Listen Nepali Songs

Know New

सांस्कृतिक विविधता (Cultural Diversity)

 सांस्कृतिक विविधता (Cultural Diversity)

१. अर्थ
विविध भाषा, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, स्वीकारोक्ति, मान्यता एवम् सम्मानको अवस्था हो सांस्कृतिक विविधता ।
बहुजातीय, बहुभाषिक एवम् लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । विभिन्न भाषा बोल्ने र मातृभाषा भएको जातीय समुदाय, भाषिक समुदाय हुन्छ । जातीय परम्पराहरू अलग —अलग हुन सक्छन्, रीतिरिवाज, लवाई खवाईमा विविधता रहन्छ । विभिन्न धर्म र धार्मिक क्रियाकलापमा आबद्ध हुन्छ समाज । यी सबै पक्षहरूको पहिचान एवम् सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना नै सांस्कृतिक विविधता हो ।
नेपालको संविधानको धारा ३ मा नेपाल बहु सांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको कुरा उल्लेख छ । अर्थात् नेपालको संविधानले नै बहुसांस्कृतिक पक्षलाई अवलम्बन गरेको देखिन्छ ।
२. सांस्कृतिक विविधताको अवस्था
(क) विविध धर्म, विविध संस्कृति : नेपाल धर्म निरपेक्ष राज्य भएकोले सबै धर्मको समान महत्व छ । धार्मिक रूपमा कुनै विभेद वा विभाजन पनि छैन । धर्म अनुसारको सांस्कृतिक विविधता पनि देख्न सकिन्छ । जस्तो हिन्दूहरू दशैं, तिहार, छठ, तिज, शिवरात्री, माघेसंक्रान्ति, जनै पूर्णिमा जस्ता विभिन्न चाडपर्व मनाउँदछन् । मुस्मिल धर्म मान्ने मानिसहरू इद, वकर इद मनाउँछन् भने क्रिश्चियन धर्म मान्नेहरू क्रिसमस पर्व मनाउँछन् । बुद्ध धर्म मान्ने मानिसहरू बुद्ध पूर्णिमा, भगवान् बुद्धको पूजाआजा गरी मनाउँछन् ।
(ख) विविध जाति/विविध संस्कृति : ब्राह्मण, क्षेत्रीको मातृभाषा खस नेपाली हो । उनीहरू जनै लगाउँछन्, जनैपूर्णिमा मनाउँछन् । ब्राह्मण क्षेत्री महिलाहरू तिज, श्रीपञ्चमीमा कठोर व्रत बसी मनाउँछन् । दाल, भात, ढिडो, रोटी उनीहरूका प्रमुख खाना हुन् । विवाह, व्रतबन्धका संस्कारहरू परम्परागत आर्य हिन्दू समाजका संस्कारमा आधारित छन् ।
नेवार समुदाय दशैं तिहारका अलावा क्वाँटी पूर्णिमा, गठेमंगल विभिन्न जात्राहरू धुमधाम साथ मनाउँछन् । द्यौ, बजी, बारा, चटामरी, छोइला उनीहरूका प्रिय खाना हुन् । नेवार समुदायको आफ्नै परम्पराको भेषभुषा नेवारी भाषा मातृभाषाको रूपमा रहेको छ ।
थारु समुदाय माघी पर्व मनाउँछन् उनीहरूको आफ्नै थारु भाषा मातृ भाषाको रूपमा रहेको छ भने परम्परागत पोशाक समेत छन् । हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने गुरुङ, थकाली, मगर, शेर्पा आदि जाति नव वर्षारम्भ (उनीहरूकै क्यालेण्डर अनुसार) सँगै ल्होसार पर्व मनाउँछन् । राई जातिले उभौली उद्यौली पर्व धुमधामसाथ मनाउने गर्दछन् । तामाङ जातिको पनि आफ्नै ल्होसार पर्व रहेको छ । यी जनजातिहरूको आ—आफ्नो भाषा, परम्परागत पोशाक रहेका छन् । अन्य अल्पसंख्यक जाति, आदिवासीहरूको समेत परम्परागत भाषा, भेष, रहनसहन, खानाको परिकार रहँदै आएको देखिन्छ ।
(ग) विविध भूगोल, विविध संस्कृति : नेपालमा भौगोलिक विविधतामा आधारित सांस्कृतिक विविधता पनि रहेको छ । हिमाली भेगमा बढी जाडो हुने हुँदा त्यहाँका मानिसहरू बाक्लो कपडा लगाउने, तातो र जडिबुटीयुक्त खाना खाने, मासुको प्रयोग बढी गर्ने गर्दछन् । पहाडी क्षेत्रका बासिन्दा दौरा सुरुवाल कमीज, सर्ट, पाइन्ट, साडी, चोलो लगाउँछन् । दालभात, तरकारी बढी रुचाउँछन् । मधेश क्षेत्रमा पातलो कपडा —धोती, लुँगी, गन्जी, साडी, चोलो, घाघर लगाउँछन् । रोटी, दाल, साग, सब्जी, दही, माछा बढी रुचाउँछन् ।
उल्लिखित अवस्थालाई दृष्टिगत गर्दा धार्मिक आधारमा जातीय आधारमा, भौगोलिक आधारमा समेत सांस्कृतिक विविधता रहेको देखिन्छ ।



No comments