Poem: एउटा कालजयी धुन - संगीत स्रोता
एउटा कालजयी धुन
संगीतस्रोता
होइन ऊ पण्डित भीमसेन जोशीले गाउने
शास्त्रीय सङ्गीतको राग बागेश्री
सितारमा– ‘नि सा ग म ध नि सा’
ऊ हो अगने कामी
जो युगौंदेखि बजिरहेछ
खोला, पहरा र ढुङ्गा खानीहरूमा
घन र छिनाहरूको अविराम सुर तालहरूमा
होइन ऊ सरकारी रेडियोले दोहोर्याइरहने
स्वेदश गानको बोल–
‘म मरे पनि मलाई मेरो देशको माया छ !’
ऊ त हरदिन घन्किरहेछ
खेतका फाँटहरू र बारीका बिरौटाहरूमा
हलो, गोरु र बाउसोको मधुर लयहरूमा
होइन ऊ लोकसङ्गीतको कुनै ‘लोकप्रिय’ भाका
सँगिनी, बालन, देउडा वा सालैज्यो
ऊ त निरन्तर ध्वनित भइरहेछ
आरनको आगो र खलाँतीका सुस्केराहरूमा
आँसी र बन्चराका धारिला झङ्कारहरूमा
बस्तीभरि गुञ्जायमान छ अगने कामीको सरगम
घरका जगहरूदेखि स्कुलका छानाहरूसम्म
बार्दलीका झ्याल–ढोकादेखि मझेरीका ठेका–भाँडाहरूसम्म
पर्खालदेखि पोखरीसम्म
बाटो–घाटोदेखि चोक–चौतारीसम्म
हो, यही त हो एउटा कालजयी धुन
अर्थात् अगने कामी १
सुन्दैनन् उनीहरु यो सुर
जो अगने कामीकै काँधमा चढेर गीता पाठ गरिरहेका छन्
गाउँदैनन् उनीहरू यो गीत
जो बहुराष्ट्रिय बियरको टबमा स्नान गरिरहेका छन्
बजाउँदैनन् उनीहरू यो सङ्गीत
जो कर्पोरेट मेम साहेबको काखमा रोयल्टी चुसेर निदाइरहेका छन्
रमाउँदैनन् उनीहरू यो तालमा
जो बलिदानलाई एटिएम कार्डमा रूपान्तरण गर्न खोजिरहेका छन्
हो, स्वीकार्दैनन् उनीहरू कोही पनि
अगने कामीलाई यो देशको राष्ट्रिय सङ्गीत
यहाँ त राष्ट्रप्रमुख लगाइरहेछन् लालमोहर आफ्नै निधारमा
प्रधानमन्त्री छपाइरहेछन् राजपत्रमा तीनथरी मोबाइलका नक्कली नम्बर
गृहमन्त्री हातपात गरिरहेछन् आफ्नै कानुनमाथि बारम्बार
राष्ट्रिय राजनीतिको यो रङ्गीन महोत्सवमा
नाचिरहेका छन् विद्रोही नेता पनि फिल्मी शैलीमा
तर, अगने कामीको परिचय
अहिले पनि झेलिरहेको छ अपमानको अँध्यारो
ढुङ्गाजस्तो यो देशको राज्यसत्ता
सुन्दैन अहिले पनि अगने कामीको सुसेली
No comments