कविता: गरिबी
ओच्छ्याई फलेक दाउराका, छ बसाई बिझाउँदो
झर्लान झरिका फल, छिचोली छानो भिजाउँदो
कन्याइ कन्सिरी, बित्छ बेला, हस्याङफस्याङमै आज
जो होला, भोलि जोहो होला; आश हरदम फिजाउँदो
खालि-ख्याउटे पेट न छ, नाडिले ताकत कहाँ पाउँदो
आधा मेलो सकिँदो छ; छ आधा घाम उदाउँदो
होला त कोहि बुझ्ने सुन्दरता: नङ्ग्रा, झुत्रा अनि मैलाको
सुक्दा, भिजेकै थाङ्ना जिउभरी; सुगन्ध के आउँदो ?
पट्पटी फुटेका पैताला, हत्केला फुटेकै; चहर्याउँदो
फुटेका औंलाहरुमा अझ, अल्झन कति अल्झाउँदो
फुटे पनि ज्वरै, छैन अन्तर; छैन फुर्सद ओखतिको
फुटेकै भाग्य लागे कठै, हो कति पीडा चहर्याउँदो ?
कविः बद्री भेटवाल |
No comments