संक्षिप्त परिचय
|
इलामको कन्याम चिया क्षेत्रः सुन्दर दृश्य |
मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो । मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बङ्गाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ । इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूमा उल्लेख छ । इलामको नामाकरणको सम्वन्धमा एतिहासिक, भौगोलिक, प्राकृतिक मानव शास्त्रीय आदि दृष्टिकोणले अध्ययन हुन बाँकी नै छ । तर पनि यसको नामाकरणका सम्वन्धमा निम्न अनुमानहरु लगाउने गरिन्छ ।
इश्वीको १३०० वर्ष अघि पर्सिया (हालको इरान) का इलाम बंशी राजाले दक्षिण पश्चिम पर्सियाका काशी बंशी राजालाई विजय गरी सदाकालागि देश निकाला गरे र तिनीहरु पूर्वतर्फ लागे । तिनै मानिसहरु याहाँ आई बसोबास गरे र आफ्नो जन्मभूमिको सम्मानमा यो ठाउँको नामपनि इलाम राखे ।
इलामको अर्थ लेप्चा भाषामा पुत्का (एक प्रकारको मौरी) को मह हुन्छ, भने लिम्बु भाषामा घुमाउरो बाटो हुन्छ ।
प्राचिन शास्त्रीय मत अनुसार राजा सरियातिले पुत्र प्राप्तिका लाlग हालको माईपोखरीमा पुत्रेष्ठि यज्ञ गरे । उनकी पत्नि छोराको सट्टा छोरी चाहन्थिन र यज्ञ गर्ने ब्राम्हणलाई खुसुक्क छोरी जन्मने यज्ञ गरिदिन आग्रह गरिन । ब्राम्हणहरुले पनि रानीको आग्रह अनुरुप छोरी जन्मने यज्ञ गरिदिए र छोरी (इला) जन्मिन । छोरी जन्मेको देखेर राजा सरियाती इलामा (इला-छोरी र मा चाहिदैन) इलामा भन्न थाले । यही इलामा पछि इलाम भयो भन्ने पनि भनाईछ ।
नेपाल एकिकरण पूर्व दश लिम्वुवानको एक अंग स्वशासित प्रशासनमा रहेको थियो । यसक्षेत्रको सदरमुकाम नागरिगढीमा थियो । सुगौली सन्धिपछी २ वर्ष करफोक (लाप्चा भाषामा ढुकुर बस्नेठाउँ) मा वसेपछि विक्रम सम्वत १८७५ मा सदरमुकाम इलामडाँडामा सारियो । त्यसैले यो एकीरणकै समयदेखिको पुरानो सदरमुकाम कायम रहिरहेको जिल्ला पनि हो । नागरिगढीका पहिलो सुब्बा (प्रशासकीय प्रमुख) जयन्त खत्रीले नै सदरमुकाम करफोक हुदै इलाम डाँडामा सारेका थिए ।
महाभारत र शिवालिक पर्वत शृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली, सानाठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखरहरु (श्री अन्तु, सन्दकपूर, सिध्दिथुम्का आदि) तथा अन्य प्राकृतिक सुन्दरता आदिले पर्यटकलाई आकर्षण गरिरहेका छन् । प्रकृतिको वरदानको रुपमा रहेको यहाँको उर्वर भूमि एवम् पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला कृषि उत्पादनमा अग्रणी मानिन्छ । सांस्कृतिक, र प्राकृतिक पक्षहरूमा समृद्ध यो जिल्ला ‘’पूर्वी पहाडकी रानी”, नगदेबालीको खानी’जस्ता उपनामले चिनिन्छ । इलाम जिल्लालाई विभिन्न ‘अ’ (हाल आठ) ‘अ’ को जिल्ला भनेर चिनिने गरेको छ । ‘अ’ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्यले परिभाषित गरिन्छ । हाल किवि फलको उत्पादन पनि बढिरहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दूरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ । भारतको दार्जिलिङसँग सीमा जोडिएको इलाममा हल्का भिराला पहाड, ससाना थुम्काथुम्कीमा देखिएको हरियाली एवं स्वच्छ हावापानीबाट पर्यटकहरू आकर्षित हुने गर्छन् । मनै लोभ्याउने प्राकृतिक सौन्दर्य नै यहाँको प्रमुख आकर्षण मानिन्छ । सन्दकपुर, छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्काजस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन् । जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छ । यहाँका ऐतिहासिक बौद्ध गुम्बा, मन्दिर तथा लोपोन्मुख लाप्चा जातिका साथै राई, लिम्बु लगायतका अन्य जातजातिको संस्कृति नै इलामको सांस्कृतिक आकर्षण र पहिचान हो । विभिन्न जातजातिको आवासभूमि इलाम सांस्कृतिक रूपले अनेकतामा एकताको थलोका रूपमा पनि चिनिन्छ । लाप्चा, लिम्बू, राई, तामाङ, गुरूङ, शेर्पा, क्षेत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिस यस जिल्लामा बसोबास गर्छन् । धान नाच, च्याब्रुङ, चण्डी नाच, मारुनी नाच, बालन, सगिँनी, डम्फु नाच आदि यहाँका जातीय सांस्कृतिक परम्परा हुन् ।
समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । विभिन्न नगदे वालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको आदि थलो हो । इलाम बजारको पश्चिम उत्तरी भागमा रहेको चिया कमान नेपालको पहिलो संगठीत कृषि उद्योग हो । यहाँ रहेको चिया कारखाना नेपालको जेठो औद्योगिक कारखाना हो जसबाट बि. सं. १९३५ मा नै प्रशोधित चिया बजारमा ल्याइएको थियो । अलैंची, आलु, अम्लिसो, अदुवा, दूध, किबी फल र विभिन्न प्रकारका जडिबुटी उत्पादनका लागि कहलिएको इलाम हरित कृषिको जिल्ला हो । अत्यन्त आकर्षक र मनमोहक प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । विविध जात जातिको बसोबास रहेको इलाममा प्राचिन मठ मन्दिर र गुम्बाहरु सांस्कृतिक धरोहरका रूपमा रहेका छन् । लेप्चा जातिको बसोबासो नेपालमा इलाम जिल्लामा मात्रै छ । निकै प्रजातिका चरा, विभिन्न किसिमका पुतली र रेड पाण्डाको वासस्थान रहेको इलाममा प्राकृतिक पोखरी पनि उल्लेख्य मात्रामा छन् । इलामको हाँसपोखरी क्षेत्रलाई सुनगाभाको स्वर्ग भनेर चिनिन्छ । इलामकै उत्तरी भागमा उद्गमस्थल रहेका र दक्षिणतिर बग्ने चार माई खोलाका कारण पुराना मानिस अद्यापि इलामलाई चारखोल भन्ने गर्दछन् ।
हालको इलाम जिल्ला नेपाल एकीकरण हुनु भन्दा अगाडि राई र लिम्बु जातिहरूको किराँत राज्य थियो। त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। यहाँको चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन। प्राकृतिक बरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ। साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला "पहाडकी रानी, नगदेबालीको खानी" जस्ता उपनामले चिनिन्छ। इलाम जिल्लालाई विभिन्न 'अ'को जिल्ला भनेर पनि चिनिन्छ। यसै क्रममा यसलाई हाल ८ 'अ'को जिल्ला भनेर चिनिन्छ। जसमा 'अ'को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ। पूर्व-पश्चिम राजमार्गको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दुरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ। इलाम जिल्लाको क्षेत्रफल १७०३ वर्ग किलोमिटर र जनसङ्ख्या २०६८ को जनगणना अनुसार २९०,२५४ जना रहेको छ।
जिल्लाको नामाकरण
हालको इलाम जिल्ला नेपाल एकिकरण हुनु भन्दा अगाडि राई र लिम्बु जातिहरूको किराँत राज्य थियो। त्यसमा पनि प्राचिन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भइ भएको मानिन्छ। जसमा "इ"को शाब्दिक अर्थ "घुमाउरो" र "लाम"को शाब्दिक अर्थ "बाटो" अर्थात इलामको अर्थ "घुमाउरो बाटो" हुन जान्छ। यस अर्थलाई पुष्टि गर्ने साँच्चै नै झापा देखि इलाम आउँदा धेरै घुमाउरो बाटो तय गर्नु पर्दछ। यसरी हेर्दा यस जिल्लाको नाम इलाम राखिनु उपयुक्त नै देखिन्छ। तर इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूबाट प्रमाणित हुन्छ तथा जुन "घुमाउरो बाटो"को कुरा गरिन्छ त्यो बाटोको निर्माण विक्रम संवत् २०१५ तिर भएको पाइन्छ सो पूर्व नै ईलाम शब्दको प्रयोग भएको पाइन्छ। यसैले यो भन्दा पनि विश्वस्त प्रमाण यो पाइन्छ कि इलामको विभिन्न ठाउँमा रहेका भट्टराई ब्राह्मणका वंशज आदि गुरु शङ्कराचार्यको समयमा भारतको केरल प्रान्तबाट आएका थिए जसलाई केरलमा भट्टतिरि भनिन्छ भट्टतिरि कै अपभ्रंश भट्टराई भएको पुष्टि भईसकेको छ तथा केरलमा ब्राह्मणहरूका घरलाई ईल्लम (यसलाई पुष्टि गर्न पुराना कागजातहरूमा लेखिएको अंग्रेजी शब्द Illam जहाँ Double LL लेखिएको छ, को वास्तविक उच्चारण पनि ईल्लम नै हुन्छ) भन्ने गरिन्छ। यही ईल्लम शब्द अपभ्रंश भएर ईलाम भएको र कालान्तरमा दीर्घ "ई" लाई लेख्न छोडियो र इलाम लेखिन थालिएको हो भन्ने एक तर्क विद्बानहरूको पाइन्छ।
इलामको नामाकरणका सम्बन्धमा केही किम्वदन्तिहरु छन् । जस्तै, प्राचिन समयमा लिम्बु जातिहरूकै वाहुल्यता रहेको इलामको नामाकरण लिम्बु भाषाबाट हुन गएको हो । लिम्बु भाषामा ‘इ’ र ‘लाम’ दुई शब्दको अर्थ क्रमशः घुमाउरो र बाटो हुन्छ । डँडैडाँडाले भरिएको इलामको एक डाँडोबाट अर्को डाँडो नजिकै देखिए पनि त्यहाँ पुग्न खोला झरेर उकालो घुम्दै पुग्नु पर्ने हुन्छ । दोस्रो, इलामको पूर्वी भेगमा लाप्चाहरूको वसोवासो रहेकाले तिनकै भाषाबाट इलाम भएको हो । रोंग भाषामा ‘इ’ भनेको पुत्का (एक प्रकारको कीट जसले मह बनाउँछ) र ‘लोम’ भनेको बासस्थान हुन्छ । यस क्षेत्रमा मनग्गे पुत्काको मह पाइने भएकाले ‘इलोम’ भन्दा भन्दै इलाम भएको हो । तेस्रो, श्रीमद्भागवतको नवौँ स्कन्धमा वर्णन भए अनुसार इला भन्ने राजाले यस क्षेत्रमा राज्य गरेकाले उनकै नामबाट इलाम नाम रहन गएको हो ।
भौगोलिक अवस्थिती
- अक्षांश उत्तरी २६.४०" देखि उत्तरी २७.८" सम्म
- देशान्तरः पूर्वी ८७.४०" देखि पूर्वी ८७.१०" सम्म
- उचाई:- समुन्द्री सतहबाट ३०० मिटर देखि ३६३७ मिटर सम्म
- सिमाना:- पूर्व भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ्ग जिल्ला, पश्चिम मोरङ र पाँचथर जिल्ला, उत्तर पाँचथर जिल्ला र दक्षिण झापा जिल्ला
- क्षेत्रफल:- १७०३ वर्ग किलोमिटर
- अवस्थिति:- पहाड
- औषत लम्बाई:- पूर्व-पश्चिम ५० किलोमीटर
- अधिकतम लम्बाई:- पूर्व-पश्चिम लम्बाई ५७ किलोमीटर
- औषत चौडाई:- उत्तर-दक्षिण ३८ किलोमीटर
- अधिकतम चौडाई:- उत्तर-दक्षिण ४५.८ किलोमीटर
हावापानी
जसरी नेपालको हावापानीमा बिषमता पाइन्छ ठीक त्यसरी नै इलाम भित्रको हावापानीमा पनि बिविधता पाइन्छ। हावापानी बिषम हुनुमा यहाँको धरातलीय स्वरूप नै हो। जिल्लाको बेंसी क्षेत्रमा उष्ण मध्य पहाडी क्षेत्रमा समशीतोष्ण र उच्च पहाडी क्षेत्रमा शीतोष्ण एवं लेकाली हावापानी पाइन्छ। जिल्लाको उच्च पहाडी क्षेत्रमा तापक्रम न्यूनतम शून्य डीग्री सेल्सियस सम्म र होचो बेसी क्षेत्रमा गृष्ममा अधिकतम ३१ डीग्री सेल्सियस सम्म पुगने गरेको तथ्याङ्क पाइन्छ। प्राय जसो २००० मिटर भन्दा माथिको चुचुराहरूमा यहाँ हिउँ पर्दछ। बङ्गालको खाडीबाट निकट हुने र इलामको अधिकांश पर्वत श्रेणीहरू बंङ्गालको खाडी सँग सम्मुख ढाल बनाइ ठडिएकाले गुष्ममा अत्याधिक वर्षा हुने गर्दछ।
मुख्य बासिन्दा
लाप्चे, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा,थामी, पहरी, क्षत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसहरू यस जिल्लामा बसोबास गर्दछन। सन्तपुर (सन्दकपुर) ३०००मी., छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन, जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छ।
व्यापार व्यवसाय
कृषि तथा पशुपालन इलामको मुख्य पेशा भएपनि व्यापारले पनि मुख्य पेशाको स्थान लिएको छ। ईलाम बजार,बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली यहाँका मुख्य व्यापारीक केन्द्रहरू हुन्। इलाम बजार जिल्ला सदरमुकाम हो, जुन राजधानीदेखि करिब ८५० कि.मी.को दूरीमा अवस्थित छ। चिया पत्ती, अलैँची, अदुवा, आलु,अम्लिसो, अकबरे खुर्सानी, ईसकुस, दूध आदि यहाँका मुख्य कृषि उपज हुन्। इलाममा हाल १० भन्दा बढी चिया प्रशोधन कारखानाहरू रहेका छन्। इलामको अर्थोडक्स चिया युरोप र अष्ट्रेलियाली बजारमा निकै लोकप्रिय छ। यसका अतिरिक्त पशुपालन खासगरी गाई पालन पेशा पनि इलाममा फष्टाएको पेशा हो। प्राचिन समयमा यहाँ बेलायती तथा स्थानीय जातका गाईबस्तुहरू पाल्ने गरिन्थ्यो भने अहिले आएर जर्सी, होलेस्टेन जातका गाई पाल्ने प्रचलन रहेको छ। पशुपालनमा बाख्रा तथा उच्च हिमाली भेकमा भेडा पनि पाल्ने गरिन्छ, जुन खासगरी मासु तथा ऊनका लागि खपत हुन्छ। हाँस, कुखुरा, सुँगुर, माछा पालनको चलन पनि बढ्दो रहेको छ। व्यापारमा कृषि उपजको अतिरिक्त लत्ता कपडा एवं दैनिक उपभोगका सामानहरू स्थानीय बजारमा विक्री वितरण हुन्छ। तेस्रो मुलुकबाट उत्पादित विद्यूतीय उपकरण, जुत्ता, फेन्सी कपडा, छाता आदि सामान किन्न सीमास्थित बजारहरू भारतीय ग्राहकहरूले भरिएका हुन्छन्। यहाँको हरियालीयुक्त वातावरण का कारण विस्तारै पर्यटन पनि उद्योगको रूपमा फस्टाउने सङ्केत देखा परेको छ।
विकास तथा पूर्वाधार
इलामलाई विकसित पहाडी जिल्लाको रूपमा लिइन्छ। यहाँका बासिन्दाहरूले खाद्य बाली भन्दा नगदे बालीको खेती धेरै गरेकाले तीव्र आर्थिक विकास गरेका हुन। विगत बीस वर्षमा यस जिल्लाले राम्रो आर्थिक उन्नति गरेको छ। जिल्ला बासीहरूले आफ्नै श्रमले गाउँ गाउँसम्म मोटरबाटो पुर्याएका छन। जिल्लाको मुख्यबाटो मेची राजमार्गले छोएका केही गाउँमा केन्द्रीय विद्युत् प्रसारण पुगेको भएता पनि अधिकांश स्थानमा मानिसहरूले पेल्ट्रिक सेट तथा सौर्य उर्जाबाट बिजुली निकालेर प्रयोग गरेका छन्।
इलामका धार्मिक तथा पर्यटकीय स्थलहरू :
सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी, लारूम्बा (माङसेबुङ) आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीय स्थान इलामले समेटेको छ। सबै भाग पहाडी भेकमा पर्ने यस जिल्लाको प्राकृतिक सौन्दर्यका कारण विस्तारै पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिँदैछ। नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पर्यटकहरूको ओइरो लाग्ने गर्दछ। हरियाली युक्त चियाबारी भएको कन्याम डाँडामा वनभोज खानेहरूको ताँती लाग्ने गर्दछ।
श्रीअन्तु
लाप्चा भाषामा अन्तुको अर्थ अग्लो डाडाँ भन्ने हुन्छ । अन्तुडाँडा इलामको एक पर्यटकीय गन्तव्य हो । श्रीअन्तु नामले यसलाई चिनिए पनि बिगतमा समाल्बुङ र श्रीअन्तु गाविसको बीचमा पर्ने यो स्थान हाल सूर्योदय नगरपालकीकामा पर्दछ । यो समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । मेची राजमार्गमा पर्ने फिक्कल बाट १७ कि.मी. र नेपालको एक पूर्वी नाका पशुपतिनगरबाट २२ कि.मि को दुरीमा यो डाँडा रहेको छ । विसं ०४३ मा यसलाई दीपेन्द्र शिखरको नामकरण गरिएको भए पनि यो श्रीअन्तु वा अन्तुडाँडाबाट प्रसिद्ध छ ।
माईबेनी
माइखोला र जोगमाईको सङ्गमस्थललाई माइबेनी नामले चिनिन्छ । बिगतमा नाम्सालिङ गाविस र इलाम नगरपालिकाको सिमाना स्थान रहेको यो स्थान अहिले इलाम नगरपालिकामा पर्दछ । हरेक वर्ष माघ १, २ र ३ गते त्यहाँ मेला लाग्ने गर्छ । यो यस क्षेत्रकै महत्वपूर्ण तीर्थस्थल हो । माईबेनी इलाम बजारबाट करीब तीन किलोमिटर पूर्व पर्छ यहाँ बडाहाकिमहरु इन्दु शमशेर, रघुवीर बुढाथोकी र टङ्कनाथ बाँस्तोलाको सक्रियतामा निर्मित शिव मन्दिर पनि रहेको छ ।
माईपोखरी
|
माईपोखरीको सुन्दर दृश्य |
विगतको माईपोखरी र सुलुबुङ गाविसको सिमानामा र हाल सन्दकपूर गाउँपालिकामा पर्ने इलामकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल माईपोखरी हो । माइपोखरी इलाम सदरमुकाम देखि १५ कि.मि. को दुरीमा रहेको प्रर्वतीय सिमसार हो । यो २७0०० ‘०४” उतरी अक्षांस र २७0 ००’ ४३” देखी ८७०५६ ‘१४” पूर्वि देशान्तर सम्म फैलिएको छ । नौओटा कुना भएको पोखरी निकै आकर्षक छ । यो तारा आकृतिको छ । १ दशमलव ८८ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस पोखरीको अर्धव्यास ७ सय ५० मिटर छ । यो क्षेत्र जैविक विविधताका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । यो क्षेत्र हिन्दु, बौध्द तथा किरात धर्मावलम्वीहरुको साँस्कृतिक सगमस्थलको रुपमा पनि रहेको छ । विश्वमै मह्त्वपूर्ण कञ्चनजंघा भू–परिधि क्षेत्रको दीगो संरक्षण गर्न अत्यावश्यक जैविक मार्गको भूमिका निर्वाह गर्ने तथा विभिन्न रैथाने संकटापन्न र दुर्लभ जीबजन्तुहरु रहेको माईपोखरी क्षेत्रको ९० हेक्टर क्षेत्रफल (सन) २८ अक्टोवर २००८ मा विश्व रामसार क्षेत्रमा सूचिकृत भएको छ । यो रामसार क्षेत्र २०८० मिटर देखी २१६४ मिटर उचाइमा अवस्थित छ । यहाको तापक्रम क्रमश: गर्मीमा अधिकतम १८० सेल्सियस र जडोमा न्यूनतम २० सेल्सियसको वीचमा रहने गर्दछ । औषत वार्षिक वर्षा ३००० मी.मी भन्दा वढी हुने गर्दछ । उपोष्ण र समसितोषण हावा पानीको संगमस्थल माइपोखरी कञ्चनजंघा भू–परिधि (Landscape Complex) को मध्य भागमा अवस्थित रहेको छ । अत्यन्त मनमोहक जङ्गलले घेरिएको यो स्थानमा विसं १९५४ मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ । माईपोखरीसँगै जोडिएको छिन्तापु चुचुरोको उचाइ ३ हजार २ सय मिटर छ, जसले महाभारत पर्वत श्रेणी र शिवालिक पर्वतश्रेणीलाई छुट्ट्याउँछ । यस क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँस तथा पुतलीहरू पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएको जीव ठकठके (पानीगोहोरो) तथा पोखरीमा पाइने गलैंचे झ्याउ पनि यहाँ देख्न सकिन्छ । माईपोखरीमा कहिलेकाहीँ आउने छाललाई स्थानीय वासीले अनिष्टको सङ्केतका रूपमा लिने गर्छन् ।
छिन्तापु
सन्दकपुर गाउँपालिकामा माई पोखरी संगै जोडिएर रहेको यसको उचाई ३२०० मिटर रहेको छ । यसले महाभारत पर्वत श्रृखला र शिवालिक पर्वत श्रेणीलार्इ छुटयाउएको छ ।
सन्दकपुर
इलाम जिल्लाको उत्तरी भेगमा पर्ने जिल्लाकै उच्च चुचुरो हो । यसको उचाइ समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर रहेको छ । यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासहित कञ्चन जंघा र भूटानसम्मका हिमशृङ्खलाहरू देख्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा कञ्चनजङ्घाको मनमोहक दृश्य यहाँबाट देख्न सकिन्छ । विभिन्न रङमा फुल्ने लालीगुराँस फूलका साथै अनेकौं प्रकारका स्थानीय जङ्गली फूलहरूले सन्दकपुरलाई सजाएको छ । यो नेपाल र भारतको सिमाना नजिकमा पर्छ । सन्दकपुर घुम्न नेपाल, भारतसहित तेस्रो मुलुकका पर्यटकहरू आउने गर्छन् । इलाम सदरमुकामबाट माईपोखरी, माईमझुवा हुँदै करीब ३० किलोमिटर सडक पार गरेपछि सन्दकपुर पुगिन्छ । त्यस्तै फिक्कलबजार बाट पनि नयाँबजार हुँदै ४५ कि.मि.को दुरीमा सन्दकपुर पुग्न सकिन्छ । यो सन्दकपूर नै माइखोलाको उद्गम स्थल पनि हो ।
|
सन्दकपुर |
सिद्धिथुम्का
समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको सिद्धिथुम्का सदरमुकामबाट पश्चिममा पर्छ । यहाँबाट सूर्योदय, सूर्यास्त तथा चुरे र महाभारत शृङ्खला, तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुग्न सदरमुकामबाट करिव १७ कि.मि को यात्रा तय गर्नुपर्छ ।
माङमालु
समुद्री सतहबाट २ हजार मिटरको उचाइमा अवस्थित माङमालुङ धार्मिक महत्व बोकेको स्थल हो । बाँझो र इभाङको बीचमा माङसेवुङ गाउँपालिकामा पर्ने यो स्थान किराँत धर्मावलम्बीहरूको एक पवित्र स्थल पनि हो । यस ठाउँलाई औतारी डाँडो भनेर पनि चिनिन्छ । यहाँ सिंह, सर्प, चिल आदि जीवजन्तुहरूको ढुङ्गाले बनेका मूर्ति तथा विभिन्न चित्र प्रशस्त छन् । मात्रिका किराँतेश्वरको गुफा यहाँको महत्वपूर्ण धार्मिक सम्पदा हो । यो जंगलभित्र शिवपार्वतीको विवाहको अवसरका दृस्य झलकाउने ढुङगाका जीवन्त र प्राकृतिक आकृतिहरु रहेका छन् । बेहुला बनेका शिव र उनको साथी (लोकेन्द्रे) अनी बेहुली वनेकी पार्वती र उनकी साथी (लोकन्द्री) मानिने मूर्तिहरु, शिवपार्वतीले खाना पकाउन वनाएको ढुङगाको चम्का (चुलो) सिहं आकृतिको प्राकृतिक ढुङगाको मूर्ति, शिव पार्वतीको कृडास्थल गुफा लगायतका विचित्र लाग्ने प्राकृतिक दृस्यहरु रहेका छन् । त्यस्तै एउटा विशाल ढुंङगा माथी अर्को विशाल ढुङगा रहेको छ । जसलाई सामान्य बलको प्रयोगबाट लरक्क हल्लाउन सकिन्छ । तर ढलाउन / लडाउन भने सकिदैन । एउटा १ फिट जति गोलाईको प्वाल रहेको छ । त्यहाँबाट जाडो महिनामा तातो वाफ निस्क्न्छ र त्यसमाथी हात राख्न सकिदैन भनिन्छ । यि विषय वैज्ञानिक दष्टिकोणले पनि अध्ययन अनुसन्धान गर्न आवश्यक र उपयूक्त जस्तो लाग्दछ । इलाम सदरमुकामबाट र झापाको दमक तथा पाँचथरको रवि हुँदै पनि माङमालुङ जान सकिन्छ ।
गजुरमुखी
देउमाई खोलाको किनारमा रहेको गजुरमुखी देवीको मन्दिर समुद्री सतहबाट ७ सय मिटरको उचाइमा रहेको छ । यो पनि अर्को धार्मिक महत्व बोकेको स्थल हो । यहाँ कात्तिक पूर्णिमाको दिन ठूलो धार्मिक मेला लाग्छ । गजुरमुखी इलामबाट नेपालटार, मङ्गलवारे बजार हुँदै करीब ४१.५ कि.मि को दूरीमा पुग्न सकिन्छ ।
पाथीभरा
समुद्री सतहबाट १ हजार ८ सय मिटरको उचाइमा अवस्थित पाथीभरा धार्मिक महत्व बोकेको स्थल हो । यो पूर्वी इलामको साविक कोल्बुङ गाविस हाल रोङ गाउँपालिकामा पर्छ । कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस ठाउँमा मन्दिर बनाइएको छ । मेची राजमार्गको कुटीडाँडाबाट करीब २० मिनेट सिँढी खुट्किला उक्लेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ । यी देवीलाई ताप्लेजुङकी प्रसिद्ध पाथीभरा देवीकी बहिनीका रूपमा पुजिन्छ । कसैकसैले यिनलाई सानी पाथीभरा देवी पनि भन्छन् । विभिन्न अध्ययनले यहाँ प्याराग्लाइडिङको उच्च सम्भावना रहेको देखाएका छन् ।
नारायणस्थान
यो स्थान इलाम बजारमै छ । यहाँ भगवान् शिव, सन्तोषी माता र नारायणको मन्दिर छ । यो मन्दिर शिक्षाको प्रचार प्रसारका दृष्टिले पनि महत्वपूर्ण रहेको छ । यो मन्दिर भवानीदास राजलवटव्दारा विसं १९२२ मा निर्माण गरिएको हो ।
माईस्थान
इलाम बजारको नजिकै प्रसिद्ध भगवतीको मन्दिर रहेको छ । यस स्थानमा नियमित पूजापाठ हुनुका साथै पुराणहरू पनि लगाउने चलन छ । यो स्थानलाई खलङ्गा खाल्डो र मन्दिर अगाडिको ढुङ्गालाई इलङ्गा ढुङ्गा भनिन्छ । मन्दिर नजिकै गणेश, डङ्किनी र सिंहवाहिनीका ससाना मन्दिर पनि रहेका छन् ।
सेतीदेवी
इलाम नगरपालिकाको साविक वडा नम्बर– ९ हाल वडा नं. ६ को यो मन्दिर पुवाखोलाबाट २ सय मिटर माथिको पहरामा छ । पहराभित्र रहेको विशाल ढुङ्गालाई देवीका रूपमा पूजा गर्ने गरिन्छ ।
इलाम जिल्लाका मुख्य व्यपारिक केन्द्रहरू
- आइतबारे हाट लाग्ने दिन आइतबार,
- इलाम बजार हाट लाग्ने दिन आइतबार र बिहीबार
- कुटीडाँडा,
|
सिद्धिथुम्का |
गजुरमुखी,- गरूवा,
- गोदक,
- गोर्खेहाट लाग्ने दिन बुधबार,
- गोलाखर्क भञ्ज्याङ,
- चुरेघाँटी,
- चुलाचुली,
- छिरूवा,
- जमुना बजार हाट लाग्ने दिन बुधबार,
|
भालुढ्गा |
- इलाम,जौबारी,
- तीनघरे हाट लाग्ने दिन आइतबार,
- तोरीबारी
- देउराली बजार,
- धाप,
- नयाँबजार हाट लाग्ने दिन मंगलबार
- नवमी बजार, जीतपुर,
- नवमी बजार, लुम्दे हाट लाग्ने दिन आइतबार,
- नेपालटार,
- पञ्चमी बजार, सिद्धिथुम्का, हाट लाग्ने दिन बिहीबार,
- पशुपतिनगर हाट लाग्ने दिन सोमबार,
- पाल्टाँगे,
- पूवाबजार,
- फिक्कल हाट लाग्ने दिन बिहीबार,
- बतासे(इलाम),
- बरफल्याङ,
- बिब्ल्याँटे,
- मंगलबारे हाट लाग्ने दिन मंगलबार,
- मानेभञ्ज्याङहाट लाग्ने दिन शुक्रबार,
- रक्से,
|
छिन्तापुको गुराँस |
राँके,- लसुने, कोल्बुङ,
- शनिश्चरे, जोगमाई हाट लाग्ने दिन शनिबार,
- शुक्रबारे नाम्सालिङ हाट लाग्ने दिन शुक्रबार,
- हर्कटे
- ठुलोबर्दु
- कटुसे बजार लक्ष्मिपुर, हाट लाग्ने दिन शनिबार
|
इलाम चिया फ्याक्ट्री नेपालकै पहिलो मानिने चिया फ्यक्ट्री |
|
कन्यामको फेरिदों दृश्य |
इलाम जिल्ला |
---|
|
|
देश | नेपाल |
---|
प्रदेश | एक |
---|
अवस्थिति | पहाडी |
---|
नगरपालिका | ३ |
---|
सदरमुकाम | इलाम |
---|
क्षेत्रफल |
---|
• जम्मा | [,७०३ किमी२]] (६५८ वर्ग माइल) |
---|
उन्नतांश (अधिकतम) | ३६३६ मिटर (११,९२९ फिट) |
---|
जनसङ्ख्या (२०६८) |
---|
• जम्मा | २,९०,२५४ |
---|
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
---|
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
---|
क्षेत्रीय सङ्केत(हरू) | ०२७ |
---|
मुख्य भाषाहरू | लिम्बु, नेपाली |
---|
प्रमुख जातिहरू | बाहुन, क्षेत्री, लिम्बु, किराँत, राई, भोटे,पहरी, लेप्चा,थामी |
---|
No comments