Listen Nepali Songs

Know New

नेपालमा विमान अपहरणको इतिहास

 शाही नेपाल वायुसेवा निगमको विमान अपहरण

नेपालको वायुसेवाको इतिहासमा नेपाली विमानको अपहरणको एक मात्र घटना भेटिन्छ । यसर्थ नेपाली आकाश आतंकवादको दृष्टिकोणले सुरक्षित छ । २०५६ पौष ९ गते भारतीय वायुसेवाको विमान अपहरण भएको थियो । तर यो विमान काठमाडौबाट दिल्लीको उडानमा रहेको विमान भए पनि विदेशी आतंकवादीहरुबाट भारतीय आकाशमा प्रवेश गरेपछि मात्र अपहरण भएको थियो ।
२०३० जेठ २८ को बिहान ७ बजे शाही नेपाल वायुसेवा निगमको ट्वीन अटर विमान 9N-ABB काठमाडौ त्रिभुवन विमान स्थलबाट बिराटनगरको लागी उड्यो । पाइलट क्याप्टेन आरके मानन्धर को-क्याप्टेन श्रीदेव बैद्य र सहायक जीवी राईको टोली विमानमा थिए । बिहानको सवा ८ बजे बिराटनगर बिमानस्थलमा जहाज ओर्लियो । केही समय विमानमा यात्रुहरु झर्ने र चढ्ने क्रम भयो । विमानमा १९ जना यात्रुहरु काठमाडौका लागी चढेपछि तीन विमानका कर्मचारी सहित जहाज साढे ८ बजे काठमाडौको लागी उड्यो । विमानका १९ यात्रुहरु मध्य भारतीय चलचित्रकी नायिका माला सिन्हा पनि विमानमा काठमाडौ जाँदै थिँए ।
२०२५ कार्तिक २४ गते सुवर्ण शम्शेरको पहलमा सुन्दरीजल जेलबाट मुक्त भएका वीपी तथा गणेशमान सिंहलाई पंचायतलाई सहयोग गर्ने शर्तमा रिहा गरिएको थियो । तर जेलबाट मुक्त भएपछि भारता प्रवासमा लागेका वीपीले पंचायतलाई सहयोग गर्न नसक्ने जिकिर गरे । साथमा पंचायत विरुद्ध आन्दोलन गर्ने मनसाय बनाए । तर वीपीले सोचे जस्तो भएन नेपाली कांग्रेस आफ्नो पार्टीको बिभिन्न कार्यक्रमको लागी आर्थिक अभावमा गुज्रिन थाल्यो । पंचायत बिरुद्ध आन्दोलन गर्ने बीपीको निर्णयमा बिमति रहेका सुवर्णशमशेरले कांग्रेसलाई आर्थिक सहयोग बन्द गरिदिँदा कांग्रेस ठूलो आर्थिक संकटमा पुगेको थियो । भारतीय पासपोर्टको सहयोगले सुटुक्क यूरोपमा आर्थिक सहयोग जुटाउन पुगेका बीपी रित्तो हात फर्किदा अझ निराश भएको थियो । भारतले पूर्णरुपमा आर्थिक सहयोग गर्न नसक्ने जानकारी दिइसकेपछि बाध्य भएर डकैतीको बाटो अबलम्बन गर्न कांग्रेसका शिर्षस्थ नेताहरु नै तैयार भए ।
जेलमुक्त भएपछि भारतमा प्रवासमा रहेका वीपीले फारवेशगञ्जमा पार्टी कार्यालय खोले पनि समय समयमा मिटिङ गर्नुबाहेक ठूला योजना बनाउन असमर्थ भएको थियो । गिरिजा प्रसाद कोइराला पनि जेठको अन्तमा फारवेशगञ्ज पुगका थिए भने अन्य सदस्यहरु पनि फारवेशगञ्जमा नै थिए । पञ्चायत विरुद्ध संघर्ष गर्न पैसाको खाँचो थियो । तर पैसा कसरी ल्याउनेमा भने सोच्न सकेका थिएनन् । विमान अपहरण गरेर नेपाल सरकारसंग फिरौती लिन सकिने कुरामा पनि केही सल्लाह त हुन्थ्यो तर आँटिला कोही भेटिदैनथे । विमान अपहरण गर्नु त्यति सहज पनि थिएन । यहि बिच काठमाडौ जेलबाट भर्खरै छुटेका दुर्गा सुवेदी फारवेशगञ्ज पुगे । गिरिजा प्रसादसंगको भेटमा विमान अपहरण गरेर रकम जम्मा गर्न सकिने कुरा सुने । दुर्गा सुवेदीले जेलमा रिडर्स डाइजेस्ट पत्रिकामा जापानको भूमिगत रेड आर्मीका युवाहरुले विमान अपहरण गरेको घटना बारेमा पढेका थिए तसर्थ उनि जोशिए ।
एक दिन दुर्गाको भेट मदन अर्यालसंग भयो । मदन नेपाल राष्ट्र बैंकको बिराटनगर शाखामा कार्यरत थिए । उनिसंगको कुराकानीमा भारत अत्तरियाबाट नेपाल राष्ट्र बैंकले भारतीय रुपैया खरिद गर्ने र सो रकम बिराटनगरबाट विमानमा काठमाडौ लगिने जानकारी पाए । यसरी भारतबाट रुपैया आउने भए पछि अत्तरियाबाट काठमाडौबाट बिराटनगर विचमा लुट्न सकिने बारेमा पनि बिमर्श गरे । यता गिरिजालाई दिइएको जानकारी बिपी समक्ष पुग्यो । बिपीले ज्यानको जोखिम राखेर काम नगर्न सुझाए । तर खासै समस्या नहुने तर्कमा तैयारी तर्फ लागे । अत्तरियाबाट बिराटनगरमा सुरक्षा फौजको उपस्थितीले सम्भव नदेखे पछि बिराटनगरबाट काठमाडौ विमानमा लैजादा नै विमान अपहरण गरेर लुट्ने योजना बनाउन लागे ।
पार्टिबाट सहमति पाए पछि नगेन्द्र ढुङ्गेल बसन्त भट्टराई तथा दुर्गा सुवेदीले मिलेर योजना बनाउन लागे । यता राष्ट्र बैंकका कर्मचारी रहेका मदन अर्याल विमानमा रकम लैजाने सूचना दिन तैयार भए भने उनका दाजु बिनोद प्रसाद अर्याल जो भारतमा निर्वासनमा थिए उनले लुटिएको रकम दार्जिलिङ वा सिक्किमसम्म सुरक्षित लगिदिन तैयार रहेको जानकारी दिए ।
यसरी सम्पूर्ण तैयारी भए पछि तीन जनाको समुह बिराटनगरमा तैयार अवस्थामा बसे । रु १७५ भाडा रहेको टिकट उनिहरुले दुइ पटक सम्म क्यान्सिल गर्न बाध्य भए । रकम लग्न तैयार भएको सूचनाको आधारमा टिकट काट्थे र रकम नआए पछि टिकट क्यान्सिल गर्थे । अन्तत २०३० को जेठ २८ गते ३० लाख भारु बिराटनगरबाट काठमाडौ लैजाने तैयार बारेमा सहि सूचना पाए । पक्का थिएन रकमको बाकस आउने होकि होइन । तसर्थ रिक्सामा तीनजना विमानस्थल तर्फ लागे । नगेन्द्र र बसन्तलाई बर्गाछीको राइसमिलमा छोडेर दुर्गा एक्लै साढे ८ बजे बिराटनगर विमानस्थल पुगे । विमानस्थलमा सैनिक सुरक्षाको साथ रकम विमानस्थल आइपुगेको देखे पछि दुबैलाइ बोलाए ।
विमानस्थलमा तीन जना दुर्गा सुवेदी नगेन्द्र ढुड्गेल तथा बसन्त भट्टराइ पुगे तर दुर्भाग्य दुइवटा टिकट मात्र पाए । यता नेपाल राष्ट्र बैंकका मेनेजर दिलिपजङ्ग थापा अचानक काठमाडौ पुग्नुपर्ने भए पछि सुरक्षाको लागी खटिएका जवानको टिकटमा नै काठमाडौ उड्न बाध्य भए । विमानमा रकम रहेको बाकस चढाइसकेको तथा काठमाडौमा पनि सुरक्षा फौजको उपस्थिती विमानस्थलमा हुने तथा मेनेजर आफै पनि विमानमा जाने हुँदा सुरक्षित रहने जानकारी दिदै सैनिकको टिकटमा काठमाडौ जाने तैयारी गरे । यता अपहरणको लागी तैयार रहेका तीन जनामा एक जनाको लागी टिकटको आबश्यकता रह्यो । विमानमा काठमाडौ जान प्रतिक्षामा रहेकाहरुमा नेपाली चलचित्रका नायक सिपी लोहनी तथा उनको पत्नी भारतीय नायिका माला सिन्हा पनि थिए । दुर्गा सुवेदीले सिपी लोहनीलाई आफू बिमार रहेको तथा आजै उपचारको लागी काठमाडौ जसरी पनि पुग्नु पर्ने भन्दै उनको टिकट फुत्काए ।
विमान भित्र पसेपछि कालो ओभरकोट र हातमा एक्स रेको कागज बोकेका दुर्गा सुवेदी र बसन्त भट्टराई पाइलट नजिकैको सिटमा बसे । नगेन्द्र ढ्ङ्गेल भने केही पछाडी बसे । जहाज उडेको पाँच मिनेटमा विमानका कोपाइलट बैद्यले बिराटनगर विमानस्थल टावरको सम्पर्क अफ गरेर काठमाडौ विमानस्थलको टावरसंगको सम्पर्कको लागी तैयारी गर्दै थिए । अचानक बसन्त भट्टराईले पिस्तोल निकालेर पाइलट आरके मानन्धर तर्फ सोझ्याए । यता दुर्गा सुवेदी हडबडाउदै थिए यस्तैमा विमानका परिचारकले दुर्गा सुवेदीलाई समाउन खोजे । बसन्तले साथ .३२ क्यालिवर पेस्तोल त्यो पनि बिना लाइसेन्सको बोकेका थिए उनले पेस्तोल देखाउदै परिचारक जिवी राईलाई नियन्त्रणमा लिदै कोपाइलट श्रीदेव बैद्यलाई धम्काउन पुगे । यसरी शान्तसंग विमान नियन्त्रणमा लिन सफल भएका अपहरणकारीहरुले विमान भारतको फारवीसगञ्ज तर्फ लैजान निर्देशन दिए । पाइलट आरके मानन्धरले विमान कोशी ब्यारेज भन्दा अगाडी पुगिसकेको हुँदा फारवीसगञ्ज लैजान नसकिने हुँदा बिहारकै विरपुर तर्फ लग्न सकिने जानकारी दिए । फर्कदा तेल कम हुने हुँदा कठिनाइ हुन सक्छ भने । हडबडाएका सुवेदीले शुरुमा विमान तिब्बत लैजान भनेका तर पाइलटले तेलको कमिले तिब्बत जान नसक्ने भनेका थिए भनिन्छ । यसरी हेर्दा योजनामा सरिक रहेका दुर्गा सुवेदीले अपहरणको समय डराएको प्रतित हुन्छ तर उनले आफ्नो पुस्तकमा भने अपहरणको सम्पूर्ण ग्राण्ड डिजाइनिङ नै आफैले गरेको झै वर्णन गरेका छन् ।
फारवीसगञ्जको घाँसे मैदान दोश्रो विश्व युद्धको समय बेलायती सैनिक जहाजहरु अवतरण गर्न विमानस्थलको रुपमा बनाइएको थियो । नजिकै रहेको ठूलो सिमलको रुख टावरको रुपमा सिग्नल दिन सहज थियो । त्यहि विमानस्थलमा बिनोद प्रसाद अर्याल, शुशिल कोइराला, मनहरी बराल, राजेन्द्र दाहाल तथा बिरु लामा (तामाङ) प्रतिक्षामा बसिरहेका थिए ।
घाँसे मैदान तर्फ टाढाबाट विमान आँउदै गरेको देखेपछि बिनोद अर्यालले आफ्नो रातो शर्ट खोलेर बेस्सरी हल्लाउँदै संकेत गरे । यता जहाज भित्र रहेका अपहरणकारीहरु विमान फर्काएर फारवीसगञ्ज तर्फ सोझिए पछि खुशी भए । सुल्तान पोखरी देखिए पछि ढुक्क भए । विमानले अवतरणको प्रयास गर्यो तर सफल भएन । फेरी आकाशमा चक्कर लगायो । विमानका यात्रुहरु त्रसित थिए । अपहरणकारी पनि के हुने हो भन्नेमा चिन्तित थिए । घाँसे मैदानमा प्रतिक्षारतहरु पनि विमान फेरी आकाशमा हराउँदा अन्योलमा रह्यो । तर दुइ मिनेट नहुदै विमानले अवतरणको दोश्रो प्रयास गर्यो । सफल अवतरणको साथै घाँसे मैदानमा बसेकाहरु तैयार अवस्थामा बसे । विमान रोकिना साथ नगदले भरिएको तीनवटा बाकस निकालेर विमानलाई फर्कन लगाए । पाइलटले विमानलाई बिराटनगर तर्फ सोझ्याए ।
गिरिजा प्रसादको जीप लिएर गणेश शर्मा आइपुगे । उनको साथ अन्य एक जीप पनि ल्याइएको थियो । छिटो छिटो दुइवटा जीपमा तीनवटा बाकस राखेर जीप दार्जिलिङ तर्फ हुइकियो । यसरी तीस लाख भारु नेपाली कांग्रेसका योद्धाहरुले लुट्न सफल भयो । हुन त यसलाई पछि पुरुषार्थको रुपमा प्रस्तुत गरे । तर कुनै पनि अपराध जस्तो सुकै राम्रो कामको लागी भए पनि त्यो अपराध नै हुन्छ । Terroristic Activity: International Terrorism पुस्तकको २२६ पेजमा यस अपहरणलाई आतंकवादको रुपमा उल्लेख गरिएको छ ।
दुर्गा सुवेदीले आफ्नो पुस्तकमा झुठा कुरा धेरै लेखेको भन्ने साथका दुइ अपहरणकारीका भनाइमा पनि देखिन्छ । विमानका अन्य यात्रुहरुको भनाइ कहिल्यै सामु नआएको हुँदा कसको भनाइ सत्य भन्ने अस्पष्ट नै छ । साथै शुसिल कोइराला प्रधानमन्त्री बनेको समाचार विश्वभरका छापामा छापिँदा प्राय छापाले विमान अपहरणका नायक नै नेपालको प्रधानमन्त्री बने भनेर लेखे ।
अपहरणमा परेको ट्वीनअटर 9N-ABB विमान ३०० सिरिजको विमान थियो । शाही नेपाल वायुसेवा निगमले खरिद गरेको यो विमान २०२८ असार ३ गते हस्तान्तरण भएको थियो । विमान अपहरण पछि पनि नियमित उडानमा रहेको यो विमान २०४९ असार २१ मा जुम्ला विमानस्थलमा सामान्य दुर्घटना भएको थियो । मर्मत पछि सुचारु रहेको यो विमान अन्तत २०७० फागुन ४ गते काठमाडौबाट जुम्लाको उडानको क्रममा पोखरा विमानस्थलमा रोकिइ उड्ने क्रममा सम्पर्क विहिन रहेको यो विमान अन्तत अर्घाखाँची जिल्लाको मसिने लेकमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा चालक दल सहित १८ जनाको निधन भएको थियो ।
दुर्घटना पछि टुक्रिएको विमानको सामग्री जम्मा गरेर फेरी यसलाई जोडेर वीपी संग्रहालय सुन्दरीजलमा राखिएको छ ।
तस्बिर विमान अपहरण भन्दा केही दिन अगाडि लुक्ला विमानस्थलमा 9N-AAB.


No comments