Listen Nepali Songs

Know New

पोखरा विमानस्थलमा इन्डियन एयर लाइन्सको विमान

 पोखरा विमानस्थलमा इन्डियन एयर लाइन्सको विमान

१९५३ अगष्ट १ को दिन भारतमा इन्डियन एयर लाइन्सको जन्म भयो । बिभिन्न समयदेखी निजी विमान सेवाहरुले हवाइ यातायातको सेवा दिइरहेको भारतमा स्वतन्त्रता पछि सरकारी विमान सेवा हुनुपर्ने भन्दै जोड दिइएको थियो । जसको कारणले अधिकांश निजी विमान सेवा कम्पनीहरुलाई सरकारीकरण गरेर इन्डियन एयर लाइन्सको जन्म भएको थियो । यसरी निजी विमान कम्पनी एकै ठाँउमा गाभिदा ७४ वटा डिसी-३, ३ वटा डिसी-४ तथा १२ वटा भाइकर्स भाइकिङ विमान भएको थियो ।
नेपालमा केवल काठमाडौमा मात्र सेवा दिएको भारतीय विमानहरु बेला बेलामा चार्टर्डको रुपमा पोखरा, सिमरा, भैरहवा तथा बिराटनगरमा पनि आउने गर्दथे । पोखरा विमान स्थलमा हिमालयन एभिएशन, डेक्कन एयर, दरभंगा एभिएशन, जामएयर तथा इन्डियन एयरलाइन्सका विमानहरु आएको देखिन्छ । हिमालयन एभिएशनको विमान पोखरामा अवतरण गर्ने पहिलो विमान पनि हो । यसै विमानमा बसेर विपी कोइराला तथा गणेशमानसिंह पोखरा आएका थिए ।
यो तस्बिर खिच्ने हेरोल्ड लायल डजनवेरी अमेरिकी सहयोगी संस्था यूएसओएम (US Operation Mission) को लागी कृषी विशेषज्ञको रुपमा नेपाल आएका थिए । राणा शासनको अन्त्य पछि बिदेशीहरुको चहलपहल संगै अमेरिकी उपस्थिती पनि विस्तारै नेपालमा शुरु हुन थालेको थियो । कृषी विशेषज्ञ हेरोल्ड काठमाडौमा २००८ मा झरेका थिए । तिनै हेरोल्ड भारतीय कृषी विज्ञहरुको साथ पोखरामा पनि बागवानीको स्थापनाको लागी आएका थिए । यसरी भारतबाट आउने क्रममा पटनाबाट इन्डियन एयर लाइन्सको विमान चार्टर्ड गरेर ल्याएका थिए ।
यो तस्विर खिचिएको मिती यकिन गर्न नसकिए पनि २०१५ साल आसपासमा खिचिएको हुनुपर्छ । पोखराको मालेपाटनमा रहेको वागवानीको शुभारम्भ २०१६ सालमा भएर २०१८ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।



No comments