर आएर पनि सुत्न पाइन्छ? म त हैरान!”
श्रीमान केही बोल्दैनन्, चुपचाप सुन्दै बस्छन्। त्यो रात गुनासो र झगडामै बित्यो।
भोलिपल्ट बिहान श्रीमान विनम्र स्वरमा भने —
“थोरै खाजा बनाइदेऊ, अफिस जान ढिला भइहाल्छ।”
तर श्रीमतीले खाजा दिनुको साटो झनै अपशब्द बोलिन् —
“हे भगवान! यस्तो श्रीमान हुनु भन्दा त मर्नु नि राम्रो। यो मान्छेको अनुहार पनि देख्न मन लाग्दैन। बिहान उठ्न नपाउँदै खाजा चाहियो रे!” भनी झोक्किइन्।
श्रीमतीका ती कठोर शब्दहरूले श्रीमानको मन गहिरोसँग चस्कायो। उहाँको आँखा रसाए। मनमनै सोच्दै —
“यिनका लागि मैले के कम गरेँ र? कुनै कुराको कमी हुन दिइनँ, माया पनि गरें। तर आज मैले यस्तै व्यवहार पाउनु परेको छ।”
श्रीमान चुपचाप अफिसतिर निस्किए।
बेलुका श्रीमती छोराछोरी लिएर स्कुलबाट फर्किंदै थिइन्। घर नजिकै ठूलो भिड देखिन्। “के भएको हो यहाँ?” भन्दै नजिक गइन्। भिडको बीचमा आफ्नै श्रीमानको निर्जीव शरीर देख्दा उनी मूर्छित झैं भइन्। मान्छेहरू कानेखुसी गर्दै थिए —
“गाडीले ठक्कर दिएर निधन भएको रे।”
श्रीमती रोइरहेकी थिइन् —
“बुढा उठ न! म तिमीलाई धेरै माया गर्छु। अबदेखि झगडा गर्दिन। तिमी बाहेक यो संसारमा मेरो कोही छैन। यी नानीहरूलाई टुहुरो बनाउँछौ? उठ न, म खाना पनि बनाएर दिन्छु।”
श्रीमानको खल्तीमा एउटा कागज देखिन्। त्यहाँ लेखिएको थियो —
“प्रिय,
तिमीलाई मैले कति माया गरें, सम्मान गरें। तिमी र बच्चाहरूका लागि अफिस समयपछि पनि काम गर्थें। तर तिमीले मलाई कहिल्यै बुझिनौ। तिमीले मलाई घृणा र तिरस्कार मात्र दिई। तिमीले हिजो भन्यौ — ‘मरे पनि हुन्छ’। आज तिमीलाई त्यो इच्छा पूरा गरेर देखाएँ। अब त खुसी भयौ होला, है?”
त्यो पढेपछि श्रीमती फुत्किएर रुन थालिन् —
“उठ न बुढा, म अब झगडा गर्दिन। अब म तिमीलाई कहिल्यै दुख दिँदिन।”
तर ढिलो भइसकेको थियो। श्रीमान यो संसारबाट बिदा भइसकेका थिए।
समय बित्दै गयो। श्रीमतीले धेरै दुख झेल्नुपर्यो —
घरको आर्थिक संकट, समाजको तिरस्कार, आफन्तको हेला, गरिबी…। श्रीमानको मृत्युपछि सबै समस्याले घेरियो। आफन्तहरूले जमिन पनि हडपिदिए। अब पछुताउने बाहेक उनको हातमा केही रहेन।
उनी आफैंलाई धिक्कार्न थालिन्। श्रीमानको माया, मिहिनेत र सहनशीलता सम्झेर आँसु बगाउँथिन्।
त्यसैले भनिन्छ —
कहिल्यै यस्तो व्यवहार नगरौं जसले पछि पश्चाताप मात्रै बाँकी रहोस्।
श्रीमान–श्रीमती मिलेर सारा जीवनको यात्रामा साथ दिने हो। सुख–दुखमा एकअर्काको सहारा बन्ने हो।
यदि यही सम्बन्धको अपमान गरियो भने स्वर्ग जस्तो घर पनि नर्क बन्न सक्छ।
जीवनको मूल्य तब मात्र बुझिन्छ जब त्यो मान्छे हामीसँग हुँदैन।
सानातिना कुरा र रिसले जिन्दगीमा गम्भीर असर पार्न सक्छ।
त्यसैले —
👉 रिसको बेला निर्णय नगर्नु।
👉 एक आगो भयो भने अर्को पानी बन्नु।
👉 बोल्नु अघि सोचेर बोल्नुपर्छ — किनकि बोलीले भोलिको जीवन नै बिगार्न सक्छ।
श्रीमान–श्रीमतीको झगडा परालको आगो जस्तै हुनु पर्छ
केही बेर बल्ने तर चाँडै निभ्ने
(लोचन 'फूलको थुँगा')
No comments