Listen Nepali Songs

Know New

मुस्लिम र बकर ईद

इस्लामी क्यालेण्डर अनुसार हिजरी को अन्तिम महिना जिलहिजा १० तारिखका दिन बकर ईद मनाइन्छ । कुरान अनुसार यस पर्वमा स्वस्थ्य चौपायाको कुर्वानी दिएर मनाउने प्रचलन छ ।
इतिहास
इस्लामिक धार्मिक ग्रन्थ कुरानमा उल्लेख भए अनुसार पैगम्बर हजरत इब्राहिमलाई एक रात सपनामा अल्लाह प्रकट भई आफ्नो सबै भन्दा प्यारो एक चिजलाई अल्लाहको नाममा बलिदान गर्ने आदेश दिनुभयो । सपनामा भएको अल्लाहको आदेश अनुसार हजरतबाट आफ्नो सबभन्दा प्यारो चिज आफ्नो छोरो इस्माइल अलैयाहिस्सलामलाई बलि दिन पर्ने भयो । छोरोलाई यस बारे केही पनि थाहा नदिई बलि दिनका लागि गाउँ बाहिर लैजाने क्रममा कुनै अदृश्य आवाजले छोरो इस्माइललाई "तिम्रो बुबाले तिमीलाई अल्लाहको नाममा बलि दिन लैजादैछ" भन्ने जानकारी दिए । त्यसपछि छोराले "अल्लाहको नाममा बलि चढ्नुभन्दा राम्रो काम दुनियाँमा केही पनि छैन, अल्लाहको नाममा मलाई बलि दिने निर्णय गरेर तपाईले ठीक गर्नुभयो" भन्दै बुबा हजरत समक्ष ब्यक्त गर्दै "मलाई बलि दिने क्रममा तपाईको हात नकामोस्, त्यसका लागि तपाईले त्यसबेला आँखामा पट्टी बाँध्नुहोला" भन्ने कुरा पनि गरे ।
कुरान अनुसार हजरतले छोराको घाँटी माथि जुन बेला चक्कु चलाए, त्यसबेला मानिसको सट्टा बाख्राको आवाज सुनियो भने छोरा इस्माइल केही पर सकुशल मुस्काउँदै खडा थिए । सोही दिनको सम्झनामा विश्वभरिका इस्लाम धर्मावलम्बीहरूले बकर इद मनाउने गरेको देखिन्छ ।

महत्व 
बोकाको बलि दिई मनाइने यो पर्वमा बलि दिएपछि जन्नत अर्थात स्वर्गको बाटो खुल्छ भन्ने विश्वास छ ।

नेपालमा मुस्लिमको इतिहास 
श्री ३ वीरशमशेरबाट देशमा धार्मिक सहिष्णुता कायम गर्न जमल स्थित आफ्नो सेतो दरवारको मुल ढोका अगाडी नै यो मस्जिद निर्माण आज्ञा प्रदान गरी निर्माण गराएका थिए ।
सन ७८२-७८३ तिर लेखिएको अरबी पुस्तक 'हुउद अल आलम'मा नेपालबाट अरब देशमा कस्तूरी जान्थ्यो भन्ने कुरा उल्लेख भएको देखिनुले सातौँ शताब्दी तिर लिच्छविकालिन समयदेखी नै नेपालसँग मुसलमानहरूको सम्पर्क स्थापना भएको देखिन्छ ।
नेपालमा मुस्लिमहरू सर्वप्रथम सन् १३२४ नोभेम्बर तदनुसार बि.सं. १३८१ सालमा प्रवेश गरेको ऐतिहासिक प्रमाण छ । गयासुद्दिन तुगलक बङ्गालबाट दिल्ली फर्कदा तिरहुतबाट फर्केका थिए । त्यतिबेला नेपालको तराई प्रदेशमा सिम्रौनगढ स्वतन्त्र राज्य थियो । गयासुद्दिन तुगलकले सिम्रौनगढमाथि आक्रमण गरेका थिए । उक्त आक्रमणको ठीक २५ वर्षपछि सन् १४४९ तदनुसार बि.सं. १४०६ मा बङ्गालका सुल्तान शमसुद्दीन तुग्लकले नेपालमाथि आक्रमण गरेको देखिन्छ ।
मल्लकालिन राजा रत्न मल्ल (सन १४८४-१५२०)को समय देखी अर्थात सन् १४९१ देखि १५०१ तदनुसार बि.सं. १५४८ देखि १५५८ भित्र भने नेपालमा मुसलमान समुदायको स्थायी रूपमा बसोबास भएको देखिन्छ। ल्हासा स्थित राजा रत्न मल्लका दूतको सम्पर्क पछि नेपाल आएका ति कश्मीरका मुसलमानहरूलाई मुन्सीखानाको व्यवस्था गरी राखिएको थियो, जसबात दिल्लीका सुल्तानसँग पत्राचार गरिने गरिन्थ्यो । राजा रत्न मल्लका पालामा प्रवेश भएका मुसलमानहरू राजा भाष्कर मल्लका राज्यकाल (सन १७००-१७२२)मा आउँदा दरबारमा काजी पदमा सम्म पुगेको तथ्य देखिएको छ ।
पृथ्वीनारायण शाहले बि. सं. १७९९ सालपछि नेपाल एकीकरणको कार्य सुरु गर्दा पनि मुसलमानहरूको ठूलो सहयोग पाएका थिए । गोरखामा हातहतियार बनाउने कार्यमा शेख बज्जर, मुहम्मद बाँकीको ठूलो भूमिका रहेको थियो । पृथ्वीनारायण शाहले उपत्यका वरिपरि आर्थिक नाकाबन्दी सञ्चालन गर्दा तिब्बतसँग काश्मिरी मुसलमानहरूले सञ्चालन गरिरहेको व्यापार बन्द हुन गयो ।यसबाट काश्मिरी मुसलमानहरू नरिसाऊन् भन्नाका खातिर सन् १७६५ तदनुसार बि. सं. १८२२ मा पृथ्वीनारायण शाहले एक मोजाम्जी भन्ने काश्मिरी मुसलमान व्यापारीलाई चिठ्ठी लेखी काठमाडौं उपत्यकामाथि विजय गरेपछि उनीहरूलाई घरजमिन दिई पुनः व्यापार सञ्चालन गर्न दिने वचन दिएका थिएका थिए, जुन वचन सन् १७७९ तदनुसार बि.सं.१८३६ मा पूरा पनि गरेका थिए ।
राणाकालिन समयमा आईपुग्दा श्री ३ जङ्गबहादुरको समयमा सुरक्षा र शरण प्राप्त गर्ने उद्देश्यले सन् १८५७ तदनुसार बि.सं. १९१४ मा मुसलमानहरूको एउटा ठूलो समूह नेपाल प्रवेश गरेको देखिन्छ । तात्कालिन समय नेपाली जामे मस्जिद रहेको ठाउँ नजिकै शियाहरु ताजिया राख्ने गर्दथे । मुगल सम्राट बहादुर शाह जफरका इमाम मौलाना सरफराज अलि शाहले नेपाली जामे मस्जिद स्थापना गरेका थिए । हजरत महलको समाधिस्थल हालसम्म पनि नेपाली जामे मस्जिदको दक्षिणपट्टि सुरक्षित रहेको छ ।
सो समय उपत्यकामा प्रवेश गरेका मुसलमानहरूलाई बसोबास गर्न बटुकटोल र भोटेबहाल नजिकै पर्ने 'खि गल' भन्ने स्थान पनि उपलब्ध गराइएको थियो । यसका साथै हाल काठमाडौंमा रहेका काश्मिरी मस्जिद र नेपाली जामे मस्जिद वरिपरिको भूभाग, बिजुली अफिस, त्रिचन्द्र क्याम्पस र पहिले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय रहेको जमलको जमिन पनि मुसलमानहरूकै थियो । घण्टाघर र त्रि–चन्द्र कलेज भएको स्थान मुस्लिमहरुको समाधिस्थल थियो । वीरशमशेर जबराको समयमा जमलको जमिन लिई बटुकको ठूलो जमिन दिइयो भने चन्द्रशमशेर जबराले त्रि–चन्द्र कलेज स्थापना गर्न उक्त जमिन लिई स्वयम्भूमा रहेको समाधिस्थल मुसलमानहरुलाई दिएका थिए ।
मुस्लिमहरुको जनसङ्ख्या केन्द्रीय तथ्याङ्क विभागमा रहेको २०६८ को तथ्याङ्कअनुसार नेपालको ७५मध्ये ७३ जिल्लाहरुमा उपस्थिति रहेको पाइन्छ । यो तथ्याङ्कअनुसार मात्र दुई जिल्ला मनाङ र मुस्ताङमा बसोबास भएको देखिदैन । तर केन्द्रीय तथ्याङ्क विभागको २०५८ सालको जनगणामा मुस्लिम समुदायको बसोबास नेपालको ७५वटै जिल्लामा देखाएको थियो ।


No comments