Listen Nepali Songs

Know New

के पढ्ने ? कसरी पढ्ने ?

अचेल पढ्नै मन लाग्दैन । एकदुई पन्ना पढ्यो, ध्यान अन्त अन्त नै जान्छ । के गर्ने होला ?

  • पढ्न मन नलाग्नु भनेकोः अरू कुरामा ध्यान जानु हो । एकदुई पन्ना पढ्यो कि निद लाग्छ, कि त तिनै पन्नामध्येको कुनै शब्दले अर्को कुनै स्मृतिमा गाँस्छ । स्मृतिमा हराउँदा हराउँदै, के पढेँ भनेर थाहै हुन्न । फेरि दोहोर्‍याउनु पर्ने हुन्छ । दोहोर्‍याएर पनि स्थिति उहीँ हो । अब बुझ्नुस्— तपाईंको ध्यान अन्तै अरू केही कुरामा छ ।
  • कि तपाईं आफ्नो मनस्थितिबाहिरको किताबमा हुनुहुन्छ । किताब बेकार होइन, तर तपाईं त्यो किताब पढ्ने मुडमा हुनुहुन्न । म चाहिँ यस्तो बेला घरमा भएका धेरै किताब पढ्ने कोसिस गर्छु । अलिअलि, तानेन भने अर्को पढ्छु, अर्को, अर्को ...। कुनै न कुनैले अन्तिमसम्म पुर्‍याउँछ ।
  • भएभरका किताब पढ्दा पनि तानेन भने कुनै एक किताब वाचनै गरेर पढ्छु भन्ने प्रतिज्ञा गर्छु र किताब सस्वर पूरा पढ्ने कोसिस गर्छु । सस्वरमा पढेको किताब पूरा गर्दासम्म अर्को किताब पढ्ने मुड र जाँगर तयार भइसकेको हुन्छ ।
  • किताब पठनलाई जीवन शैलीसित जोड्नुस् । हरेक दिनको कुनै समय किताब पठनलाई छुट्याउनुस् । त्यो समयमा पढ्ने कोसिस गर्नुस् । मुड नचले पनि यति पेज त पढ्छु भन्ने प्रतिज्ञा गर्नुस् । बिस्तारै तपाईंलाई किताबको बानी पर्छ । सर्र सर्र पन्ना पल्टने आवाजको बानी पर्छ !
  • सधैँ महान् व्यक्तिले सिफारिस गरेका मात्रै किताब पढ्छु भन्ने धारणा नबनाउनुस् । त्यसैले आफैंले पनि पुस्तकको खोजी गर्नुस् । पुस्तक छान्ने मेरो तरिका छ— पसलमा जाने, हरेक किताब बीचबाट पल्टाउने । कुनै न कुनै अध्याय तपाईंको रुचिको अवश्य फेला पर्नेछ । बीचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताब पढ्ने वातावरण बन्नु हो ।
  • सधैँ महान् र प्रख्यात किताब पढ्छु भन्ने धारणा त्याग्नुस् । यो धर्तीका महान् लेखक मध्येका एक मार्खेज गृहलक्ष्मी टाइपका पत्रिका पनि पढ्थे । पछिल्लो समयका नेपाली साहित्यका मूर्धन्य भनिने धेरै साहित्यकार प्रकाश कोविद र युधीर थापा पढेर आएका हुन् । काम सानो हुँदैन भने जस्तो पुस्तक पनि सानो हुँदैन । जुन किताबमा तपाईंको मन बस्यो, त्यही अमूल्य पुस्तक हो ।
  • पुस्तकको मोटोपन र पातलोपनतिर पनि नजानुस् । स्वादको छ कि छैन एकपल्ट पन्ना उघारेर पढ्ने कोसिस गर्नुस् । आफ्नो स्वादको पुस्तक कहिल्यै पनि मोटो लाग्दैन । र, पातलो पुस्तक सबैको प्रिय पनि हुँदैन ।
  • भविष्यमा लेखक हुन्छु भनेर मात्र पुस्तक पढेर हुँदैन । हरेक क्षेत्रकाले पढ्नुपर्छ ! अहिले त संसार इन्टरनेटले एक डल्लो भइसक्यो । तपाईं जुन क्षेत्रमा भए पनि पुस्तक पढ्ने गर्नुस् । नेपाली हुनुहुन्छ सकेसम्म नेपाली पढ्ने कोसिस गर्नुस् । किनभने, तपाईं नेपालको सीमा काटेर नेपाली परिचय बोकेर अर्को सीमाभित्र पस्नुभयो भने तपाईंलाई अमेरिका, पाकिस्तान वा इजिप्टमाथि कसैले सोध्दैन, सोध्छ त नेपालमाथि । मलाई लाग्छ— नेपाल चिनाउने पुस्तक नेपाली भाषामा धेरै छन् ।
ह्याप्पी रिडिङ
बुद्धि सागरबाट


No comments